धेरै पक्षमा सुधार आवश्यक छ- कप्तान इन्दु बर्मा

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले एसिया कपजस्तो ठूला प्रतियोगिता खेल्न धेरै पक्ष सुधार गर्नुपर्ने बताएकी छन् ।

श्रीलंकामा जारी महिला एसिया कपमा खेलेर स्वदेश फर्कने क्रममा कप्तान इन्दु भारत र पाकिस्तानजस्तो बलिया टोलीसँग खेल्न धेरै पक्षमा सुधार आवश्यकता रहेको औँल्याएकी हुन् ।

एसिया कपमा ऐतिहासिक सफलता निकाले पनि ठूला टोलीविरुद्ध जित निकाल्न ब्याटिङ, बलिङ र फिल्डिङमा सुधार गरे भारत र पाकिस्तानसँग जित्न सकिने बताए । महिला ट्वान्टी–२० एसिया कपमा सहभागिता जनाएको नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यवाहक सदस्यसचिव अञ्जन धमला र सदस्य प्रकाशकुमार कुसारीले स्वागत गरेका थिए ।

प्रतियोगितामा तीन खेल खेलेको नेपालले एक जित र दुई हारको नतिजा निकाल्यो । पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको थियो ।

एसिया कप इतिहासमा नेपालको यो पहिलो जित हो । जसरी नै युएइसँग जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको र सफल पनि भएको नेपालकी कप्तान इन्दुले बताइन् । पाकिस्तानसँग पनि राम्रो खेल्दै सेमिफाइनलमा पुग्ने लक्ष्य राखे पनि सोचेअनुरूप हुन नसकेको उनको भनाइ छ । तर टेस्ट राष्ट्रसँग खेल्दा नेपालसँग पनि सम्भावना छ भन्ने प्रमाणित भएको कप्तान इन्दुको विश्वास छ ।

नेपालले पाकिस्तानसँग नौ विकेट र भारतसँग ८२ रनको हार व्यहोरेको थियो । नेपालले फ्लड लाइटमा खेल्दा फिल्डिङ केही गल्ती गरेको थियो । तर फ्लड लाइटका कारण धेरै समस्या नभएको नेपाली टोलीकी कप्तान इन्दुले बताइन् । भारत र पाकिस्तानजस्तो राम्रो टोलीसँग खेल्दा दबाबका बीच कसरी खेल्ने लगायत धेरै कुरा पनि सिकेर आएको उनले बताएकी छन् ।

तेस्रो पटक एसिया कप खेलेको नेपालले ऐतिहासिक सफलता निकाले पनि समूहचरण पार गर्न सकेन । एसिया कपको इतिहासमा आफ्नो कुल ११ खेलमा एक जितसहित नेपाल फर्किएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *