गठबन्धनमा षड्यन्त्रको गन्ध छ, समाजवादी मोर्चाले काउन्टर दिन्छ : गंगा श्रेष्ठ (कुराकानी)

काठमाडौं । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेपालका सहअध्यक्ष तथा समाजवादी मोर्चा नेपालका कार्यदल सदस्य गंगानारायण श्रेष्ठले समाजवादी मोर्चाले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्ने बताएका छन् । कार्यदल सदस्य श्रेष्ठले समाजवादी मोर्चाले देशमा राजनीतिक परिवर्तनबाट प्राप्त भएका उपलब्धिहरूको रक्षा गर्ने बताएका हुन् ।

उनले नयाँ सत्तारुढ गठबन्धनले देशलाई पश्चगमनमा धकेल्न लागेको आरोप लगाए । उनले प्राप्त उपलब्धिहरूलाई छिन्ने धृष्टता गरे समाजवादी मोर्चाले त्यसको विरुद्धमा सडक र सदनबाट सङ्घर्ष गर्ने बताए । देशका समाजवादी, कम्युनिस्ट र वामपन्थी शक्तिहरुहरु एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको भन्दै मोर्चाले त्यसको आधार तयार गर्ने उनले बताए । उनले आगामी दिनमा मोर्चामा आबद्ध दलहरू पार्टी एकताको तहसम्म पुग्नसक्ने पनि बताए । कार्यदल सदस्य श्रेष्ठले वर्तमान सत्तारुढ गठबन्धनभित्र षड्यन्त्रका गन्धहरू देखिएको भन्दै मोर्चाले षड्यन्त्रहरूको प्रतिवाद गर्ने चेतावनी दिए ।

उनले भने, ‘मैले देख्दाखेरी दुईवटा कारणले यसको औचित्य र आवश्यकता बढी नै देख्छु । एउटा तात्कालिक हिसाबले अहिले राजनीतिक घटनाक्रम जसरी बदलिएको छ र सुन्नमा आए अनुसार दुईवटा ठूला दलहरूले असार १७ गते राति बसेर सात बुँदे समझदारी जुन बनाइएको भनेर मिडियाले जुन कुरा सार्वजनिक गरिराखेको छ, यसले कतै हामीले प्राप्त गरेको उपलब्धिहरू गुम्दै त छैन ? देशलाई पश्चगमन तर्फको यात्रामा धकेल्न त खोजेको छैन भन्नेखालको आशंका पनि छ । यदि त्यो खालको अवस्था हो भनेदेखि यो समाजवादी मोर्चाले किमार्थ प्राप्त गरेका उपलब्धिहरूलाई छिन्ने कसैले धृष्टता गर्छ भने त्यसको विरुद्धमा समाजवादी मोर्चा सडकमा, सदनमा सबै प्रकारको सङ्घर्षहरु गर्नको निम्ति ऊ तयार रहन्छ । यसर्थ पनि समाजवादी मोर्चाको तात्कालिक आवश्यकता देखिन्छ । दोस्रो कुरा यसको उद्देश्य भनेको समाजवादी शक्तिहरु, कम्युनिष्ट, वामपन्थी शक्तिहरु यो देशमा फेरि एकचोटी ध्रुवीकृत हुनुपर्छ । एकचोटी एकीकृत हुनुपर्छ भन्ने पनि हो । त्यसैले गर्दाखेरी समाजवादी मोर्चाले रणनीतिक रुपमा पार्टी एकतासम्म । र अहिले तात्कालिक हिसाबले जसरी ठुला राजनीतिक दलहरूले गठबन्धन बनाएर प्रचण्ड सरकारको नेतृत्वलाई विस्थापन गरेर जुन आइराखेको छ, त्यसभित्र प्रशस्त षड्यन्त्रका गन्धहरू देखिन्छ त्यसको प्रतिवाद गर्छ । नेपालमा भएका वामपन्थी, कम्युनिस्ट दलहरू सँगसँगै अरु कतिपय पहिचानवादी दलहरू पनि छन् । यी सबैलाई पनि हामीले समाजवादी मोर्चामा ल्याउनको लागि जोड गर्नुपर्छ । वातावरण बनाउनुपर्छ भन्ने छ ।’

नेपाल समाजवादी पार्टी औपचारिक रुपमा समाजवादी मोर्चामा समावेश भएसँगै पार्टीका एक अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका सदस्य नरहेका व्यक्तिहरू पार्टीको नाम लिई मोर्चामा गएको भन्दै विरोध जनाएका थिए । यस सम्बन्धमा प्रष्ट पार्टी सहअध्यक्ष श्रेष्ठले नेपाल समाजवादी डा. भट्टराई र महिन्द्र राय यादव नेतृत्वको दुईवटा भइसकेको प्रष्ट पारे । उनले पार्टीका दुई अध्यक्षमध्ये महिन्द्र राय यादवले नेतृत्व गरेको पार्टी मोर्चामा सामेल भएको उल्लेख गर्दै डा. भट्टराईले आफ्नो पार्टीका सदस्यहरूको हस्ताक्षर दुरुपयोग गरेर निर्वाचन आयोगमा अद्यावधिक गरेको बताए । यस सम्बन्धमा आफूहरूले आयोगमा निवेदन दर्ता गरिसकेको भन्दै पार्टीको आधिकारिकता बारेमा आयोगले स्पष्ट पार्नुपर्ने तर्क गरे ।

उनले भने, ‘अहिले नेपाल समाजवादी पार्टी दुईवटा छ । एउटा महिन्द्रराय यादवको अध्यक्षतामा । अर्को डा। बाबुराम भट्टराईको अध्यक्षतामा छ । यो विषय हामीले निर्वाचन आयोगमा उहाँहरुले किर्ते, जालसाजी ढंगबाट हामीसँग उभिएका, हाम्रो केन्द्रीय समितिमा रहेका दर्जनौँ मान्छेहरूको नाम उहाँहरूसँग सोधपुछ नै नगरीकन, जानकारी नै नदिइकन निर्वाचन आयोगमा हस्ताक्षर दुरुपयोग गरेर जसरी अद्यावधिक गर्नुभयो त्यो अद्यावधिक कानुनसम्मत छैन भन्दै हामीले निवेदन पनि गरेका छौँ । त्यो निवेदनमाथि कारबाहीको प्रक्रिया चलिरहेको छ । निर्वाचन आयोगले त्यो प्रक्रिया अगाडी बढाइराखेको छ । निर्वाचन आयोगले पहिला जवाफ दिनुपर्‍यो नि । हामीले दिएको निवेदनउपर निर्वाचन आयोगको धारणा के हो रु त्यो कुरा आउनुप-यो । त्यो आएपछि नेसपा को हो भन्ने त्यहाँ होला । यदि त्यो टुंगिएन भने न्यायालय पनि पुग्ला । त्यसकारणले हामीले फलानालाई निष्कासन गरेको भनिरहनु जरुरी ठान्दिनँ ।’

बागमती प्रदेश सकारकारका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका श्रेष्ठले प्रदेश सरकार निर्माणमा केन्द्रबाट हस्तक्षेप गर्नु नहुने बताए । प्रदेश सरकार स्वायत्त सरकार भएको उल्लेख गर्दै उनले कुन–कुन दलहरू मिलेर सरकार गठन गर्ने भन्ने निर्णयको अधिकार प्रदेशसँगै हुने बताए । केन्द्रीय गठबन्धन टुट्नासाथ सबै प्रदेशका गठबन्धनहरू फेरबदल हुँदा यसले प्रदेशको औचित्य र आवश्यकतामाथि नै प्रश्न उठाएको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *