नेपाल र चीनबीच पर्वतीय पर्यटन प्रवर्द्धनमा सम्झौता

काठमाडौँ । पर्वतीय पर्यटन प्रवर्द्धन प्रयोजनार्थ नेपाल र चीनका दुई सरोकारवाला निकायबीच सम्झौता भएको छ । नेपाल पर्वतारोहण सङ्घ र पर्वतारोहण क्षेत्रमा चीन जनसरकारको नेतृत्व गर्ने सिचाङ स्वशासित क्षेत्र खेलकुद महासङ्घबीच दुईपक्षीय सम्झौता भएको हो ।

चीनको सिचाङ स्वायत्त प्रदेशको निङची/लुलाङ सहरमा यही जुलाई ३ देखि ५ तारिखमा आयोजना भएको ‘ट्रान्स हिमालय फोरम’ का अवसरमा भएको उक्त सम्झौताबारे सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सङ्घका अध्यक्ष निमानुरु शेर्पाले उक्त सम्झौताले नेपालको पर्वतीय पर्यटनको प्रचार र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

उच्च पर्वतारोहण क्षेत्रमा दुई देशबिचको ज्ञान, सीप आदानप्रदान तथा उच्च पर्वतारोहण क्षेत्रमा हुने दुर्घटनामा तत्काल गरिनुपर्ने उद्धार, पर्वतीय वातावरण र पर्वतीय संस्कृतिको प्रवर्द्धनका लागि चीन सरकारको उच्च पदाधिकारीहरूको उपस्थितिमा भएको आफ्नो लुसाङ भ्रमणका दौरानमा दुई देशबीच चार बुँदे सम्झौता भएको हो ।

सम्झौतामा पर्वतीय उद्धारमा सहयोग र सहकार्य गर्ने, आरोहण संस्कृतिको प्रवर्द्धन, पर्वतीय वातावरणको संरक्षण र आरोहणसम्बन्धि जनशक्ति उत्पादनमा जोड दिने उल्लेख छ । यो सम्झौता सङ्घले अन्तर्राष्ट्रिय निकाय वा सरकारसँग गरेको अहिलेसम्मको ठूलो भएको सङ्घले दावी गरेको छ ।

सम्झौता अनुरूप उच्च पर्वतीय क्षेत्रमा विभिन्न कारणले हुने दुर्घटनामा प्रभावकारी उद्धार कार्य गर्न अन्य आपत्कालिन अवस्थामा गर्नुपर्ने उद्धारका लागि सहयोग र सहकार्य गरिनेछ । यसको उपलब्धि स्वरूप तत्काललाई दुई पक्षबीच ‘हाइ अल्टिच्युड माउन्टेन रेस्क्यु मेकानिजम’ स्थापना गर्ने सहमति भएको छ ।

सङ्घसहित चीन र नेपालको सरकारी प्रतिनिधिहरू समेत रहने उक्त संयत्रले उद्धारलाई थप छिटो, छरितो र प्रभावकारी बनाउनका लागि काम गर्नेछ ।

यस्तै नेपाल पर्वतारोहण सङ्घ र सिचाङ स्वाशासित क्षेत्र खेलकुद महासङ्घबीच आरोहण संस्कृतिको प्रवर्द्धन गर्ने सहमति भएको छ । विशेषगरी दुई देशको सीमा क्षेत्रमा रहेको सगरमाथा क्षेत्रको वातावरण संरक्षणलाई विशेष प्राथमिकता दिएर काम गर्ने सहमति भएको छ ।

साथै, सगरमाथा लगायतका हिमालहरूको आरोहणमा जाने आरोहीहरूलाई थप सहयोगमा सहकार्य गर्ने सहमति भएको छ । आरोहणसम्बन्धी जनशक्ति उत्पादनमा सिचाङ स्वशासित क्षेत्र खेलकुद महासङ्घले उच्च स्तरको पर्वतारोहण तालिम लिनका लागि उनीहरूका आरोहीलाई नेपाल पठाउने सहमति भएको सङ्घले जनाएको छ ।

उपयुक्त सम्झौता कार्यान्वयनका लागि चीनकोतर्फबाट सिचाङ क्षेत्र जनसरकार मातहतको सिचाङ स्वशासित क्षेत्र खेलकुद महासङ्घ र नेपालकोतर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय, पर्यटन विभाग र सङ्घको प्रतिनिधि रहने एउटा संयन्त्रको निर्माणका लागि प्रस्ताव गरिएको अध्यक्ष शेर्पाले बताए ।

उनका अनुसार नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्षको अवसरमा अर्को वर्ष दुई देशबीच संयुक्त आरोहणका लागि प्रस्ताव गरिएको र त्यसप्रति सकारात्मक प्रतिक्रिया आएको छ । विगत वर्षमा पनि दुई देशबीच नेपाल–चाइन फ्रेण्डसिप पिकको आरोहण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *