स्पेनले जित्यो युरो कपको उपाधि, इंग्ल्याण्ड फेरि स्तब्ध

काठमाडौं । युरो कप फुटबल २०२४ को उपाधि स्पेनले जितेको छ । सोमबार राति सम्पन्न फाइनल खेलमा इंग्ल्याण्डलाई २–१ ले हराउँदै अपराजित रहेर स्पेनले उपाधि जितेको हो ।

योसँगै ऊ चारपटक युरो कप उपाधि जित्ने पहिलो टिम बन्यो । यसअघि स्पेन र जर्मनीको नाममा तीन–तीन युरो कप उपाधि थियो । यसअघि स्पेनले सन् १९६४, २००८ र २०१२ को उपाधि जितेको थियो ।

इंग्ल्याण्डको सपना भने यसपटक पनि अधुरै रह्यो । लगातार दोस्रोपटक युरो फाइनलमा पराजित भएको हो । ​इंग्ल्याण्ड गत संस्करणको युरो कप फाइनलमा इटालीसँग पराजित भएको थियो ।

यसपटक स्पेनलाई कीर्तिमानी उपाधि दिलाउनेक्रममा निको विलियम्स र माइकल ओयारजाबललेले समान १ गोल गरे । यस्तै, इंग्ल्याण्डका लागि कोल पाल्मरले एक गोल फर्काए ।

खेलमा स्पेनले ४७औँ मिनेटमा निको विलियम्सको गोलमार्फत अग्रता लिएको थियो । उनले लामिन यमलको पासमा गोल गरे । ७३औँ मिनेटमा इंग्ल्याण्डका परिवर्तित खेलाडी कोल पाल्मरले गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याए ।

उनले जुड बेलिङ्घमको पासमा गोल गरेका थिए । खेलको ८६औँ मिनेटमा माइकल ओयारजाबलले गोल गर्दै स्पेनलाई युरो उपाधि दिलाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *