मैत्रीपूर्ण भलिबल : रसियासँगको दुवै खेलमा नेपालको हार

काठमाडौँ । नेपालले अनुभवी रसियासँगको दुवै मैत्रीपूर्ण भलिबल खेलमा हार व्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार भएको दोस्रो खेलमा नेपालले सुधारिएको प्रदर्शन गरे पनि पाहुना टोली रसियासँग ३–० ले हार व्यहोरेको हो ।

काभा महिला भलिबल नेसन्स लिगको तयारीका लागि नेपालले बलियो टोली रसियासँग मैत्रीपूर्ण खेल पनि एक सेट पनि जित्न सकेन । पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपालले सोझो सेटमा नै गुमाएको थियो । दोस्रो खेलमा नेपालले पहिलो सेटमा भने राम्रो प्रदर्शन गर्न सकेन र पाहुना टोली पूर्णरूपमा हाबी भयो ।

पहिलो सेटमा तालमेल गुमाउँदा नेपालले २५–१४ ले सहजै सुम्पियो । तर दोस्रो र तेस्रो सेटमा भने नेपालले डिफेन्समा सुधार गर्दै पाहुना टोलीलाई चुनौती दियो । यद्यपि दोस्रो सेट रसियाले २५–२३ ले आफ्नो बनायो । तेस्रो सेटमा पनि नेपालले डिफेन्समा सुधारिएको प्रदर्शन गर्दै रसियामाथि दबाबमा बनायो ।

एक समय सेटमा अग्रता लिएपछि रसियाका प्रशिक्षकले दोस्रो रोजाइका खेलाडीलाई मैदान पठाए । तर त्यसको फाइदा लिँदै नेपालले खेलमा फर्कने संकेत गरेपछि रसियन प्रशिक्षकले आफ्नो महत्वपूर्ण खेलाडीलाई पुनः मैदान पठाए र यो सेट रसियाले २५–२२ ले सहजै आफ्नो बनायो ।

शारीरिक रूपमा बलियो रसियाले पहिलो खेलमा नेपाललाई २५–१७, २५–१९ र २५–१९ ले हराएको थियो । नेपालले काभा महिला नेसन्स लिग घरेलु मैदानमा नै खेल्दै छ । नेपालसहित पाँच राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा चल्नेछ । नेपालसँगै इरान, भारत, श्रीलंका र मालदिभ्सले प्रतियोगिता खेल्नेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *