कांग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन : माओवादी केन्द्र (भिडिओ)

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सत्ता समिकरणको सम्बन्धमा नेपाली काँग्रेस र नेकपा(एमाले)ले गरेको सहमती अपारदर्शी भएको बताएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सापकोटाले नेपाली काँग्रेस र नेकपा(एमाले)का बीचमा भएको भनिएको सत्ता समिकरणको सहमती अपारदर्शी भएको बताए ।

उनले दुई दलका बीचमा भएको सहमती आधिकारिक रुपमा बाहिर नआएको भन्दै अपारदर्शी सम्झौता रहेको बताए । उनले संसदीय अभ्यासमा ठूलो दलले सरकार बनाउने र दोस्रो ठूलो दल प्रतिपक्षमा बस्ने परम्परा रहेपनि सहमतीमा दोस्रो ठूलो दलको नेतृत्वमा सरकार बनाउने सुनिएको भन्दै यसरी स्थिरता दिन नसकिने बताए ।

उनले नेकपा(एमाले)ले नैतिकता नदेखाएको पनि बताए । उनले दुई दलका बिचमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमती हुनुले सरकार स्थिर हुन नसक्ने बताए ।

‘अहिले उहाँहरुले जे भन्नुभएको छ, यसका पछाडी स्थिरता दिने कुराको कुनैपनि गुञ्जायस देखिँदैन । सबभन्दा पहिले त उहाँहरुले यति अपारदर्शी प्रकारको सहमती गर्नुभएको भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने,‘उहाँहरुले मध्यरातमा, अमुकमा व्यक्तिको घरमा गर्नुभएको सम्झौताभित्र के छ हामीले हेर्न पाएका छैनौँ । यतिका दिनसम्म त्यसलाई गुपचुप राख्नुपर्ने कुरा उहाँहरुलाई के भयले काम गरिरहेको छ । सबभन्दा पहिला अपारदर्शीता, अनैतिकता त्यहाँबाट सुरु भएको छ ।’

सांसद सापकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणको फाइल खोलेर बेचन झा पक्राउ गर्नासाथ सरकार परिवर्तनको खेल शुरु भएको बताए ।

उनले नेकपा(एमाले)प्रति लक्षित गर्दै गिरिबन्धु टि स्टेटको कालो धब्बाले छोपिएर आफूहरुलाई नैतिकताको पाठ नसिकाउन चेतावनी दिए ।

‘बेचन झाको गिरफ्तारी र त्यसबाट प्राप्त भएका तथ्य प्रमाणहरु बिस्तारै सार्वजनिक हुँदै गए । बेचन झाका प्रमाणहरु आएपछि तपाईहरु बेचैन हुँदै डुंगा प्वाल परेको देख्नुभयो । डुंगा प्वाल पर्ने बित्तिकै मुसा भाग्छ । बहादुरहरुले त सामना गर्छन्,’ उनले भने, ‘साहसीहरुले सामना गर्ने हो । तपाईहरु अहिले हामीलाई नैतिकताको पाठ सिकाएर गिरिबन्धुको कालो धब्बाले धपक्कै छोपिएर, बेचन झाले बेचैन बनेकाहरुले हामीलाई नैतिकताको पाठ सिकाउने । तपाईहरु पहिले गिरिबन्धु टि स्टेटको कालो धब्बा कसरी पखाल्ने ? बेचन झाबाट बेचैन भएको चैन पहिले फर्काउनुस् न । त्यसपछि हामी कुरा गरौँला ।’

सांसद सापकोटाले प्रधानन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने र विश्वासको मत लिने बताए । उनले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेमा संविधान अनुसार संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री चयनको प्रक्रिया अगाडी बढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *