जो इयरफोन र चार्जर बेचेर जिन्दगी चलाउँछन्…
काठमाडौं । काठमाडौं न्यूरोडको आकाशे पुलमा हात र झोलाभरि इयरफोन, मोबाइलका चार्जर समातेर बसिरहन्छन् जुम्लाका २४ वर्षीय कमल क्षेत्री । युवावस्थामै बस दुर्घटनामा अपाङ्ग भएका कमल न्यूरोडमा इयरफोन र मोबाइलका चार्जर बेचेर जीविकोपार्जन गर्छन् ।
कमल शारीरिक रूपमा अशक्त छन् । उनको घुँडा भन्दा तलको खुट्टा छैन । उनले १९ वर्षको उमेरमै आफ्ना दुवै खुट्टा गुमाउनु पर्यो । पढाइका लागि काठमाडौंमा बस्ने कमल बिदामा घर गइरहेका बेला बस दुर्घटना हुँदा उनले दुवै खुट्टा गुमाएका हुन् ।
त्यसपछि उनको पढ्ने चाहनामा पूर्णविराम लाग्यो । र सुरु भए जिन्दगीका कठिन मोड र कष्टपूर्ण समय । विद्यार्थी हुँदा नयाँ नयाँ साथी भेट्ने कमलको विगत केही वर्षदेखि ह्विल चिअर नै साथी र सारथि बनेको छ ।
दुर्घटनामा सपना गुमाएका कमल ह्विल चिअरमा नयाँ जिन्दगी खोजिरहेका छन् । र साँझ बिहान हातमुख जोर्न गाँस र बासको लागि पैसाको जोगाड गरिहरेका छन् ।
छुट्टीमा घर जाँदा बस दुर्घटनामा सपनासँगै खुट्टा गुमाएका कमल काठमाडौं बस्न थालेको १३ वर्ष भयो । कमल पहिले पढ्थे भने अहिले ह्विल चिअरमा इयरफोन र मोबाइलका चार्जर बेचेर साँझ बिहानको गुजारा चलाउँछन् ।
‘छुट्टीमा घर जाँदा बस दुर्घटना भयो, बस हिउँमा चिप्लिँदा मेरा दुवै खुट्टा गुमे । त्यसपछि म गाउँमा बस्न सक्ने अवस्थामा रहने, गाउँमा ह्विल चिअर गुडाउन मिल्ने बाटो छैन,’उनले भने,‘त्यसपछि साथी भाइको सहयोगमा काठमाडौं आइपुगे ।’
घर जाँदा सग्ला गएका कमल फेरी काठमाडौं फर्किदा भने अपाङ्ग भएर फर्किए । काठमाडौंमा स्कुल पढ्ने कमल अब स्कुल होइन, एक संस्थाको निगरानीमा बस्न थाले । दुर्घटनामा परेपछि उनको पढाइमा पूर्णविराम लाग्यो, त्यसपछि उनी हातले मात्रै काम गर्न सकिने सिप सिक्न थाले ।
सिप सिक्नकै लागि कमल काठमाडौंबाट धादिङ गएर गुडिया, खेलौना लगायतका सामग्री बनाउन सिके । सिप सिके पनि उनले त्यो सिप व्यवहारमा उर्तान भने पाएनन् । जोरपाटीको एक जीवन केन्द्रमा बसिरहेका कमल र उनका साथीलाई संस्थाले बेवास्ता गर्न थालेपछि उनले सिकेको सिप काम लागेन । त्यसपछि उनले फुटपाथमा सामान बेच्न थालेका हुन् ।
बिहेपछि जिम्मेवारीको बोझ
अपाङ्ग कमललाई आफ्नै जीवन चलाउन गार्हो छ । कमलले आफूलाई सहायता र दुःखसुखको साथी,सारथि बनाउन आफै जस्तो अपाङ्गता भएकी युवतिसँग बिहे गरे । दुवै जना अपाङ्ग भएको करण उनीहरूले सहमतिमै बाँकी जिन्दगी काट्ने निधो गरेर बिहाबारी गरेका हुन् ।
‘कोही न कोही मान्छे चाहिने रहेछ, एक तालिममा जाँदा आफै जस्तो मान्छे भेटेँ,’ उनले भने, ‘त्यसपछि बिहे भयो र थप जिम्मेवारी थपियो ।’
बिहेपछि दुवै जना एक विदेशी संस्थाले सुरु गरेको गाब्रेनरमा काम गर्न थाले । काम र जीवन ठिकै चलिरहेका बेला उक्त परियोजनाको कार्य अवधि सकियो । गर्दै आएको काम छुट्नु र दुई जनाको जिम्मेवारी बढेपछि उनीहरूलाई खान बस्न पनि कठिन हुँदै गएको छ ।
कमलको परिवारमा कमलसँगै उनकी श्रीमती र ३ बर्षीया छोरा छन् । कमलले दिनभरि फुटपाथमा सामान बेचेर कमाएको पैसाले उनको परिवारको दैनिकी चल्दै आएको छ ।
‘घरमा पनि श्रीमती अपाङ्ग छिन् । उनको खुट्टा पनि राम्रोसँग चल्दैन,’ उनले भने,‘आफूले सक्ने काम र बच्चाको हेरचाह भने गरिरहेकी हुन्छिन् । अपाङ्ग भत्ता पनि आउँछ, तर काठमाडौंमा त्यति पैसाले पनि पुग्दैन ।’
काठमाडौंमा इयरफोन र मोबाइलका चार्जर बेचेर जीविकोपार्जन गर्ने कमल मात्रै छैनन्, उनी जस्तै सयौँ जना छन् । कमल जस्तै दोलखाका ५७ वर्षीय सोम बहादुर जिरेल पनि न्यूरोडको फुटपाथमा पानी ,चाउचाउ, बिस्कुट बचेर गुजारा चलाउँछन् । विगत तीन वर्षदेखि जिरेलले बानेश्वरदेखि न्यूरोड सम्म झोलामा दोकान बनाएर सामान बेच्दै आएका छन् ।
उनी पनि शारीरिक रूपमा अशक्त र उमेरले वृद्ध छन् । लौरीको सहताबिना हिँडडुल गर्न सक्दैनन् । तर,उनलाई यहाँका सार्वजनिक बसहरूले भने सजिलैसँगै ओहोरदोहोर गराइ दिन्छन् ।
अपाङ्ग र वृद्ध भए पनि उनलाई सरकारबाट कुनै राहत दिइएको छैन । वडा कार्यालयले उनको कागजपत्र नमिलाई दिएपछि उनी यसरी दुःख गर्दै बुढेसकालमा जीवन चलाउन बाध्य छन् ।
सरकारको उपेक्षामा परेका उनीहरूलाई काम गर्न र गुजारा चलाउन समस्या छ । फुटपाथमा पनि अपाङ्ग भएकाहरूलाई काठमाडौं महानगरपालिकाले दुख दिने गरेको उनीहरूको गुनासो छ ।
उनीहरूसँग भएका सामान खोसेर लग्ने महानगरपालिले उनीहरूलाई भने सडकमा अलपत्र पारेर छोड्ने गरेको अपाङ्गता भएका व्यक्तिहरू गुनासो गर्छन् ।
सरकारले अपाङ्ग भएका नागरिकको हकहित र उनीहरूको उद्धारमा आवश्यक नीति र कानुन नबनाउँदा विभिन्न समस्या भोग्दै आएका छन् । सरकारले उनीहरूका लागि बनाएका नीति र कानुन पनि प्राप्त नहुँदा उनीहरूले पाउने सेवा सुविधाबाट पनि बञ्जित छन् । यसतर्फ सरकारको, स्थानीय निकायको र सम्बन्धित सबैले ध्यान दिन आवश्यक छ ।