‘आ… यत्तिकै हुँ म, पानी पर्दा, घाम लाग्दा, सधैँ यतिकै’

काठमाडौँ । बेलुकादेखि नै बर्सिन थालेको झरीले भक्तपुर बजारलाई निथ्रुक्कै भिजाए पनि बिहानसम्म उघ्रिन सकेका थिएनन् । त्यसकारण सडक, बजार र गल्लीमा मानिसहरूको आवतजावतमा कमी आएको थियो । तर कमलविनायक स्थित बसपार्कमा भने गाडी र मानिसहरूको भिड उत्तिकै देखिन्थ्यो ।

बसपार्कको ठिक अगाडिको सडक नजिकै सानो रुखको छहारीमा दिनहुँ एक अधबैँसे व्यक्ति जुत्ता सिलाउन बस्छन् । उनका अगाडि ‘मिनिरल वाटर’को बोतलमा दुई ओटा जुत्ता टल्काउने झोल पोलिस उभिएका हुन्छन् । १०-१२ ओटा जुत्ताका सोलहरू फिँजिएका छन्, कैँची, साना-साना ब्रसहरू पनि अगाडि नै देखिन्छन् । अरू । अरू सामानहरू भने पानीले बिगार्छन् भनेर उनी आफू बसेको चकटी भित्र लुकाएर राखेका हुन्छन् ।

उनी हामीजस्तै आम मानिस हुन्, उनमा अरूलाई प्रभावित पार्ने कुनै सिप वा कला छैन । उनी घाम लाग्दा होस् या पानी पर्दा, सधैँ छाता ओढेर उही रुखमुनि ग्राहक पर्खिरहेका हुन्छन् । झरीपर्दा चरीहरू लुक्छन् तर उनी लुक्दैनन् । कलेज आउँदा जाँदा मैले धेरै दिनदेखि उनको यस प्रवृत्तिलाई नियाली रहेकी थिए । त्यसैले एकदिन उनी नजिक पुगेर मैले केही प्रश्नहरू तेर्स्याए ।

घामपानी हुँदा पनि छाता ओढेर ग्राहक पर्खने ती मानिस सुर्खेत, थुन्चे वडा नं ९ का ५१ वर्षीय शमशेर मिजार रहेछन् । उनी हरेक बिहान ७ बजे चाँगुनारायणबाट हिँडेर कमलविनायक बसपार्क आइपुग्दा रहेछन् । त्यसपछि उनी त्यसरी नै बसिरहन्छन्, ग्राहक पर्खेर । अनि बेलुकी ६ बजे उही बाटो फर्कन्छन् घर ।

भक्तपुर चाँगुनारायणमा डेरा गरी बस्दै आएका मिजारका परिवारमा आमा र दुई छोरा गरी ४ जनाको परिवार छन् । उनले जुत्ता सिलाएर परिवारका आवश्यकता पुरा गर्ने बताए । उनका श्रीमती ५ वर्ष अगाडि नै फोक्सोमा समस्या आएकाले बितिन् अरे ।

उनले आफू काठमाडौँ पसेको धेरै समय बितिसकेको बताए । उनले भने, ‘सानै हुँदा आएको हुँ । धेरै समय भइसक्यो ।’

उनले भक्तपुरकै शिवडोल निवासी महिलासँग विवाह गरे । अहिले दुई छोराहरू ठुला भइसकेका छन् । उनले ६-७ वर्षको उमेरमा नै हजुरबुबाबाट जुत्ता सिलाउन सिकेका रहेछन् । उनका हजुरबुबा र बुबाले घरमै जुत्ता सिलाउने काम गरेको उनले बताए । ‘उबेला पढिएन, २-४ कक्षा मात्रै पढियो । हजुरबुबाले नै यस्तै काम गर्थे,’ उनले भने, ‘मैले हजुरबा, बुबाबाट सिकेको हुँ ।’

उनले धेरै पहिले एकचोटि वैदेशिक रोजगारका लागि मलेसिया गएको बताए । उनका अनुसार पहिले त राम्रै कमाइ हुन्थ्यो । उनी त्यहाँ ३ वर्ष बसे । तर त्यहाँको कमाइले उनलाई बालबच्चा, परिवार र आमा-बाबालाई हेर्न मात्र पुग्थ्यो । उनले भने ‘कत्ति नै कमाइन्थ्यो र ?’

उनी भक्तपुर कमलविनायकमा बसेर जुत्ता सिलाउन थालेको पनि १८ वर्ष भइसकेको रहेछ । उनले जुत्ता सिलाउने काम गरेर अलिअलि खर्च मात्र पुग्ने बताए । उनले भने ‘झरी छ, वर्षामास छ, कहिले २ सय, कहिले ४-५ सय हुन्छ, त्यस्तै हो यहाँको कमाई । खानलाई अलिअलि टाक्कटुक्क पुग्छ ।’

त्यसैक्रममा मैले उनलाई सोधे । ‘छाना पनि छैन, झरीपर्दा पनि किन यहाँ बस्नुहुन्छ अंकल ?’ उनले भने, ‘नगरपालिकाले बस्न दिँदैन भनेर छाना नहालेको ।’

उनले भक्तपुर नगरपालिकाले हालसम्म उनलाई त्यहाँबाट हट्न नभनेको बताए । अरूलाई चैँ बस्न नदिएको उनको भनाई छ । उनले रमाउँदै भने,  ‘मलाई चैँ केही भनेको छैन ।’

उनले त्यस ठाउँमा छाना हालेर बस्न नमिल्ने बताए । ‘फेरि अरूले रिस गर्छन् नि त, ’ उनले भने ।

‘त्यही भएर झरीमा रुझेरै बस्नुहुन्छ है ?’ मैले भनिहाले ।

‘अ म त यही भकलक्कै सुतिदिन्छु,’ उनले ठट्यौली पारामा भने । तर त्यो ठट्यौली बिलकुलै थिएन । किनभने उनी सुरुमा भेटिदा पनि सुतिरहेकै अवस्थामा भेटिएका थिए । त्यसो त उनलाई उठाउन मैले ३-४ पटक नजिकै गएर बोलाउनु परेको थियो ।

उनले वरपरका चिनजान भएका ग्राहकहरू नै उनीकहाँ जुत्ता सिलाउनका लागि आउने बताए । उनले पनि खुसी हुँदै ग्राहकहरूको जुत्ता सिलाउने र पोलिस गरिदिने गर्छन् । मैले उनलाई ‘बर्खा झरी नभनी काम गर्नुपर्दा दुख लाग्दैन ?’ भनेर प्रश्न गरे ।

उनले काम गर्न पाउँदा बिलकुलै दुख नलाग्ने बताए । तर आजभोलि खास्सै कमाइ नहुने उनको गुनासो छ । अन्त्यमा उनले सरकारसँग पनि केही माग गरेनन् । उनले भने, ‘केही माग छैन, सरकारले के गरेको छ र ?’

हुन पनि हो, सरकारले बर्सेनि मजदुर दिवसमा मजदुरहरूका हक, अधिकारहरूको बारेमा जति नै भाषण गरेपनि अशिक्षित, दरिद्र र पहुँच नभएका मजदुरहरूको जीवनस्तरमा आजसम्म कुनै परिवर्तन आउन सकेको छैन । उनले पनि मेरो कुरामा सहमति जनाउँदै भने, ‘त्यो एकदिन मात्रै मजदुर दिवस भनेर भाषण गर्ने हो, खासमा हाम्रो लागि सरकारले केही गरेको छैन र मलाई आस पनि छैन’

उनले सुख पाउनेले सुख मात्रै पाइरहेको र दुख पाउनेले दुख मात्रै पाइरहेको बताए । उनले भ्रष्ट्राचार गर्नेहरूको पेट सजिलै भरिने तर उनीजस्ता मजदुरहरूको स्तर कहिल्यै माथि नउठ्ने बताए । उनले भने, ‘आ… यत्तिकै हुँ म, पानी पर्दा, घाम लाग्दा, सधैँ यतिकै ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *