आइएमई पे र एडुसन्जाल बीच एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता
काठमाडौँ । आइएमई पे र शैक्षिक पोर्टल, एडु सन्जाल बीच एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ । यी दुई संस्थाबिच भुक्तानी तथा अन्य अफरहरूको साझेदारी भएको हो ।
साझेदारी पश्चात् पहिलो दुई सय विद्यार्थीहरूले आइएमई पे एप मार्फत एक रुपैयाँमा एडु सन्जालले प्रदान गर्दै आएको एलएमएस–बेस्ट सिम्याट कोर्समा भर्ना हुन सक्ने आइएमई पेले जनाएको छ ।
यसको अतिरिक्त एडु सन्जालबाट प्राप्त हुने रेफरल कोड प्रयोग गरी आइएमई पे एपमा साइन–अप गरेका विद्यार्थी प्रयोगकर्ताहरूले यस एपमा सञ्चालन हुने ‘आइएमई क्वीज’ नामक साप्ताहिक प्रतियोगितामा भाग लिन र प्रोमोकोड जित्ने मौका पनि प्राप्त गर्न सक्ने छन् ।
साथै आउने दिनहरूमा आइएमई पे एपमा नयाँ अनबोर्ड हुने विद्यार्थीहरूलाई लक्षित गरी आइएमई पे एप मै विभिन्न अफर र प्रतियोगिताहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । यस सम्झौताबाट डिजिटल प्लेटफर्म मार्फत शिक्षाको लाभ उठाउन सकिने र डिजिटल वालेटको प्रयोगको लागि थप प्रयोगकर्ताहरू आकर्षण गर्न मद्दत मिल्ने जनाएको छ ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।