प्रा.डा. तीर्थराज खानियाका उच्च शिक्षा सम्बन्धी दुई पुस्तक विमोचन

काठमाडौँ । प्रा.डा. तीर्थराज खानियाका दुई पुस्तक विमोचन भएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमबीच खानियाद्वारा लिखित पुस्तक लोकार्पण गरिएको हो । खानियाद्वारा लिखित ‘सिफ्टिङ पाराडिजम इन हाइयर एजुकेशनः ब्यालेन्सिङ ह्युमानिजम,साइन्टिजम एण्ड एकेडेमिक क्यापिटलिजम’ र ‘नेभिगेटिङ हाइयर एजुकेसन इन नेपालःहिस्टोरिकल प्रस्पेक्टिभ एण्ड फ्युचर डिरेक्शन’ नामक पुस्तकहरू काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माले विमोचन गरेका हुन् ।

दुवै कृति उच्च शिक्षा सम्बन्धी रहेका छन् । पहिलो कृतिमा विश्वको उच्चस्तरीय शिक्षा सम्बन्धी छ भने दोस्रो कृति नेपालको उच्च शिक्षासम्बन्धी छ । पहिलो कृतिमा विश्वको र दोस्रोमा नेपालको उच्च शिक्षाको इतिहास, वर्तमान र भविष्यमा गर्नुपर्ने खाका बताइएको छ । २० औं शताब्दीदेखि उच्च शिक्षामा विश्वव्यापीकरण र पुँजीवादको प्रभावले विश्वविद्यालयहरू आर्थिक लाभतिर अग्रसर हुँदा मानविकी कम र विज्ञान प्रविधिको अध्ययन अनुसन्धान अध्याधिक हुने गरेको र जसले मानव सभ्यताको निरन्तरतामा नै डरलाग्दो चुनौती देखिएको कुरा उल्लेख छ । उच्च शिक्षालाई पुनः मानव हितमा जोड्दै मानविकी र विज्ञान प्रविधिको शिक्षालाई एकीकृत गर्न आवश्यक रहेको बताइएको छ ।

कार्यक्रममा बोल्दै पूर्वउपकुलपति शर्माले दुवै पुस्तकहरू महत्वपूर्ण रहेको भन्दै पाठकसमक्ष चिन्तन गर्ने अवसर निकालेको बताए । उनले त्रिवीमै आफूले अध्ययन र अध्यापन गरेको भन्दै विश्वविद्यालयमा विज्ञान संकायको अध्ययन सुरु भएको पहिलो पटक नै आफूले अध्यापन गराउन पाएको बताए । उनले विश्वविद्यालयमा घुसपैठ हुनु नहुने बताए । उनले राजनीतिक खिचातानी र कर्मचारीचन्त्रका खिचातानी विश्वविद्यालयमा हुनु नहुने बताए । उनले विश्वविद्यालयमा स्वायत्त संस्थाको रुपमा विकास गर्न जरुरी रहेको बताए । उनले आफूले २६ वर्ष त्रिभुवन विश्वविद्यालयमा सेवा गरेको बताए ।

लेखक खानियाले आफू काठमाडौँ विश्वविद्यालयमा उपकुलपति भएपछि बुझेको उच्च शिक्षा र पहिला बुझेको उच्च शिक्षामा फरक पाएको बताए । उनले काठमाडौँ विश्वविद्यालयको उच्च शिक्षा बुझ्न उपकुलपतिकै कुर्सीमा आएर बस्नुपर्ने आवश्यकता रहेको बताउँदा सञ्चारमाध्यम आफूमाथि खनिएको अनुभव सुनाए । उनले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिहरूले आफ्नो ४ वर्षे कार्यकाल आधा पनि पूरा गर्न नपाएको महसुस आफूलाई भएको बताए । आफू बनेको बेलासम्म ४ वर्षे कार्यकाल पूरा गर्ने उपकुलपति १० जना मात्रै पाएको बताए ।

कार्यक्रममा बोल्दै वक्ताहरूले पहिलो कृति उच्च शिक्षाको विश्वबजारका लागि र दोस्रो कृति नेपालका लागि ऐतिहासिक उपलब्धि हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *