पेरिस ओलम्पिक : नेपाली खेलाडीको लक्ष्य व्यक्तिगत प्रदर्शन सुधार गर्ने

काठमाडौँ । आगामी सोमवारदेखि फ्रान्सको पेरिस सहरमा हुने ३३ औं गृष्मकालीन ओलम्पिकमा प्रतिस्पर्धा गर्ने अधिकांश नेपाली खेलाडीले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार गर्ने लक्ष्य राखेका छन् ।

उक्त ओलम्पिकमा नेपालको ६ खेलका सात खेलाडीले चुनौती प्रस्तुत गर्दैछन् । शुक्रवार राष्ट्रपति भवनमा आयोजित बिदाइ कार्यक्रममा रहेका चार खेलाडीले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार गर्ने लक्ष्य रहेको बताए । सुटिङकी खेलाडी सुस्मिता नेपालले तयारी राम्रो भएको र ओलम्पिकमा पनि आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन् । उनले महिला १० मिटर एयर राइफलमा चुनौती प्रस्तुत गर्दै छन् । यस विधामा उनले आफ्नो रेकर्ड सुधार गर्ने पनि उल्लेख गरिन् ।

नेपालले जुडो खेलमा पनि चुनौती प्रस्तुत गर्दैछ । यस खेलमा मनिता श्रेष्ठ प्रधानले महिला ७५ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्दै छिन् । मनिताले पदक नै जित्ने लक्ष्य रहेको र हरेक बाउट आफ्नो पक्षमा पार्ने बताइन् ।

जुनियरमा विश्व पूर्वनम्बर एक ब्याडमिण्टन खेलाडी प्रिन्स दाहालले पनि पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्दै छन् । उनले समूह चरणमै विश्व वरीयताको दोस्रो स्थानमा रहेका भिक्टर एक्सेलसनको चुनौती सामना गर्दै छन् । पेरिस ओलम्पिकमा कठिन समूहमा ‘पी’ मा रहेका प्रिन्सले खेलमा के हुन्छ भन्ने अनुमान गर्न नसकिने उल्लेख गर्दै आत्मविश्वासका साथ जित्नेगरी खेल्ने लक्ष्य रहेको धारणा राखे ।

ओलम्पिक खेल्ने नेपालका पहिलो ब्याडमिण्टन खेलाडी प्रिन्सले समूहमा ६० औं स्थानभन्दा माथिका प्रतिस्पर्धीसँग खेल्नेछन् । उनी हाल विश्वको १९० औं स्थानमा छन् । यद्यपि, लामो समयदेखि ओलम्पिकको तयारी गरिरहेका प्रिन्सले यादगार प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

नेपालले एथ्लेटिक्सतर्फ म्याराथनतर्फ चुनौती प्रस्तुत गर्दैछ । नेपालका लागि सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दै छिन् ।

गत वर्षमा चीनमा सम्पन्न १९ औं एसियाली खेलकुदमा सहभागी भएकी सन्तोषीले तयारी निकै राम्रो भइरहेको र आगामी पेरिस ओलम्पिकमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरिन् । उनले ओलम्पिक खेल्नु भनेको चुनौती रहे पनि सँगै अवसरको रूपमा पनि लिएको बताइन् ।

आफूमा भएको भयलाई जित्दै पुराना नतिजाभन्दा राम्रो गर्ने आशा रहेको सन्तोषीको भनाइ छ । नेपालले बाँकी दुई खेल टेबल टेनिस र पौडीमा चुनौती प्रस्तुत गर्दैछ । टेबल टेनिसका स्यान्टु श्रेष्ठले दक्षिण एसियाली क्षेत्रबाट छनोट चरण पार गर्दै ओलम्पिक खेल्न लागेका हुन् । उनी हाल अस्ट्रेलियामा नै तयारी गरिरहेका छन् । त्यहाँबाटै उनी ओलम्पिकमा सहभागी हुनेछन् । पौडीबाट दुई खेलाडी एलेक्सजेन्डर शाह र डुवाना लामाले प्रतिस्पर्धा गर्दैछन् ।

शाहले एक सय मिटर फ्रिस्ट्याल र डुवानाले दुई सय मिटर फ्रिस्ट्यालमा खेल्नेछन् । शाहले अस्ट्रेलिया र डुवानाले थाइल्यान्डमा प्रशिक्षण गरिरहेका छन् । यी दुवै पनि त्यतैबाट पेरिस ओलम्पिक पुग्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । नेपालमा तयारी गरिरहेका खेलाडी भने आगामी जुलाई २२ मा पेरिस जाँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *