कास्कीमा पहिरोले तीन परिवारका ११ जनाको ज्यान गयो (अपडेट)

काठमाडौं । कास्कीका विभिन्न ठाउँमा पहिरोका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा महानगरका दुई वडा र मादी गाउँपालिकामा गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए । बिहीबार राति सवा १० बजेतिर खसेको पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको हो ।

छोरीज्वाइँसहित सबै परिवार नै घरमा जम्मा भएर बसिरहेका बेला पहिरो खसेको थियो ।

यस्तै पोखारा ३२ चैनपुर बार्‍ह्वबीसेमा गएराति आरती ओझाको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको हो । घटनामा आरतीकी १८ वर्षीया छोरी अनिता ९ वर्षीय छोरा प्रतिक र ११ वर्षीया छोरी अनुष्का ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

उता, मादी गाउँपालिका ११ को तल्लो ताप्लेमा ८० वर्षकी माइती कुमारी गुरुङको मृत्यु भएको छ । ५५ वर्षका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको छ । घटनास्थल टाढा भएको र विकटमा रहेकोले समयमा उद्धार गर्न सकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *