सुशासनको रेकर्ड कायम गर्दैथियौं, बिचौलियाको पहलमा सरकार ढालियो : प्रचण्ड

काठमाडाैं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेपछि सरकार ढालेको आरोप लगाएका छन् । बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले पनि पार्टीको नेतृत्वमा हाम्रो नेतृत्वमा भएको सरकारले सुशासनको पक्षमा केही गम्भीर पहल गर्दै थियो । यो सबैलाई थाहा भएकै कुरा हो । सामाजिक न्यायको पक्षमा पनि देशभित्र र देश बाहिर रहेका नेपाली युवाहरुको पक्षमा उनीहरुलाई सामाजिक सुरक्षामा आवद्ध गर्ने र उनीहरुका हक हितको पक्षमा केही महत्वपूर्ण निर्णय हामीले गरेका थियौँ । देशभित्र पनि सामन्ती अत्याचारका अवशेषहरु मिटरब्याज जस्ताका बिरुद्ध कानूनी र व्यवहारिक संघर्षका रेकर्डहरु बनाएकै थियौँ । अर्थतन्त्र अफ्ठ्यारो स्थितिमा हुँदा हुँदै पनि हामीले धेरै मेहनत गरेर बिस्तारै त्यसलाई लयमा ल्याउने कोशिस गरेका थियौँ र लयमा आउँदै पनि थियो । अझ मुख्य रुपमा सुशासनको पक्षमा नेपालको इतिहासमा नै पहिलो पटक सरकारको तर्फबाट दूरगामी पहल भएपछि एउटा वर्ग, तप्का, भ्रष्टाचारमा लिप्त हुने तत्वहरु तिनीहरुको लागि त्यो सह्य भएन । सुशासनको पक्षमा माओवादी नेतृत्वको सरकारले खेलिरहेको भुमिका वा सामाजिक न्यायको पक्षमा खेलिरहेको भुमिका, समृद्धि, अर्थतन्त्रमा सुधारको निम्ति खेलिरहेको भुमिका सह्य भएन र निकै षड्यन्त्रमुलक ढंगले, निकै अपारदर्शी ढंगले र हामीले भन्ने गरेका छौँ, आम जनतामा पनि यो कुरा मोटामोटी स्थापित छ, विचौलियाहरुको पहलमा नै नयाँ गठबन्धन बनाइयो । उनीहरको हितमा नै यसले काम गर्दछ । हामी सरकार छोड्दा पनि तपाईंहरुले देख्नुभयो, आफ्ना कुरालाई सशक्त रुपले संसदमा राखेर हामी वैचारिक, राजनितिक र सरकारबाट गर्नसक्ने कुराहरु गर्दागर्दा विजेताको रुपमा बाहिर आयौँ । जो सरकारमा गएका छन, उनीहरु पराजित मानसिकतामा छन् । उनीहरु रक्षात्मक र हामी आक्रामक ढंगले आफ्ना कुरा राख्ने स्थिति बनेको छ । आम जनताले पनि यो भ्रष्टाचारीलाई सरकारले कारबाही गर्दै गरेर दुई जना पछिल्लो चरणमा गिरफ्तार भएपछि नै यो सरकार बनेको भन्नेकुरा जनताले बुझेको छ । हाम्रो लागि राम्रो आधार बनेको छ, जनतामा जाने । त्यसलाई संगठनमा बदल्नु छ ।’

अध्यक्ष दाहालले आफू नेतृत्वको सरकारको कामबाट आम जनतामा निराशा नरहेको जिकिर गरेका छन् । उनले जनताले संविधानबाट प्राप्त गरेको उपलब्धि उल्ट्याउने खतरा रहेको पनि बताए । प्रतिगामी कदमको खतरा अझै रहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *