उपमहानिर्देशक पाण्डे भन्छन्-

पुरानो जहाज दुर्घटना हुन्छ भन्ने भाष्य गलत (अन्तर्वार्ता)

काठमाडौँ । बुधवार काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन-एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । बिहान ११ः११ बजे दुर्घटनामा परेको उक्त जहाजमा १९ जना यात्रुहरू सवार थिए । जसमा सर्वसाधारण यात्रु थिएनन् । विमानमा सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरूको टोली थिए । विमान चालक मनिष रत्न शाक्यको भने उद्धार गरिएको थियो । तर अन्य १८ जना यात्रुहरूले भने सो विमान दुर्घटनामा ज्यान गुमाए ।

गत वर्ष पनि काठमाडौँबाट पोखरा आउँदै गरेको यति एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो । उक्त विमान दुर्घटनामा ७२ जनाले ज्यान गुमाउन पुगेका थिए ।

यसरी पटक पटक विमान दुर्घटनामा धेरै नेपालीहरूले बिनाकारण ज्यान गुमाउनु परेको छ । जसकारण विश्वमा र नेपालमै पनि नेपाली विमान सेवाको सुरक्षालाई लिएर विभिन्न प्रश्न उठ्ने गरेको छन् । यसैबीच साउन ९ गते बुधवार भएको सौर्य एअरलाइन्सको विमान दुर्घटनामा पनि धेरै सर्वसाधारणहरूले आलोचना र गुनासो पोखेका छन् ।

उनीहरू मध्ये धेरैले नेपाल सरकारले जानाजान ३०-४० वर्ष पुरानो भइसकेको जहाज उडानका लागि अनुमति दिएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै दुर्घटना हुँदा पनि समयमै उद्धार नगरिएको भनेर सर्वसाधारणले गुनासो पोखिरहेका बेला नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेले भने यस विषयमा खण्डन गर्दै आपत्ति जनाएका छन् ।

सौर्यको विमान दुर्घटनाका कारण के हो ? 
उनले  सौर्य एअरलाइन्सको विमान दुर्घटनाका कारण अहिले सबैको खोजीको विषय भएको बताए । उनले दुर्घटना जाँच आयोगले उक्त कारणको खोजी गरिरहेको बताए । आयोगले सबै पक्षको अध्ययन गरेर मात्र दुर्घटनाको कारण पत्ता लाग्ने उनको भनाई छ ।

नेपाल सरकारले सौर्य एअरलाइन्सको विमान दुर्घटनाका कारणको खोजी गर्न पाँच सदस्यीय दुर्घटना छानबिन आयोग गठन गरी ४५ दिन भित्र रिर्पोट बुझाउन निर्देशन दिएको छ । त्यसपछि मात्रै दुर्घटनाको वास्तविक कारण पत्ता लाग्ने उनको भनाई छ ।

जहाज कहिल्यै पुरानो हुँदैन !
उपनिर्देशक पाण्डेले नेपालमा भौगोलिक, मौसम, यन्त्र उपकरण र मानवीय त्रुटिका कारण विमान दुर्घटना हुने गरेको बताए । उनले जहाज आफै एक उपकरण भएको बताए । उनले भने ‘जनमानसमा विमान पुरानो भएर दुर्घटना भयो भन्ने छ, यो होइन ।’

उनले पुरानो भएर दुर्घटना भयो भन्नेकुरा गाडी, बस, स्कुटर, मोटरसाइकल जस्ता मेसिनहरू वा अन्य क्षेत्रमा लागु हुने तर जहाजको क्षेत्रमा त्यो भनाई लागु नहुने बताए । उपनिर्देशक पाण्डेले जहाज कहिल्यै पुरानो नहुने बताए । उनले उडान योग्य छन् कि छैनन् भन्नेकुरा महत्त्वपूर्ण भएको बताए ।

उनले जहाज १०० घण्टा, २०० घण्टा वा ४०० घण्टा, फरक फरक जहाजको फरक फरक समयावधिमा प्राविधिक परीक्षण हुने गरेको बताए ।  उनले भने ‘जहाजमा ती सम्पूर्ण कुरा नयाँ नै हुन्छन् । जहाजको आयु लाइफ भन्दा पनि उडान योग्य जहाज हो कि होइन भन्ने संयन्त्र हुन्छ । त्यो नयाँ पुरानो भन्ने मानसिकता राख्नु परेन ।’

उनका अनुसार विमान भित्र मेसिनरी पार्टपुर्जाहरू त्रुटिपूर्ण छ भने नयाँ  जहाज पनि उडान योग्य हुँदैन । उनले ५०, ७० वर्ष पुरानो जहाज पनि संसारमा उडिरहेको बताए । ‘त्यसो हुँदा जहाज कहिल्यै पनि पुरानो हुँदैन जबसम्म त्यसको मर्मत, संहार जारी रहन्छ,’ उनले भने ।

नेपालमा हवाई उडान सम्बन्धी नीति
उपमहानिर्देशक पाण्डेले नेपालको हवाई नीति २०६३ अनुसार नेपालमा २० वर्षभन्दा पुराना जहाजहरू भित्र्याउन नपाइने बताए । नेपाल ल्याइसकेका जहाजहरू कतिवर्ष पुरानो भन्दा पनि उडान योग्य छन् कि छैनन् भनेर जहाजको मूल्यांकन गरिने उनको भनाई छ ।

जहाज उडान योग्य छ कि छैन भनेर कसरी थाहा पाउने ? 
‘हामी कहाँ प्रत्येक दिन यो जहाज उडान योग्य छ भनेर सर्टिफाइ लेखेर दिएपछि मात्र पाइलटले जहाज उडाउँछ ।’ उपमहानिर्देशक पाण्डेले भने ।  उनले हरेक दिन बिहान इन्जिनियरले ‘यो जहाज उड्न लायक छ, केही भयो भने म जिम्मेवार छु’, भनेर लेखेर नदिएसम्म पाइलटले जहाज नउडाउने बताए ।

उनले जहाज उडान भर्नका लागि दोस्रो नियममा पाइलट जहाज उडान योग्य हुनुपर्ने, जहाजमा बसेका यात्रुहरू उडान योग्य हुनुपर्ने बताए ।  यसरी जहाज सुरक्षित छ भन्ने पूर्ण विश्वस्त नभईकन उडान गर्न नहुने जानकारी दिए । ‘पाइलट पूर्ण विश्वस्त नभएसम्म उडान गर्न हुँदैन भन्ने हाम्रो नियम छ,’ उनले भने, ‘अनि मात्र जहाज उड्छ नेपालमा । किनकि पाइलट आफै जहाजमा पस्दा, उसको पनि ज्यानको कुरो छ ।’

उपमहानिर्देशक पाण्डेले जहाजका मेसिनरीको बारेमा पाइलटलाई थाहा नहुने बताए । उनले यसका लागि जहाजका इन्जिनियर प्रत्येक दिन बिहान, उड्नु अगाडि नै जहाज उड्न योग्य छ भनेर परीक्षण र प्रमाणित गर्ने बताए । उनले भने ‘अनि मात्र उड्न पाउँछ ।’

उनले इन्जिनियरहरूले सही तरिकाले चेक गरेको छ कि छैन, योग्यता हो कि होइन, त्यसको नियमन नागरिक उड्डयन प्राधिकरणले गर्ने बताए ।  उनले भने ‘नागरिक उड्डयन प्राधिकरणले इन्जिनियरहरूको दक्षता र लाइसेन्स अनुगमन गरेर लाइसेन्स दिएको हुन्छ । लाइसेन्सको अनुगमन गर्छ । दक्षता छ कि छैन त्यसको पनि परीक्षण गरिराख्छ ।’

उनले दक्ष प्राविधिकले प्रमाणित गरिदिएको जहाज उडान योग्य हुने बताए । त्यसमै विश्वस्त भएर पाइलटले जहाज उडाउने उनको भनाई छ ।

साथै उनले उडानभन्दा अगाडि मौसमको अवस्था ठिक छ कि छैन भनेर ट्राफिक कन्ट्रोल सिस्टमले निर्देशन दिने बताए । सबै अवयवहरू उड्नु अगाडि, उड्ने बेलामा, बाटोमा हुँदा वा अवतरण गर्दाखेरि हरेक फिल्डबाट विभिन्न निकायहरूले निगरानी गरिराख्ने बताए । उनले भने ‘तर हिजोको घटना चैँ दुर्भाग्यपूर्ण घटना भयो ।’

जहाज परीक्षणको समयावधि 
उपमहानिर्देशक पाण्डेका अनुसार जहाजका निर्माण कम्पनीहरूले नै खरिदकर्तालाई जहाज परीक्षण गराउने समय वा तालिका तोकिदिएको हुन्छ । उक्त तालिका अनुसारै विमानको परीक्षण गराइन्छ ।

फरक फरक विमानको फरक फरक तालिका हुने उनले बताए । उनले भने ‘गाडी, स्कुटर, बस किन्दा गाडीको कम्पनीले नै प्रत्येक ५०० किलो मिटर हिँडेपछि पहिलो पटक सर्भिसिङ्ग गर्नुपर्छ भनेर सिकाएको हुन्छ । त्यो सामान्य मोटरसाइकलहरूमा त हुन्छ नै, यस्तै प्रकारले अझ विस्तृत रूपमा जहाज बनाउने कम्पनीले मर्मतको पुरा विवरणहरू दिएको हुन्छ ।’

उनले निश्चित उडान भरेपछि जहाजको पार्टपुर्जा बिग्रोस् वा नबिग्रोस् जसरी  पनि फेर्नैपर्ने बताए । ‘हेर्दाखेरि राम्रै छ ओहो चलिहाल्छ, होइन । जस्तो १०० घण्टा चलेपछि एउटा पार्ट फेर्नुपर्ने, २०० घण्टा चलेपछि अर्को पार्ट फेर्नुपर्ने, यस्तो नियमहरू हुन्छन्, कुनलाई कतिकति फेर्ने भन्ने कुरा स्फेसफिक जहाजको , स्फेसफिक नै हुन्छ । यति हावरको फरक भन्ने हुन्छ । हिजोको जहाज पनि रुटिङ चेकअपको लागि जाँदै थियो’ उनले भने ।

सौर्यको विमान दुर्घटनामा रेस्क्युमा ढिलो किन ?
पाण्डेले यस्ता खालका इमर्जेन्सीहरूमा उद्धार गर्नका लागि विमानस्थल आपतकालीन योजना पहिल्यै ड्राफ्ट भएको बताए । उनले विमानस्थलमा कार्यरत सबै निकायहरूलाई त्यस योजनाका बारे अवगत भएको बताए । निश्चित अवधिभित्र निश्चित समूहले गर्ने काम तोकिएको उनको भनाई छ ।

उनले त्यसका बारेमा निरन्तर अभ्यासहरू पनि भइरहेको जानकारी दिए । उनले सौर्य एअरलाइन्सको विमान दुर्घटनालाई उल्लेख गर्दै भने  ‘ यस्तै प्रकारका घटना भयो भने कसरी उद्धार गर्ने भनेर पूर्ण आपतकालीन अभ्यास पनि भएको छ । त्यो कति अवधिभित्र घटना स्थलमा पुगिसक्नुपर्ने, त्यसले कति समयभित्र आगो निभाइसक्नु पर्ने, कति समय भित्र उद्धार कार्य गरिसक्नुपर्ने ती सब मापदण्डहरू त्यहाँ तोकिएका छन् । त्यो मापदण्ड अनुसारको अभ्यास पनि गरिएको हुन्छ ।’

उनले भने ‘अब कुरो के हुन्छ भने अभ्यास भनेको थेउरिटिकल विषय थियो । मानेर गरिन्छ, हिजो वास्तविक हो ।’

उनले विमानस्थलको हरेक विन्दुबाट उद्धार कार्यका लागि फरक फरक समय तोकिएको बताए । उनका अनुसार विमानस्थल भित्र २० सेकेन्ड, अलिकति टाढा  भएमा ६० सेकेन्ड र त्यो भन्दा टाढा भएमा ९० सेकेन्ड भित्रमा पुगिसक्ने भनेर योजना बनाइएको छ ।

उनले भने ‘ सौर्य एअरलाइन्सको विमान दुर्घटनास्थल ९० सेकेन्डको टार्गेटमा थियो । ९० सेकेन्ड भित्र हाम्रो रेस्क्यु टिम पुगिसकेको हो । टिम पुग्ने बित्तिकै छु मन्तर हुँदैन । घटनास्थलमा पुगिसकेपछि मात्र आँकलन हुन्छ, यो कस्तो प्रकारको घटना हो, यसलाई कहाँ, कसरी काम गर्ने भनेर अगाडि गएको कमाण्डरले निर्धारण गर्छ ।’

उनका अनुसार सौर्य एअरलाइन्सको विमान दुर्घटनामा कमाण्डले समय भित्रै कमाण्ड गरिसकेको थियो । उक्त दुर्घटनामा प्लेन दुई भाग बाँडिएको थियो । जसकारण उद्धार गर्न ढिला भएको उनले बताए ।

उनले भने ‘उक्त जहाज दुर्घटना प्लेन दुई टुक्रा भएको छ । पहिलो टुक्रा चैँ समय भित्रै नियन्त्रणमा लिइसकेको छ । दोस्रो टुक्रा सम्म पुग्दा अलिकति मौसमको, पानीको र अलि टाढा भइदिएको कारणले तुरुन्तै पुग्न सकिएन । २, ३ मिनेट ढिला भएकै हो । तर पुगिसकेपछि चैँ नियन्त्रणमा लिएकै हो । सम्पूर्ण उद्धार कार्य आधा घण्टा एक घण्टा भित्र पूर्ण भएको छ ।’

विमान दुर्घटनाबाट सिकेको पाठ
‘सौर्य एअरलाइन्सको विमान दुर्घटनाबाट हामीले पाठ त सिक्यौँ । ढिलो भयो ९० सेकेन्डको टार्गेटलाई कसरी छोट्याने त्यता तर्फ ध्यान दिन्छौँ ।’ उनले भने ।

पाण्डेले यस्ता दुर्घटना हुन नदिनका लागि सबैले आलोचन र टिका टिप्पणी गर्नुभन्दा पनि साथ, सहयोग र हौसलाको आवश्यकता भएको बताए । उनले विमानस्थल घना वस्तिको बीचमा परेकाले चराचुरुङ्गीको प्रकोप बढेको बताए । उनले विमानस्थल नजिक वधशालाहरू नराख्न अनुरोध गरे ।

उनले चराचुरुङ्गीहरू पनि ठूलो चुनौतीको विषय बनेको बताए । उनले भने ‘यस्तो दुर्घटना हुँदा सबैको साथ सहयोगको आवश्यक पर्छ । आलोचना भन्दा पनि दुखको घडीमा सहयोग गरिदिनु होला ।’

(उपमहानिर्देशक पाण्डेसँग मकालुखबरकर्मी तेन्जिङ डोल्मा तामाङले गरेको कुराकानीमा आधारित) 

प्रतिक्रिया

One thought on “पुरानो जहाज दुर्घटना हुन्छ भन्ने भाष्य गलत (अन्तर्वार्ता)

Leave a Reply

Your email address will not be published. Required fields are marked *