‘कांग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु प्रकरणबाट चोखिनका लागि हो ?’

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भूटानी शरणार्थी र गिरिबन्धु टि स्टेट प्रकरण ढाकछोप गर्नका लागि काँग्रेस–एमालेबीच सहकार्य भएको भए मान्य नहुने चेतावनी दिएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले त्यस्ता काण्डहरुबाट आफूलाई चोख्याउन काँग्रेस एमालेले नयाँ सत्ता समिकरण बनाएको हो भने त्यो नेपाली जनतालाई मान्य नहुने बताएका हुन् ।

‘यदि भ्रष्टाचारलाई छामछुम पार्नका लागि, भूटानी शरणार्थीको काण्डमा र गिरिबन्धु टी स्टेटको काण्डमा दुई वटा ठूला पार्टीको सम्झौता हो भने यो नेपाली जनतालाई मान्य हुन्न,’उनले भने,‘त्यसकारण यहाँ कसैले पनि रोष्टमबाट आफ्नो सफाई दिएपनि नेपाली जनताले भोगी राखेका छन, देखिराखेका छन् । त्यसकारणले को चोखो छ ? भ्रष्टाचारबाट कुन पार्टी मुक्त छ ?’

अध्यक्ष केसीले नयाँ पुराना सबै दलहरु भ्रष्ट छन् भन्नेकुरा नेपाली जनतालाई थाहा भएकाले विगतमा भएका गल्ती सच्याएर अघि बढ्न अब बन्ने सरकारलाई सुझाव दिए ।

उनले एमालेले सरकारको नेतृत्व गर्ने भन्नेकुराप्रति पनि असन्तुष्टि व्यक्त गरे । संसदको ठूलो दल काँग्रेसले सरकारको नेतृत्व लिनुपर्ने उनको भनाई थियो ।

‘नेपाली जनताले देखेका छन । जानेका छन् । बुझेका छन् । आफ्नो भ्रष्टाचारालाई लुकाउन, जोगाउनका लागि यो खेल भएको हो भने यो राम्रो कुरा होइन,’उनले भने,‘मैले एक वर्ष पहिले नै भनेको थिए–तपाईहरु संसदीय व्यवस्था मान्नु हुन्छ, सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्नुपर्दैन थ्यो ? किन यसबेला आएर बल्ल निन्द्रा खुल्यो ।’

अध्यक्ष केसीले नेपाली जनताले राजनीतिक पार्टीहरुप्रति घृणा गरिरहेको उल्लेख गर्दै त्यसलाई चिर्ने गरी अव बन्ने सरकारले काम गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *