उच्च अदालत जनकपुरमा हालसम्मकै बढी मुद्दाको फर्छ्यौट (भिडिओ)
काठमाडौं । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८०/०८१ मा हालसम्मकै बढी मुद्दाको फर्छ्यौट गरेको छ ।
मंगलवार उच्च अदालत जनकपुरले पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०८०/०८१ मा ६५ प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिइएकोमा ७१ प्रतिशत बढी मुद्दा फर्छ्यौट गरेको जानकारी दिइएको हो ।
तोकेको लक्ष्यअनुसार उच्च अदालत जनकपुरले १६४.५७ प्रतिशतले बढी मुद्दाको फर्छ्यौट गरेको हो ।
उच्च अदालतलाई ३ हजार ७ सय २६ मुद्दा फर्छ्यौट गर्न वार्षिक लक्ष्य तोकिएकोमा लक्ष्य भन्दा १ हजार ५ सय ३७ मुद्दा बढी फर्छ्यौट भएको उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश श्रीकान्त पौडेलले जानकारी दिए ।
आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ९ सय ७६ मुद्दा सरि आएक र ४ हजार ४ सय २१ नयाँ मुद्दा दर्ता भई कुल ७ हजार ३ सय ९७ कुल मुद्दामध्ये ५ हजार २ सय ६३ मुद्दा फर्छ्यौट भएको उनले बताए ।
उच्च अदालतमा पुराना तथा नयाँ गरी २ हजार १ सय ३४ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको उच्च अदालत जनकपुरका न्यायाधीश महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।
उच्च अदालत जनकपुरधाममा आर्थिक वर्ष २०८०/०८१ मा मुद्दाको फर्छ्यौट देशका अन्य उच्च अदालत भन्दा बढी रहेको अनुमान गरिएको छ ।
उच्च अदालत जनकपुरधामलाई भ्रष्टाचारमा शुन्य सहनशीलताका साथ न्याय सम्पादनको काम भएको मुख्य न्यायाधीश पौडेलले बताए ।