नेटोले युक्रेनलाई ४ करोड डलर बराबरको सैन्य सहायता दिने

काठमाडौं । नेटोले युक्रेनलाई ४ करोड डलर बराबरको सैन्य सहायता दिने भएको छ । अमेरिकाको वाशिङ्टन डीसीमा बैठक गरिरहेका नेटो गठबन्धनका नेताहरूले चार करोड बराबरको सैन्य सहायता किएभलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनीहरूले उक्त सैन्य गठबन्धनको सदस्यता हासिल गर्ने तर्फको यात्रामा युक्रेनलाई समर्थन गर्ने बताएका छन् । त्यस्तो सदस्यताका लागि औपचारिक समयसीमा निर्धारण नगरिए पनि नेटोका ३२ सदस्यराष्ट्रले युक्रेनलाई उसको युद्धमा आफ्नो अटल समर्थन रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

पदमुक्त हुन लागेका महासचिव जेन्स स्टोल्टन्बर्गले प्रस्तुत गरेका संयुक्त वक्तव्यमा आगामी वर्षमा नेटोले युक्रेनलाई गर्ने त्यस्तो सैन्य सहयोगको उल्लेख गरिएको छ । त्यस्तो सैन्य सहयोगमा एफ १६ लडाकु जेट र हवाई आक्रमण प्रतिरक्षा प्रणालीहरू पनि पर्ने छन् । स्टोल्टन्बर्गले युक्रेनलाई गरिने सहयोग कुनै दानदातव्य नभई नेटोको आफ्नै सुरक्षा चासोको रक्षार्थ भएको बताएका छन् ।

चीन-रुस सम्बन्धप्रति चिन्ता
उनले युक्रेनलाई तालिम र अन्य सैन्य बन्दोबस्तीको सहयोग पनि गरिने जनाएका छन् । यसका साथै उनले यस्तो सहयोगले नेटोलाई रुस र युक्रेनबीचको द्वन्द्वमा सहभागी नबनाउने भन्ने कुरामा पनि जोड दिएका छन् ।

पश्चिमा देशहरूले युक्रेनलाई विश्वसनीय र बलियो समर्थन दिएमा मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफू विजयी हुन नसक्ने महसुस गराउन बाध्य बनाउन सकिने स्टोल्टन्बर्गले औँल्याए । यो वर्षको नेटोका नेताहरूको शिखर बैठक रुस र चीनबीच बढ्दो मैत्रीपूर्ण सम्बन्धले उत्पन्न गराउन सक्ने ठानिएको जोखिमका बारेमा केन्द्रित रहेको छ । नेटोले चीनलाई रुसको युद्धको आगोमा घ्यू थप्ने काम गरेको आरोप लगाएको छ । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *