ट्रम्पलाई गोली हान्ने सन्दिग्ध आक्रमणकारीको मृत्यु

काठमाडौं – अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सल्भिनियामा आयोजित एउटा र्‍यालीमा गोली प्रहार भएको छ । उनको हत्या गर्ने उद्देश्यले आक्रमण भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ । उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको देखिन्छ ।

उक्त र्‍यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको थियो । गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए । त्यस क्रममा ट्रम्पले मुट्ठी उचाल्दै समर्थकहरूप्रति सङ्केत गरेका थिए ।

ट्रम्पले आफैँले खोलेको सामाजिक सञ्जाल ट्रूथ सोशलमा एउटा सन्देश लेख्दै आफू सकुशल रहेको र स्थानीय स्वास्थ्य संस्थाले उनको उपचार गरिरहेको जनाएका छन् । ट्रम्पले लेखेका छन्, ‘सुइँय्य गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो । धेरै रगत बगेपछि के भएको हो भन्ने मैले थाहा पाएँ ।’

उनलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच उनको कान र अनुहारमा रगत बगेको स्पष्ट रूपमा देखिएको थियो ।

एक सन्दिग्ध मारिए
उक्त घटनामा एक जना सन्दिग्ध व्यक्तिलाई ‘यूएस सिक्रेट सर्भिस’का अधिकारीहरूले गोली हानेर हत्या गरिदिएको उक्त निकायका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले बताए । उनका अनुसार गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

कानुन कार्यान्वयन गर्ने अमेरिकी निकायका स्रोतहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई ती पुरुष आक्रमणकारीले राइफल बोकेको र घटनास्थलभन्दा केही परबाट एउटा अग्लो स्थानमा चढेर गोली प्रहार गरेको बताएका छन् । ती स्रोतहरूले यो आक्रमणलाई ट्रम्पको हत्याको प्रयासको रूपमा लिइएको बताएका छन् ।

गुग्लिएल्मीले ट्रम्प सुरक्षित रहेको र उनको सुरक्षाका लागि आवश्यक कदम चालिएको बताए । उनका अनुसार घटनाबारे हाल अनुसन्धान जारी रहेको छ । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *