ओलम्पिकमा १५ औँ नेपाली सहभागिता र गौरवमय त्यो क्षण

काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रूपमा सुरु हुने ३३ औँ गृष्मकालीन ओलम्पिकमा कुन देशले कस्तो प्रदर्शन गर्ला तथा कुन मुलुकले अत्यधिक पदक हासिल गर्ला विश्वभरिका मानिसका लागि कौतुहलताको विषय बनेको छ । ओलम्पिकअन्तर्गत फुटबल, रग्बीलगायतका खेलका प्रतियोगिता भने गत बुधबार नै सुरु भइसकेका छन् ।

ओलम्पिकमा भाग लिन नेपाली खेल टोली पनि राजधानी पेरिस पुगिसकेको छ । यसपालि एक नेपाली खेलाडी छनोट प्रतियोगिता जितेर ओलम्पिकमा सहभागी हुन गएका छन् । टेबुल टेनिस खेलाडी स्याण्टु श्रेष्ठ दक्षिण एशियाको छनोट चरण पार गरेर ओलम्पिकमा सहभागी हुन सफल भएका छन् । अन्य खेलाडीहरूलाई भने कोटा तथा वाइल्ड कार्डको आधारमा सहभागी गराइएको हो ।

नेपालले ओलम्पिकमा विभिन्न छ खेलमा सात खेलाडीलाई सहभागी गराउँदैछ । नेपालका अन्य खेलाडीहरूमा जुडोमा मनिता श्रेष्ठ प्रधान, एथलेटिक्समा सन्तोषी श्रेष्ठ, स्विमिङ मा डुवाना लामा र एलेक्जान्डर शाह, ब्याडमिन्टनमा प्रिन्स दाहाल, सुटिङमा सुस्मिता नेपाल छन् । नेपालले पहिलोपटक ओलम्पिकमा ब्याडमिण्टनमा भाग लिन लागेको हो ।

नेपालले ओलम्पिकमा भाग लिएको यो १५ औँ पटक हो । आज राति ११ बजेर ४५ मिनेट जाँदा पेरिसमा आयोजना हुने भब्य उद्घाटन समारोहमा नेपालको पनि सहभागिता रहनेछ । ओलम्पिकमा २०६ ओलम्पिक राष्ट्रिय टिमको सहभागिता रहनेछ । यसमध्ये एशियाका ४४ वटा देशहरूले भाग लिँदै छन् । ओलम्पिकमा शरणार्थी टिमको समेत सहभागिता रहनेछ । नेपालले सन् १९६४ देखि ओलम्पिकमा भाग लिन सुरु गरेको थियो । पेरिस ओलम्पिकमा विभिन्न ३२ वटा खेलका ३२९ वटा इभेण्टस् सञ्चालन हुँदैछन् ।

यसअघि ओलम्पिकका लागि छनोट खेल पार गरी सहभागी हुन सफल नेपाली खेलाडीमध्ये पहिलो खेलाडीमा ताइक्वाण्डोकी खेलाडी संगिना बैध्य थिइन् । सन् २००४ मा ग्रीसको राजधानी एथेन्समा आयोजित ओलम्पिकमा उनी छनोट चरणमा जितेर भाग लिन सफल भएकी थिइन् । सन् २००८ मा चीनको राजधानी बेइजिङमा आयोजित ओलम्पिकमा ताइक्वाण्डो खेलाडी दिपक बिष्ट पनि छनोट खेल जितेर ओलम्पिक खेल्न गएका थिए । अन्य खेलाडीहरू भने कोटा तथा वाइल्ड कार्डको आधारमा ओलम्पिकमा सहभागी हुँदै आइरहेका छन् । ओलम्पिकमा एथलेटिक्स तथा स्विमिङ खेलमा अनिवार्य सहभागी पठाउनु पर्ने नियमअनुसार ती खेलमा नेपाली सहभागी बढी भएको पाइएको हो ।

विगतको सहभागिता

सन् १९६४ मा जापानको राजधानी टोकियोमा आयोजित ओलम्पिकदेखि नेपालले ओलम्पिकमा प्रतिस्पर्धा गर्न सुरु गरेको थियो । त्यतिखेर नेपाली टिममा दुई धावक र चार जना बक्सरलाई समावेश गरिएको थियो । बक्सरहरु भने हङ्गकङस्थित गोरखा रेजिमेण्टमा कार्यरत नेपाली सैनिकहरू थिए । सन् १९६८ मा मेक्सिकोमा आयोजित ओलम्पिक बाहेक नेपालको ओलम्पिकमा सहभागिता छुटेको छैन । हालसम्म सबैभन्दा धेरै एथलेटिक्सका खेलाडीहरूले नेपालको तर्फबाट ओलम्पिकमा भाग लिएका छन् ।

सन् १९७२ मा जर्मनीको म्युनिखमा आयोजित ओलम्पिकमा नेपालबाट दुई धावक सहभागी भएका थिए । सन् १९७६ मा क्यानडाको मोर्टियलमा आयोजित ओलम्पिकमा नेपालको तर्फबाट धावक बैकुण्ठ मानन्धरले मात्र भाग लिएका थिए । उनले लगातार चार वटा ओलम्पिकमा दौडेर नेपालबाट सबैभन्दा धेरै पटक ओलम्पिकमा सहभागी हुने अवसर प्राप्त गरेका थिए ।

सन् १९८० मा रुसमा आयोजना गरिएको ओलम्पिकमा नेपालबाट एथलेटिक्स, बक्सिङ र भारोत्तोलनमा १२ जना खेलाडी सहभागी भएका थिए । सन् १९८४ मा अमेरिकाको लसएन्जल्समा आयोजित ओलम्पिकमा पनि एथलेटिक्स, भारोत्तोलन बक्सिङमा ११ जना खेलाडी पठाइएको थियो । सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित ओलम्पिकमा नेपालको खेल टोली विगतमा भन्दा ठूलो थियो ।

त्यस प्रतियोगितामा नेपालले एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, जुडो, सुटिङ र ताइक्वाण्डो खेलमा १८ जना खेलाडीलाई सहभागी गराएको थियो । सन् १९९२ मा स्पेनको बार्सिलोना ओलम्पिकमा ताइक्वाण्डो, सुटिङ र एथलेटिक्समा पाँच जनाले भाग लिएका थिए । सन् १९९६ मा अमेरिकाको एटलाण्टामा एथलेटिक्स, भारोत्तोलन र सुटिङमा छ जना गएका थिए ।

यस्तै सन् २००० मा अष्ट्रेलियाको सिड्नीमा नेपालले एथलेटिक्स, स्विमिङ तथा सुटिङमा गरी पाँच खेलाडी पठाएको थियो । सन् २००४ मा ग्रीसको एथेन्समा नेपालबाट ताइक्वाण्डो, एथलेटिक्स, भारोत्तोलन र सुटिङमा छ जना खेलाडीहरू पठाइयो । सन् २००८ मा चीनको राजधानी बेइजिङमा आयोजित ओलम्पिकमा पनि एथलेटिक्स, जुडो, सुटिङ, स्विमिङ र ताइक्वाण्डोमा नौ खेलाडी सहभागी गराइएको थियो ।

सन् २०१२ मा लण्डन ओलम्पिकमा एथलेटिक्स, स्विमिङ र सुटिङमा भाग लिन चार जना नेपाली गएका थिए । सन् २०१६ मा दक्षिण अफ्रिकाको रियोदि जेनिरियोमा नेपालले एथलेटिक्स, स्विमिङ, जुडो र आर्चरीमा गरी छ जनालाई सहभागी गराएको थियो । सन् २०२१ को जापानको टोकियो ओलम्पिकमा एथलेटिक्स, स्विमिङ र एथलेटिक्समा पाँच जना खेलाडीले भाग लिएका थिए ।

गौरवमय त्यो क्षण

सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सियोलमा भएको गृष्मकालीन ओलम्पिक प्रतियोगितामा नेपालले ताइक्वाण्डो खेलमा कास्य पदक पाएको थियो । खेलाडी विधान लामाले उक्त पदक जितेका थिए । सन् १९८६ मा बिधानसहित आठ नेपाली खेलाडीले सियोलमै एशियाली खेलकुदमा कास्य पदक पनि पाएका थिए ।

सम्पूर्ण नेपालीहरू गौरवान्वित बनेको त्यो खुसीको क्षण क्षणिक बन्न पुग्यो । त्यतिखेर ओलम्पिकमा ताइक्वाण्डो खेललाई प्रदर्शन खेलका रूपमा समावेश गरिएकाले खेलाडी लामाले जितेको पदकलाई आधिकारिक मान्यता प्रदान नगरिएपछि नेपाल आधिकारिक पदक तालिकामा अङ्कित हुनबाट बन्चित हुन पुगेको थियो ।

नगण्य उपलब्धि

ओलम्पिकमा नेपाली खेलाडीहरूको सहभागिता १५ चोटी पुगे पनि हालसम्म सहभागितामै सिमित रहेको छ । एशियाली खेलकुदमा रजत पदकसम्म जित्न सकेको नेपालले हालसम्म ओलम्पिकमा भने कुनै पदक जित्न सकेको छैन । ओलम्पिकमा सहभागिता अझै पनि औपचारिकतामा सिमित रहेको छ । ओलम्पिकका लागि दीर्घकालीन योजना सञ्चालन नहुनाले यस्ता ठूला प्रतियोगितामा नेपालको सहभागिता खाली औपचारिकतामा सिमित हुन पुगेको हो ।

यस्ता प्रतियोगितामा विभिन्न खेलमा भाग लिनुभन्दा उचित प्रदर्शन गर्न सकिने सिमित खेललाई जोड दिनु उचित हुने गर्दछ । खेलाडीको क्षमताको मुल्याङ्कन नगरी कोटा प्राप्त भएकै आधारमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनु उचित हुन्छ कि हुदैंन गम्भीर भएर सोच्नु पर्ने बेला पनि आएको छ ।

प्रतियोगिताको केही समयअघि खेलाडी जम्मा गरी दिइएको प्रशिक्षण ओलम्पिकजस्तो विश्व स्तरीय प्रतियोगिताका लागि अपर्याप्त भएको अनुभव विगतदेखि नै हुँदै आइरहेको छ । सिमित समय र सानो लगानीले ओलम्पिकमा सफलता सम्भव नभएको कुरा स्वयं खेल क्षेत्रसँग सम्बन्धित अधिकारी तथा प्रशिक्षकहरूले बताउँदै आइरहेका छन् । वर्षैभरि नियमित प्रशिक्षण, पर्याप्त मात्रामा खेल प्रतियोगितामा सहभागिता, वैदेशिक प्रशिक्षण र प्रतियोगितामा जाने अवसरले खेलाडीको क्षमता अभिवृद्धि गर्दै लैजाने गर्दछ । यसैगरी उनीहरूलाई यथोचित सुविधातर्फ पनि ध्यान दिनु जरुरी पर्दछ । यसै सिलसिलामा हालसम्म कैयौं स्थापित खेलाडीहरू समेत विदेश पलायन हुनु चिन्ताको विषय बनेको छ ।

नेपालमा सरकार परिवर्तनसँगै त्यसको प्रत्यक्ष असर खेलकुद क्षेत्रमा पनि पर्ने गरेको छ । खेलकुद क्षेत्रको आधिकारिक निकाय राष्ट्रिय खेलकुद परिषदमा हुने गरेको पदाधिकारी परिवर्तनले पनि नेपालको समग्र खेलकुदको विकासमा असर पर्ने गरेको छ । नेपालमा भएका सयौं खेलकुद सङ्घ पनि नेपालको अन्तर्राष्ट्रिय असफलतामा जिम्मेवार रहेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीजस्ता विभागीय टिमहरूले खेलाडीहरूलाई रोजगार दिई नियमित रूपमा प्रशिक्षण सञ्चालन गरेर नेपालको अन्तर्राष्ट्रिय सहभागितामा यथाशक्य योगदान दिइरहेका छन् ।

दक्षिण एशियाली मुलुकहरूमध्ये भारतले हालसम्म ओलम्पिकमा ३५ वटा पदक जितिसकेको छ । यसैगरी पाकिस्तानले १० तथा श्रीलङ्काले दुई वटा पदक पाइसकेका छन् । अब नेपालले पनि ओलम्पिक जस्तो खेलकुद प्रतियोगितालाई औपचारिकतामा मात्र सिमित हुन नदिई पदक प्राप्तिका लागि उचित पहल गर्न जरुरी भइसकेको छ ।

ओलम्पिक भनेको खेलाडीले राष्ट्रिय किर्तिमान भङ्ग गर्दा गौरव गर्ने क्षण होइन । पदक जितेर मुलुकको छवि जाज्वल्यमान बनाउने महत्त्वपूर्ण अवसर हो । नेपाल सरकारले पनि ओलम्पिकलाई उच्च प्राथमिकता दिई दीर्घकालीन वार्षिक योजना बनाउन तथा पदक प्राप्तसम्मका लागि आवश्यक पूर्वाधारहरू जुटाउन नेतृत्व लिनुपर्ने आवश्यकता देखिएको छ । (लेखक खेलकुदमा अभिरुचि राख्ने पत्रकार हुन्)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *