गृहमन्त्रीलाई सांसद कार्कीको आग्रह– फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाउनु

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाउन गृहमन्त्रीलाई आग्रह गरेकी छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाउन गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेकी हुन् । उनले गृहमन्त्रीले संसदको रोष्टमबाट फाइल बनेको रहेनछ, बनाउँदै छु भन्ने अभिव्यक्ति दिएको भन्दै कहिले बनाउने र कहिले खोल्ने भनी प्रश्न समेत गरिन् ।

उनले बेचन झालाई शिखण्डीको रुपमा नउभ्याउन पनि आग्रह गरिन् ।

उनले भनिन् ‘कहिले रोष्टममा बसेर गृहमन्त्री भन्नुहुन्छ, फाइल त बनेकै रहेनछ । बनाउँदै छु । फाइल कहिले बनाउने हो ? फाइल कहिले खोल्ने हो ? कृपया तपाईँहरूलाई म अनुरोध गर्दछु, फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाइयोस् । तपाईँहरूले ब्ल्याकमेलिङको माध्यम फाइललाई नबनाउनुस् । कुनै बेचनलाई अगाडी ल्याएर आएर उभ्याएर त्यसलाई शिखण्डीको रुपमा नउभ्याउनुस् । गृहमन्त्रीज्यूलाई रुलिङ गरियोस् । उहाँले दिएको फेहरिस्त अनुसार विपद् न्यूनीकरणका कार्यक्रमहरू भएको छ कि छैन, यस्तो खेलाँचीको काम नगरौँ । नेपाली जनताको ज्यान बचाउने काम गरौँ । फाइलका कुरा ल्याएर धम्क्याउने अस्त्रको रुपमा नबनाऔँ ।’

उनले विपद् व्यवस्थापनमा गृह मन्त्रालयबाट भएको कामको सम्बन्धमा गृहमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने पनि बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *