बागमती र लुम्बिनीमा टुंगियो नाम, को-को बन्दैछन् मन्त्री ? (सूचीसहित)

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाले शपथ ग्रहण गर्दैछन् । बिहान ११ः११ बजे लामाको शपथ ग्रहण प्रदेश प्रमुख कार्यालय हेटौंडामा हुने तय भएको हो ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

मुख्यमन्त्री लामाले आजै कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले जानकारी दिए ।

को-को बन्दैछन् मन्त्री ?
बागमती प्रदेश सरकारमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको टुङ्गो लागेको छ । एमाले संसदीय दलले सरकारमा जाने मन्त्रीहरुसहित मन्त्रालयको टुंगो लगाएको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए ।

एमालेले प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय, सुकमाया तामाङले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

मन्त्रालय बाँडफाँटअनुसार कांग्रेसले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सामाजिक विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउने भएको छ । कांग्रेसले भने अझै मन्त्रीको टुंगो लगाउन सकेको छैन ।

उता लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पनि शपथ लिँदै छन् । उनले बिहान साढे ८ बजेपछि शपथ लिने तय भएको हो ।

नयाँ सरकार बन्ने भएसँगै सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रीहरूको नाम पनि टुंगाएका छन् । एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेमबहादुर सारु मगर र दाङकी सीता शर्मा चौधरी मन्त्री बन्ने पक्का भएको छ ।

कांग्रेसले पनि मन्त्री बन्नेहरूको नाम पनि टुंगो लगाएको छ । कांग्रेसबाट ५ जना मन्त्री बन्दै छन्, जसमा बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाइने भएको छ ।

मन्त्रीहरूलाई कुन कुन मन्त्रालय दिने भन्ने टुंगिन बाँकी रहेकाले सबैलाई बिना विभागीय मन्त्रीको शपथ आजै खुवाउने तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *