लेदोसहितको पहिरोले बगाएका दुई बसमा सवार यात्रुको परिचय खुल्यो (अपडेट)

काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाएका दुवै बसमा सवार यात्रुको परिचय खुलेको छ । वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको ०००१ ख २४९५ नम्बरको गणपति डिलक्स लेखेको बसमा सवार यात्रुको परिचय खुलेको हो ।

गणपति डिलक्समा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ । काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए । दुई जना बीच बाटोबाट चढेका थिए । बस चालक किशोर कुमार चौधरी हुन् ।

बसमा यात्रा गर्नेमा नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल र ओकिल खाँ रहेका छन् भने नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्र लगायतको नामबाट सिट बुक भएको छ । नन्दुको नामबाट ५ जनाको सिट बुक भएको देखिन्छ । यसैगरी शन्तु र नवीनको नामबाट ४ जनाको सिट बुक भएको छ । जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल डिलक्समा गाडी धनी राजेन्द्र केसी, चालक नगवाका जवाहिर महतो र सहचालक चौधरी थरका एक रहेको खुलेको छ । यात्रुहरुमा अन्सारीजी, अरविन्द दुवे, सन्तोष (मकालु सैलुन), सुरेन्द्र साह (फलफूल), आवीन्दजी, हरिन्द्र पण्डित, सुनिल, शेहनबाज आलम, प्रकाश (पिप्रा), प्रमानन्द, हृदय नारायण राउतसहित ३ जना, सलिम मिया र उनका पत्न्नी जैनबर खातुन (उपचारका लागि हिँडेका), रैजुल आलमसहित २ जना रहेको खुलेको छ । मुसर्वाबाट ७ भारतीय चढेको पनि उल्लेख छ ।

बसलाई आज बिहान करिब साढे तीन बजे चितवनको भरतपुर महानगरपालिका-२९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले पुरेको थियो । काठमाडौंबाट गौर जाँदै गरेको बसका तीन जना यात्रुहरु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । अन्य यात्रुहरुको अवस्था अज्ञात छ । घटनास्थलमा खोजी र उद्धार कार्य जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *