राष्ट्रपति दौडबाट पछि हटे बाइडेन, कमला ह्यारिसलाई समर्थन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले आउँदो चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने बताएका हुन् ।

राष्ट्र र पार्टी हितको लागि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताउँदै बाइडेनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतीय उम्मेदवारका रूपमा कमला ह्यारिसको नाम सिफारिस गरेको बीबीसीले जनाएको छ । आफ्नो यो निर्णयबारे सार्वजनिक जानकारी दिन यसै हप्ता राष्ट्रका नाममा सम्बोधन गर्ने पनि बाइडेनले आफ्नो सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

बाइडनले सामाजिक सञ्जालमा लेख्दै आफू राष्ट्रपति पदमा दोस्रो पटक प्रतिस्पर्धा गर्न चाहे पनि देश र पार्टीको हितका लागि उम्मेदवारी फिर्ता लिएर पूरा ध्यान बाँकी कार्यकालको जिम्मेवारीमा लगाउने बताए । अमेरिकामा चार महिनापछि राष्ट्रपति पदको चुनाव हुँदैछ ।

आउँदो राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो महिना बाइडेन र ट्रम्पबीच भएको बहसमा बाइडनको प्रदर्शन कमजोर रहेपछि डेमोक्रेटिक नेता बाइडनमाथि उम्मेदवारी फिर्ता लिन पार्टीभित्र दवाब बढेको थियो ।

डेमोक्रेटिक पार्टीका तर्फबाट अब नयाँ उम्मेदवारको प्रतिस्पर्धामा उपराष्ट्रपति कमला ह्यारिस अघि हुने भए पनि उनले पार्टीको प्राइमरी जितेर आउनुपर्ने हुन्छ । चुनाव आउन चार महिना बाँकी छँदा अब पार्टीले नयाँ छनोटको प्रकृया शुरु गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *