ग्लोबल बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता, सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलीप पोखरेल र नास–आईटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरेका हुन् ।

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

राज्यको प्राथमिकतामा रहेको यस क्षेत्र अर्थतन्त्रको संवाहकको रुपमा रहेको र ग्लोबल आइएमई बैंक पनि सदैव राज्य प्रति उत्तरदायी संस्थाको रुपमा रहेको भन्दै बैंकले यो सम्झौता अधि बढाएको जनाएको छ ।

ग्लोबल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले सूचना प्रविधिको क्षेत्रमा गरेको लगानी र प्रयोगहरूको बारेमा समेत बताए । यस सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोसेढुङ्गा साबित हुने कुरा पोखरेलले उल्लेख गरे ।

७७ जिल्लाको ३५४ वटा शाखा कार्यालयहरूबाट भौतिक रुपमा बैंकिङ्ग सुविधा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकले आफ्नो मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिजिटल यूनिभर्स जस्ता प्लाटफर्मले थप पहुँच विस्तार गरेको छ ।

यस साझेदारी सम्झौताअन्तर्गत ग्लोबल बैंकले नास–आइटीसँग सम्बन्धित संस्था र आबद्ध कर्मचारीहरूको लागि सहज तथा सुलभ तवरले बैंकिङ्ग सेवा प्रदान गर्ने जनाएको छ ।

साथै एक आपसमा पारस्परिक सम्बन्ध तथा सीपमूलक कार्यक्रमहरू आयोजना गरी दुवै संस्था तथा आबद्ध कर्मचारीहरूको ज्ञान, सीप, अनुभव विकास हुने कार्यक्रमहरू अगाडि बढाइने बताइएको छ ।

ग्लोबल बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ । बैंक र नास–आईटीको आपसी सहकार्यमा नवाचार र अनुसन्धानलाई प्रवर्धन, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन, शिक्षा र सीप विकासलाई प्रवर्द्धन, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *