कसैको केही अपेक्षा छैन

ओली नेतृत्वको सरकार पन्ध्र महिना कटाउने मेलो मात्रै : विश्लेषक खतिवडा (भिडिओ)

तत्कालिन पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकार ढलेर एकाएक संसदका दुई ठूला राजनीतिक दलहरु नेपाली काँग्रेस र नेकपा (एमाले)सहितको समिकरणमा नयाँ सरकार बनेपछि यसबारे अनेकन प्रतिक्रियाहरु आइरहेका छन् । कतिपयले ठूलो राजनीतिक अर्थसहित एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको भनिरहेका छन् भने कतिपयले काँग्रेस-एमाले सहितका दलहरुले केबल बाँडीचुँडी सत्ताको उपभोग गर्नका लागि मात्रै सरकार बनेको टिप्पणी गरिरहेका छन् ।

राजनीतिक विश्लेषक डम्बर खतिवडा भने काँग्रेस र एमालेले सत्ताको उपभोग गर्न नपाउँदा नयाँ गठबन्धन बनाएको टिप्पणी गरेका छन् । उनले संसदका दुई ठूला दलहरुको गठबन्धनमा सरकार बन्नुका पछाडी कुनै राजनीतिक कारण नभएको बताए । उनले यि दुई दलहरुले सत्ता बाहिर लामो समय बसेमा आफूहरु समाप्त हुने भयका कारण मिलेर सरकार बनाएको बताए । प्रतिपक्षमा बस्दा सरकारी सेवा, सुविधाको उपभोगबाट वञ्चित हुने मानसिकताले पनि सरकारमा यि दलहरु मिलेर गएका उनले टिप्पणी छ ।

उनले संसद्को तेस्रो र चौथो ठुलो दलले सरकारमा रजगज गरेको देख्दा कांग्रेस र एमाले आत्तिएको बताए । उनले संसदीय लोकतन्त्रमा दुई ठुला दलहरू मिलेर सरकार बनाएको संसारमा कतै नभएको भन्दै नेपालमा भने भागबन्डाको राजनीतिका कारण यस्तो सम्भव भएको बताए ।

उनले भने, ‘मेरो विचारमा खासमा यो भागबन्डाको राजनीति हो । आलोपालोको राजनीति हो । नेपालका राजनीतिक दलहरू लामो समयसम्म प्रतिपक्षमा बस्न र जनताको सरोकारको आवाजहरू उठाउन, धैर्यता गर्दैनन् । दुई ठुला दलहरू मिलेर सरकार बनाएको मैले संसारको संसदीय लोकतन्त्रमा कहीँ पनि देखेको छैन नेपालमा बाहेक । यो के हो भने एक प्रकारको सत्ता बिना टिक्न सकिँदैन र लामो समय सत्ताभन्दा बाहिर बसियो भने जनताले सत्ताधारी दलहरू तिर रुझान राख्छन् र हामी समाप्त हुन्छन् भन्ने एउटा र अर्को राज्यका स्रोत, साधनहरू दोहन गर्ने, गाडी चढ्ने, प्रहरीको सलामी खाने, क्वार्टरहरू प्रयोग गर्ने, तलबभत्ता खाने अवसरहरूबाट वञ्चित भइन्छ भन्ने मानसिकताबाट कांग्रेस एमालेलाई के लाग्यो भने हामी अलि ठुला पार्टी छौँ । माओवादी सानो छ । अझ त्यो रास्वपा भन्ने नयाँ आएको त चौथो दल हो । अनि प्रचण्ड र रवि लामिछाने भएर फुर्ती लाउने । हामी दुई ठुला दल चाहिँ टुलुटुलु हेरेर खान नपाएर बस्ने ? भन्ने खालको उनीहरूको मनमा एक प्रकारको औडाहा भयो । त्यो औडाहाबाट उनीहरूले यो गठबन्धन परिवर्तन गरेका हुन् । यसको अरू कुनै पनि राजनीतिक कारण छ जस्तो मलाई लाग्दैन । आलोपालो र भागबन्डाको राजनीतिमा संसदीय राजनीतिको अन्तर्राष्ट्रिय मान्यता, मूल्य प्रचलन भन्दा विपरीत ढंगको अभ्यास गर्ने जुन काम भइरहेको छ, यसमा तीनवटै दलहरू उत्तिकै संलग्न छन् भन्ने मलाई लाग्छ ।’

राष्ट्रिय सहमति र संविधान संशोधनको कुरा केवल बर्को मात्रै
राजनीतिक विश्लेषक खतिवडाले कांग्रेस, एमालेले राष्ट्रिय सहमति र संविधान संशोधनको बर्को ओढेको टिप्पणी गरे । उनले यी दलहरू संविधान संशोधनमा प्रवेश गर्न नसक्ने बताए । मिलीजुली खानका लागि सरकार बनाएका बन्दै संविधान संशोधन लगायतका सैद्धान्तिक कुराहरूमा उनीहरूको जोड नभएको उनले जिकिर गरे । उनले यी दलहरूको विचार, सिद्धान्त र एजेन्डाप्रति कुनै रुचि नभएको बताए ।

उनले भने, ‘यो गठबन्धन मिलीजुली खाने बाहेक केही पनि होइन । यसका बारेमा धेरै गम्भीर भएर विश्लेषण गर्न जरुरी पनि छैन । यसले देश र जनताको समस्याको हल पनि गर्दैन । यसले राष्ट्रिय सहमति र संविधान संशोधन भन्ने एउटा बर्को चाहिँ ओढेको छ । तर त्यो बर्कोलाई पनि मैले रामनामी बर्को भन्छु । यिनीहरू संविधान संशोधनमा प्रवेश गर्न सक्छन् जस्तो मलाई लाग्दैन । प्रवेश गरे भने पनि तिनीहरूको ओरेन्टेशन के हुन्छ त ? कतातिर संविधान संशोधन गर्न जान्छन् । त्यसपछि नागरिकहरूको प्रतिक्रिया के हुन्छ ? राजनीतिक ध्रुवीकरणहरू कसरी हुन्छन् ? त्यो प्रश्नहरू अहिले ‘अनसिन’ जस्तो छ । राम्ररी प्रकट भइसकेको छैन । त्यसमा बोल्नु हतारिनु हुन्छ । उनीहरूको सैद्धान्तिक कुराहरूमा जोड पनि छैन । सहमति सार्वजनिक गरिएको छैन । मिलेर के गर्न खोजेको भन्ने साझा न्यूनतम कार्यक्रम छैन । विचार, सिद्धान्त, एजेन्डाप्रति उनीहरूको रुचि नै छैन । खालि हतार–हतार गर्ने, गठबन्धन फेर्ने, मन्त्री बनाउने भन्नेतिर मात्रै उनीहरूको रुचि छ । यसले उनीहरू सत्ताको दोहन गर्न हतारिएका हुन् र प्रतिपक्षमा बस्ने अधैर्यता हो ।’

संघीयता, समानुपातिकता, आरक्षण र समावेशितामाथि आक्रमणको आशङ्का
विश्लेषक खतिवडाले कुन मुद्दामा संविधान संशोधन गर्ने भन्नेमा नै उनीहरू स्पष्ट नभएको टिप्पणी गरे । उनले दुई दलीय प्रणाली कायम गर्नका लागि संविधान संशोधन गर्ने भन्ने कुरा बाहिर आएको भन्दै यसबारे प्रष्ट पार्न आग्रह समेत गरे । उनले दुई ठुला दल मिलेर संघीयता, समानुपातिकता, आरक्षण र समावेशितामाथि आक्रमण गर्न खोजेकोप्रति आशङ्का उब्जिएको बताए । यसमाथि आक्रमण गर्न खोजे दलहरूले ठुलो मूल्य चुकाउनुपर्ने उनको भनाई छ ।

उनले भने, ‘संविधान संशोधनको ओरेन्टेशन पहिला स्पष्ट हुनुपर्‍यो नि त । के मुद्दामा ? के कुरामा ? कुन प्रयोजनका लागि ? कुन उद्देश्यका लागि ? जस्तो अहिले भनिँदैछ कि साना र नयाँ दल धेरै भए त्यसैले दुई दलीय प्रणाली कायम गर्नका लागि संविधान संशोधन गर्ने भन्ने कुरा आएको छ । दुई दलीय प्रणाली भनेको के हो यो पनि कसैले बुझाइदिनु पर्‍यो । संसारमा दुई दलीय प्रणाली लोकतन्त्रमा कहाँ छ ? संसद्का दुई ठुला दल मिलेर सरकार बनाएपछि त्यो कसरी दुई दलीय प्रणाली हुन्छ ? के संविधान संशोधन गरेर कांग्रेस र एमाले मात्रै राजनीतिक दल हुन पाउनेछन् । अरू सबै दलहरूमाथि प्रतिबन्ध लाग्नेछ भन्ने हो र ? होइन भने दुई दलीय प्रणाली भनेको के हो त ? के मान्छेहरूलाई नयाँ पार्टी खोल्न नदिने, नयाँ राजनीतिक विचारहरू ल्याउन नदिने भनेको हो कि ? के हो त्यो ? संविधान संशोधन गर्नुपर्छ समय समयमा भन्ने कन्सेप्ट त राम्रो हो । तर कांग्रेस एमालेले जुन ओरेन्टेशनमा यो काम गर्न खोजिरहेका छन्, कता कता यो संघीयता, समानुपातिकता, आरक्षण र समावेशितामाथि आक्रमण गर्न खोजेको हो कि ? स्थिरताको नाममा भन्ने झल्को आउँछ । यदि त्यो होइन भने उनीहरूको दृष्टिकोणबाट अहिले संशोधन गर्नुपर्ने कुरा केही पनि छैन । संसदीय लोकतन्त्र छँदैछ । यदि त्यसमाथि आक्रमण गर्न खोजेको हो भने त्यसको उनीहरूले ठुलो मूल्य चुकाउनुपर्ने हुनसक्छ ।’

माओवादी केन्द्र सिद्धिने कि पुनर्गठित हुने उसैमा निर्भर
उनले भर्खरै सत्ताबाट बाहिरिएर प्रमुख प्रतिपक्ष दल हुन पुगेको नेकपा(माओवादी केन्द्र)का सामु सिद्धिने वा पुनर्गठित हुने भन्ने विकल्प रहेको बताए । उनले अर्को विकल्पको रूपमा माओवादी केन्द्रसँग कांग्रेस र कम्युनिस्टका बिचमा खेलिरहने पनि भएको भन्दै यो लफडाबाट निस्किएर पार्टीलाई पुनर्गठन गर्नु नै उत्तम विकल्प भएको जिकिर गरे ।

उनले भने, ‘एउटा विकल्प माओवादी पार्टी सिद्धिएर जाने । अर्को विकल्प यसरी नै कांग्रेस, कम्युनिस्टको विकल्पमा खेलिरहने । एकता गर्ने, टुट्ने, फुट्ने, गठबन्धन गर्ने, एमालेसँग मिल्ने, कांग्रेससँग मिल्ने त्यही गरिरहने । अर्को भनेको यो लफडाबाट निस्किएर आफ्नो पार्टीलाई पुनर्गठित गर्ने अभ्यासमा लाग्ने । मेहनत गर्ने । यी तिनमध्ये कुन बाटो रोज्छन् त्यो उनीहरूको स्वतन्त्रता हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टी अर्को चुनावसम्म टिक्छ कि टिक्दैन भन्नेमै प्रश्न
खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी आगामी चुनावसम्म टिक्छ टिक्दैन भन्नेमै प्रश्न रहेको बताए । रास्वपालाई ठुला दलसँग रिसाएका मतदाताहरूले नयाँ लोकतान्त्रिक विकल्पको रूपमा भोट दिएका उल्लेख गर्दै उनले जनताको अपेक्षा पूरा हुन नसकेको बताए ।

उनले भने, ‘रास्वपा टिप्पणी गर्नुपर्ने पार्टी रह्यो जस्तो लाग्दैन । त्यो पार्टीलाई मान्छेले के अपेक्षामा भोट दिएका थिए भने तीन ठुला दलहरूसँग रिसाएका मतदाताहरूले नयाँ लोकतान्त्रिक विकल्प आउँला, भविष्यमा यी पार्टीहरूलाई प्रेसरमा राख्ला, सुध्रिन दबाब देला, उन्नत लोकतन्त्रको अभ्यास पनि गर्ला भन्ने अर्थमा त्यो दललाई मान्छेहरूले भोट दिएको हो । त्यो देखिएन । त्यसैले त्यो नदेखिएपछि सायद अर्को चुनावसम्म त्यो पार्टी के मा टिक्छ र ? मतदाताको मत टुटिसकेपछि । त्यसको कुनै संगठन र इतिहास त छैन । टिप्पणी गरिरहनु सान्दर्भिक रहेन ।’

मधेसवादी दलको मूर्खता
उनले आफूहरूको माग बमोजिम संविधान संशोधन हुने आशामा मधेसवादी दलहरूले कांग्रेस–एमाले गठबन्धनको सरकारलाई समर्थन गर्नु मूर्खता भएको बताए । मन्त्रीको लागि सरकारमा जानु सत्तालिप्सा र पद लोलुपता भएको उनको भनाई छ । उनले भने, ‘संविधान संशोधन आफूहरूको मुद्दामा कांग्रेस एमालेले गर्छन् भनेर मधेसवादी दलहरूले अहिलेको गठबन्धनलाई समर्थन गरेका हुन् भने यिनीहरू मूर्ख हुन् । होइन एउटा, दुईवटा मन्त्री खान पाइन्छ भनेर त्यहाँ गएका हुन् भने त्यो सत्तालिप्सा, पद लोलुपता हो । त्यसको धेरै चर्चा गर्नै परेन । त्यो लोभी, पापी चरित्र नेपालको राजनीतिक दलहरूमा आम रूपमा छ । त्यसैको एउटा पछिल्लो कडी हो ।’

सीके राउत मधेसको रवि लामिछाने
राजनीतिक विश्लेषक खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतका बिचमा कुनै भिन्नता नभएको बताए । उनले भने, ‘सीके राउत भनेको अर्को रवि लामिछाने हो । मधेसको रवि लामिछाने हो । रवि लामिछाने पहाडको रवि लामिछाने हो । यसरी भन्नुस् । रवि लामिछाने भनेको पहाडको सीके राउत हो । सीके राउत भनेको मधेसको रवि लामिछाने हो । यिनीहरूका बिचमा धेरै भिन्नता छैन ।’

सरकारप्रति कसैको केही अपेक्षा छैन, पन्ध्र महिना कटाउने मेलो मात्रै
उहाँले सरकारप्रति कसैको केही पनि अपेक्षा नभएको बताए । सरकार आलोपालोमा बन्ने भन्दै वर्तमान सरकारले केवल पन्ध्र महिना कटाउने मात्रै बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो पटक प्रधानमन्त्री बनेर नाम लेखाउने र शान झार्ने बाहेक केही काम नगर्ने बताए । उनले भने, ‘यो सरकारको के चुनौती ? यसले पन्ध्र महिना काट्ने हो, जाने हो । आलोपालोमा आएको हो । पन्ध्र महिना प्रधानमन्त्री खाएर चौथो पटक पनि म प्रधानमन्त्री भएँ भनेर नाम लेखाउने, शान झार्ने बाहेक यो सरकारले केही पनि गर्दैन । यो सरकारप्रति कसैको अपेक्षा पनि छैन ।’

कूटनीतिक र भूराजनीतिक सन्तुलनको सन्दर्भमा नयाँ सरकारबाट केही पनि अपेक्षा गर्न नसकिने उनको भनाई छ । सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन र परिपक्वता देखाउन नसक्ने उनले बताए । उनले छिमेकी दुई देशहरू भारत र चीनसँगको सम्बन्ध यथास्थितिमा रहने भन्दै सम्बन्धमा उल्लेखनीय घटना नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *