मिराज इन्स्चिट्युटमा बेकरी तथा केक कला प्रदर्शनी सम्पन्न, विद्यार्थीहरूले बनाए ठुलो केक

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको मिराज इन्स्टिच्युट फर भोकेसनल एजुकेसन एन्ड रिसर्चले अवसरमा वृहत् बेकरी तथा केक कला प्रदर्शनी सम्पन्न गरेको छ ।

गुरु पूर्णिमाको अवसरमा मिराज ईन्स्टिच्युटमा कार्यरत प्रशिक्षार्थीहरूले तयार पारेको केक र अन्य बेकरी आइटमहरू आफ्नै कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी कला प्रदर्शनी मार्फत सार्वजनिक गरेको हो ।

विद्यार्थीहरूकै समन्वयमा आयोजित प्रदर्शनीमा बेकरी तथा केक दुवैतर्फका विद्यार्थीहरूले आ–आफ्नो कला देखाउँदै बेकरी र केकका विभिन्न परिकारहरू तयार पारेका थिए । सोही क्रममा एउटा ठुलो केक पनि तयार पारिएको थियो । नेपालको नक्सा अंकित उक्त केकमा नेपालकै प्राकृतिक, सांस्कृतिक विविधताहरू प्रदर्शन गर्नुका साथै समसामयिक विषयहरूको पनि चित्रण गरिएको थियो ।

उक्त केक नेपालमा बनेका ठुला केकहरूमध्येको एक भएको दाबी गरिएको छ । विद्यार्थीहरूले बनाएको उक्त केक करिब २०० पाउन्डको भएको बताइएको छ । उक्त केक विद्यार्थी तथा अतिथिहरूलाई बाँडिएको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर–६ का अध्यक्ष भुवन लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिटिइभिटीका उपनिर्देशक खेमराज पोखरेल, नेपालका सिनियर सेफ गोविन्द नरसिंह केसी, भ्वाइस अफ सेफका होस्ट विक्रम गिरी, पाउरोटी व्यवसायी महासंघका अध्यक्ष कमलराज अधिकारी लगायतले विद्यार्थीलाई हौसला र ऊर्जा सहितको मन्तव्य दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुवन लामाले यस बेकरी तथा केक प्रशिक्षणले विशेष किसिमको सीप र क्षमताको विकास गर्नमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । मिराज ईन्स्टिच्युट र यसका संचालकको काम उत्कृष्ट रहेको भन्दै उनले विद्यार्थीको कलाको समेत उच्च प्रशंसा गरे ।

उनले यस वर्ष पनि वडाको बजेटबाट बेकरीसँग सम्बन्धित तालिमका लागि बजेट सहित नमुना कार्यक्रमहरू आउन लागेको पनि जानकारी दिए । लामाले सीप सिकेपछि विदेश जानैपर्ने मान्यता त्यागेर स्वदेशमै केही गर्न पनि युवाहरूलाई आग्रह गरे ।

मिराज ईन्स्टिच्युटका संचालक बबिता दुलालको सभापतित्वमा भएको कार्यक्रममा यो कार्यक्रम गर्नुको उद्देश्य माथि प्रकाश पार्ने काम योगेश बस्ताकोटीले र स्वागत गोमा कार्की एवं संचालन प्रदीप सापकोटाले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *