नेशनल लाईफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न
काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले नेशनल अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरूलाई नेपालगन्जको सोल्टी वेस्टेण्ड होटल र महेन्द्रनगरको ओपेरा होटलमा छुट्टा छुट्टै कार्यक्रममा सम्मान गरि उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
सम्मान कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सभापतित्व ग्रहण गरेका थिए । प्रबन्धक विवेक शर्माले उपस्थित अभिकर्ताहरूलाई आ–आफ्नो लक्ष्य पुरा गर्ने अन्तिम अवसर भएको हुँदा यस समयमा टिम लिडर अभिकर्ताहरू विशेष चनाखो भई आफ्नो र आफ्नो मातहतको अभिकर्ताहरूको लक्ष्य प्राप्तिमा विशेष जोड दिनुपर्ने बताए ।
समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरूलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गर्दै प्रमुख कार्यकारी अधिकृतले नेपालको बीमा बजारमा बीमितहरुलाई सबै भन्दा बढी बोनस प्रदान गर्दै आएको यस कम्पनीले पुनः आफ्नो बोनस दरलाई सबै जनाको प्रयासबाट यथावत् राख्न सफल भएकोमा अभिकर्ता समूहलाई विशेष धन्यवाद व्यक्त गरे ।
उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार नेपालगन्जमा लुम्बिनी र कर्णाली प्रदेशका अभिकर्ताहरूलाई र महेन्द्रनगरमा सुदूर पश्चिम प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको बताए । साथै उनले यस भन्दा अगाडी इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरूलाई र काठमाण्डौमा बागमती प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिसेकेको र अन्य बाँकी अभिकर्ताहरूलाई पनि छिट्टै नै सम्मान गरिने ब्यहोरा जानकारी गराए ।
नेपालगन्ज र महेन्द्रनगरमा सम्पन्न छुट्टा छुट्टै कार्यक्रममा, प्रमुख कार्यकारी अधिकृतसहित प्रबन्धक विवेक शर्मा, विभागीय प्रमुख सुष्मिता राणा लगायत नेपालगन्जमा सम्पन्न कार्यक्रममा कम्पनीका कर्णाली प्रदेश प्रमुख दीप नारायण खनाल तथा लुम्बिनी र कर्णाली प्रदेशमा रहेका शाखाहरूका शाखा प्रमुखहरूको पनि सहभागिता रहेको थियो भने महेन्द्रनगरमा सम्पन्न कार्यक्रममा सुदूर पश्चिम प्रदेश प्रमुख उमाकान्त जोशी लगायत उक्त प्रदेशमा रहेका शाखाहरूका शाखा प्रमुखहरूको समेत उपस्थित रहेको थियो ।