बुढानीलकण्ठमा ‘हरिशयनी एकादशी’का श्रद्धालुको घुइँचो (तस्बिरहरु)

काठमाडौं । प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना बुधबार सुरु हुँदैछ । जेठ शुक्ल एकादशीमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताए । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चर्तुमासा पनि भनिन्छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

हरिशयनी एकादशीका अवसरमा बिहानैदेखि काठमाडौँको बुढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *