सरकारले उच्च मनोबलका साथ कूटनीतिक सम्बन्धलाई अघि बढाउनु पर्छ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र सम्बन्धलाई उच्च मनोबलका साथ अघि बढाउन सरकारलाई सुझाव दिएका छन् ।

बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष नेपालले देशको हितको रक्षाका लागि सरकारले उच्च मनोबलका साथ परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने तर्क गरे । परराष्ट्र मामिलामा नेपालको शक्ति भनेको गौरवपूर्ण इतिहास भएको उल्लेख गर्दै उनले त्यसैलाई अवलम्बन गरेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराए ।

अध्यक्ष नेपालले अरुले स्वीकार गर्ने र नेपालले पनि त्यसमा बलियोसँगले राख्नसक्ने विषयहरूको पहिचान गरेर नेपालले परराष्ट्र सम्बन्धलाई भरपर्दो बलियो बनाउन सक्नुपर्ने बताए ।

उनले भने ‘परराष्ट्र मामिलामा हामीसँग भएको शक्ति भनेको हाम्रो गौरवपूर्ण इतिहास हो । त्यो इतिहासले पनि हाम्रो मनोबललाई उच्च बनाउँछ । त्यसकारण उच्च मनोबलका साथ नै जानुपर्ने, अघि बढ्नुपर्ने, आफ्नो देशको हितको रक्षाका लागि अघि बढ्नुपर्ने आवश्यकता पर्छ । तर यहाँ हामीसँग कूटनीतिक कौशलता भएन भने, राम्रो तयारी गर्ने काम गर्न सकेनौ भने हामी डिल गर्न सक्दैनौँ । विश्वमा १९१ देशसँग सम्बन्ध बढाउनुपर्नेछ ।’

अध्यक्ष नेपालले सरकारले विभिन्न देशमा रहेका नेपालीहरूलाई सहज हुनेगरी कूटनीतिक नियोगहरूको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *