पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको पार्टी मुख्यालयमा छापा

इस्लामावाद । सैन्य समर्थित सरकारले राजनीतिक आन्दोलनमा प्रतिबन्ध लगाउने वाचा गरेको एक हप्तापछि पाकिस्तान प्रहरीले सोमबार कारागारमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी मुख्यालयमा छापा मारेको छ ।

खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) को मुख्यालयलाई अधिकारीहरूले सिल गरेको र पार्टीका धेरै कार्यकर्तालाई प्रतीक्षा भ्यानमा लिएर गएको घटनास्थलमा एएफपीका एक पत्रकारले देखेका छन् ।

मिडियामा बोल्ने अधिकार नभएको भन्दै नाम उल्लेख नगर्ने शर्तमा इस्लामाबाद प्रहरीका एक अधिकारीले पार्टीका संस्थापक सदस्य र प्रेस विभागका प्रमुख रउफ हसनलाई गिरफ्तार गरिएको जानकारी दिए ।

ब्यारिस्टरसमेत रहेका पार्टीका अध्यक्ष गौहर अली खानले स्थानीय सञ्चारमाध्यम र पीटीआईले सुरुमा रिपोर्ट गरेपछि हसनसँगै प्रहरी चौकीमा गएपछि आफूलाई पनि गिरफ्तार गरिएको बताए ।
“म रउफ हसनसँग त्यहाँ थिएँ, उहाँ हाम्रा वरिष्ठ हुनुहुन्छ र म उहाँका लागि त्यहाँ हुनुपर्थ्यो”, उनले भने, “हामी गिरफ्तारीका लागि सधैँ तयार छौँ ।”

पछिल्लो दुई महिनामा पीटीआईका कम्तीमा १० सदस्य वा उनीहरूको आफन्तलाई गिरफ्तार गरिएको हसनले शनिबार बताएका थिए । उनीहरू ‘कुनै निशान’ बिना ‘गायब’ भएको उनले बताए । “तीमध्ये सात जना मेरो विभागका मात्र छन् जसलाई हामी चुप लागेर बस्न नमान्दा पङ्गु बनाउन चाहन्छन्”, उनले भने ।

सरकारका सूचनामन्त्रीले गत साता पीटीआईमाथि प्रतिबन्ध लगाइने बताएका थिए । त्यसको केही दिनपछि सर्वोच्च अदालतले पार्टीको पक्षमा महत्त्पूर्ण फैसला सुनाएपछि सरकारलाई ठूलो झट्का लागेको थियो ।

पूर्वप्रधानमन्त्री खान करिब एक वर्षदेखि कारागारमा रहेका छन् तर यसै महिना इस्लामावादका एक न्यायाधीशले उनको अवैध विवाहको सजायलाई उल्ट्याइदिएका छन् । सर्वोच्च अदालतले पीटीआईलाई राष्ट्रियसभामा सबैभन्दा ठूलो पार्टी बनाउने कदमका रूपमा थप संसदीय सिटहरू प्रदान गरेको छ ।

गठबन्धन बनाएर फेब्रुअरीको निर्वाचनपछि संसदीय बहुमत हासिल गरेका प्रधानमन्त्री शहबाज शरिफको सरकारलाई यी दुवै मामिलाले ठूलो आघात पुगेको मानिएको छ ।

पाकिस्तानको मानवाधिकार आयोगले पिटिआईमाथि प्रतिबन्ध लगाउने प्रयासलाई ‘लोकतान्त्रिक मानकका लागि ठूलो प्रहार’ भन्दै यसलाई ‘राजनीतिक उदासीनताको गन्ध’ भनेको छ । आयोगका अध्यक्ष असद इकबाल बटले विज्ञप्तिमा भन्नुभएको छ, “यसलाई अगाडि बढाइयो भने यसबाट गहिरो ध्रुवीकरण र राजनीतिक अराजकता तथा हिंसाको प्रबल सम्भावनाबाहेक अरु केही हासिल हुनेछैन ।”

सत्तामा फर्किनबाट रोक्न आफूमाथि धेरै मुद्दा दर्ता गरिएको बताउने पूर्वप्रधानमन्त्री खान विरोध प्रदर्शन र भ्रष्टाचार भड्काएको आरोपमा कारागारमा रहेका छन् ।

खानलाई हिरासतमा राख्ने कुनै आधार नभएको र यसको उद्देश्य उनलाई राजनीतिक पदका लागि अयोग्य घोषित गर्नका लागि थियो जस्तो देखिएको’ संयुक्त राष्ट्रसङ्घका विज्ञहरूको एक प्यानलले यसै महिना बताएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *