महिला एसिया कप : नेपाललाई भारतले दियो १७९ रनको चुनौती
महिला एसिया कप २०२४ मा नेपालले भारतबाट १७९ रनको चुनौतीपुर्ण लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा मात्रै ३ विकेट गुमाउँदै १७८ रन बनाएको हो।
नेपालका लागि दुई विकेट सीता राना मगरले लिँदा एक विकेट कविता जोशीका नाममा रह्रयो। १४ औं ओभरमा पहिलो विकेट लिएको नेपालले दोस्रो विकेट १६ औं ओभरमा लिएको थियो।
१४ औं ओभरको अन्तिम बलमा सीता राना मगरको बलमा दयालन हेमलतालाई रुबिना क्षेत्रीले क्याच आउट गराएकी थिइन्। हेमलताले ५ चौका र एक छक्काको मद्दतमा ४७ रन बनाइन्।
अर्की ओपनर शफली वर्मा १६ औं ओभरमा सीताकै बलमा विकेट किपरको हातबाट स्टम्पिङ भइन्। वर्माले ४८ बलमा ८१ रन बनाइन्। उनले १२ चौका र एक छक्का प्रहार गरिन्।
कविताले सजीवन सजनालाई १० रन बनाउँदा एलबीडब्लु धरापमा पारिन्। उनले १२ बलमा मात्रै एक चौका प्रहार गरिन्।
जेमिमाह रोड्रिग्ज २८ र ऋचा घोष ६ रनमा नटआउट रहिन्।