काभा महिला नेसन्स लिगको तयारीका लागि रसियासँगको खेल महत्वपूर्ण : कप्तान शाही

काठमाडौँ । नेपाली महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले काभा महिला नेसन्स लिगको तयारीका लागि रसियाको टोलीसँगको मैत्रीपूर्ण खेल महत्वपूर्ण साबित हुने बताएकी छन् ।

नेपाल र रसियाबीच आगामी आइतबार र सोमवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा दुई मैत्रीपूर्ण खेल हुँदैछ । नेपालले काभा महिला नेसन्स लिगको तयारीका लागि यो मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मैत्रीपूर्ण खेलअगाडि शनिवार आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान अरुणा शाहीले रसिया भलिबलमा शारीरिक र रणनैतिक रूपमा पनि निकै बलियो टोली रहेकाले यो मैत्रीपूर्ण खेलबाट धेरै पक्ष सिक्न पाउने बताइन् ।

नेपाली महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले काभा महिला नेसन्स लिगको पूर्वसन्ध्यामा रसियाजस्तो टोलीसँग खेल्न पाउनु ठूलो अवसरको रूपमा लिएका छन् । उनले पनि रसियाको भलिबलको पावर गेम रहेको र रसियासँगको मैत्रीपूर्ण खेलबाट धेरै पक्ष सिक्न पाउने विश्वास व्यक्त गरे ।

प्रशिक्षक भट्टले आफूभन्दा बलियो टोलीसँग खेल्दा हार र जितभन्दा पनि टेक्निक सिक्ने अवसरका रूपमा यो मैत्रीपूर्ण खेललाई लिनुपर्ने औँल्याए । बलियो टोली बन्न कसरी खेल्नुपर्छ र के रणनीति आवश्यक पर्छ भन्ने कुरा यो मैत्रीपूर्ण खेलबाट सिक्न पाउने प्रशिक्षकको विश्वास छ ।

रसियन टोलीका प्रशिक्षक युरी मरिचेभले अन्तर्राष्ट्रिय स्तरमा कुनै पनि टोली सहज नहुने भएकाले खेल रोमाञ्चक नै हुने आशा व्यक्त गरे । साथै उनले आफ्नो टोलीमा अधिकांश नयाँ खेलाडी रहेको समेत स्पष्ट पारे । प्रशिक्षक युरीले नेपाली टोलीबारे आफू धेरै जानकार नरहे पनि टोली राम्रो नै रहेको विश्वास व्यक्त गरे ।

रसियाकी खेलाडी बाबेशिना मारियाले नेपालसँगको खेल रोचक र प्रतिस्पर्धात्मक रहने विश्वास व्यक्त गरे । उनले नेपाली खेलाडीले हार नमानी कडा मिहिनेत साथ खेल्ने आशा व्यक्त गरे ।

नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले यो मैत्रीपूर्ण भलिबल खेलले रसिया र नेपालबीच सम्बन्ध थप प्रगाढ बनाउन मद्दत गर्नुका साथै खेलाडीले पनि आफ्नो क्षमता र प्रतिभा साटासाट गर्ने अवसर पाउने विश्वास व्यक्त गरे । नेपालस्थित रसियाको दुतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको हो । १६ सदस्यीय टोलीसहित रसिया नेपाल आइपुगेको हो । रसियाको टोलीमा एमेलिना एन्जेलिना, अजनोभा अनास्तासिया, कोस्तिउकेभिच ओल्गा, क्रुक इना, लुबेन्चेन्को एना, सर्गीभा बार्बरा, स्लाउटिना नाटालिया, टिमोस्कोभा एकाटेरिना, बोलोदिना मिला, बासिना एलेना, जिनोबेबा एना र बाबेसिना छन् ।

नेपालले मैत्रीपूर्ण खेल र काभा महिला नेसन्स लिगको तयारीका लागि १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । अरुणा शाहीको कप्तानीमा दुई नयाँ खेलाडी समेट्दै टोली घोषणा भएको हो । टोलीमा अनुभवी खेलाडी सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट र उषा भण्डारी छिन् । लिबेरो शान्तिकला तामाङ, मिडल ब्लकर कविता भट्ट, सेटर प्रगति नाथ पनि टोलीमा रहेकी छिन् ।

मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलोपटक नेपाली टोलीमा स्थान बनाएकी हुन् । महत्वपूर्ण स्पाइकर प्रतिभा माली भने चोटका कारण टोलीमा छैनन् । नेपाली टोलीको मुख्य प्रशिक्षणमा जगदीश र सहायक प्रशिक्षकमा भरत यादव र रूपेश विष्ट छन् । टोलीको व्यवस्थापकमा पूर्वखेलाडी तथा संघकी सदस्य निलम बज्राचार्य रहेकी छिन् । नेपालले काभा महिला नेसन्स लिग घरेलु मैदानमा नै खेल्दै छ । नेपालसहित पाँच राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा चल्नेछ । नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *