ओलम्पिक फुटबल

मोरक्को र अर्जेन्टिना खेल चलिरहँदा विवाद, २-१ ले हार्‍यो अर्जेन्टिना

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलको पहिलो खेलमै विवाद भएको छ । बुधबार साँझ खेल निकै रोचक भइरहेको बेला अर्जेन्टिनाले अन्तिम क्षणमा गरेको गोललाई भारले मान्यता नदिएपछि विवाद बढेको हो ।

अर्जेन्टिनाका क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्ज्युरी समयको १६औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसलगतै दर्शकदीर्घाबाट मैदानमा बोतल फ्यालिएको थियो र केही दर्शक मैदानमा प्रवेश गरेका थिए । अवस्था नियन्त्रणभन्दा बाहिर जाने स्थिति बनेपछि रेफ्रीले खेल सकेको निर्णय गरेका थिए र दुवै टिमले मैदान पनि छोडेका थिए । तर खेल भने सकिएको थिएन ।

खेल करिब २ घण्टा अवरुद्ध रह्यो । दर्शकले हुलदंगा गरेपछि दुई घण्टापछि खाली रंगशालामा खेलको बाँकी ३ मिनेट समय खेलाइने निर्णय गरियो । बिना दर्शक बाँकी समय खेल खेलाइयो र मोरक्को यस खेलमा २-१ ले विजयी भएको घोषणा गरियो ।

खेलपछि अर्जेन्टिनी प्रशिक्षक ज्याभिएर मास्केरानाले यो निर्णयले फुटबलकै बेइज्जत भएको र खेललाई सर्कस बनाइएको प्रतिक्रिया दिएका छन् । अर्जेन्टिनाका सुपरस्टार खेलाडी लियोनेल मेसीले पनि यस घटनामा आफ्नो प्रतिक्रिया दिँदै ‘अविश्वसनीय’ भनेका छन् । अब अर्जेन्टिनाले समूह बी मा शनिबार इराकविरुद्ध खेल्ने तालिका छ भने मोरक्कोले सोही दिन युक्रेनको सामना गर्दै छ ।

बुधबारनै सम्पन्न अन्य खेलमा समूह डी मा जापानले पाराग्वेलाई ५-० ले समूह सी मा स्पेनले उज्वेकिस्तानलाई २-१ ले पराजित गर्‍यो भने इजिप्ट र डोमिनिक रिपब्लिकले गोलरहित बराबरी खेले । यस्तै समूह बी मा इराकले युक्रेनलाई २-१ ले पराजित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *