काभा वुमन्स भलिबल नेसन्स लिगको ‘ट्रफी’ सार्वजनिक

काठमाडौँ । नेपालले घरेलु मैदानमा आयोजना हुने काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा श्रीलंकाबिरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ ।

नेपाल भलिबल संघले शुक्रवार पत्रकार सम्मेलन आयोजनामार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै खेलतालिका पनि सार्वजनिक गरेको हो ।

आगामी साउन १७ गतेदेखि सुरु हुने काभा वुमन्स नेसन्स लिगमा नेपालसहित पाँच राष्ट्र श्रीलंका, इरान, भारत र मालदिभ्सले प्रतिस्पर्धा गर्दैछन् । नेपालले यो प्रतियोगिताका लागि रसियासँग घरेलु मैदानमा नै दुई मैत्रीपूर्ण खेल पनि खेलेको थियो । यद्यपि, नेपालले कुनै सेट पनि जित्न सकेन ।

पत्रकार सम्मेलनमा संघले प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिएको छ ।

शुक्रवार नै काभा वुमन्स नेसन्स लिगको ट्रफी सार्वजनिक भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले ट्रफी सार्वजनिक गरेका हुन् ।

प्रतियोगिताका लागि संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द संयोजकत्वमा विभिन्न २१ वटा उपसमिति पनि गठन भएको छ । सात दिनसम्म चल्ने प्रतियोगितामा पहिलो दिन नेपाल र श्रीलकां तथा भारत र इरानबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले आफ्नो दोस्रो खेल साउन १८ गते बलियो प्रतिद्वन्द्वी भारतसँग, तेस्रो खेल साउन २० गते मालदिभ्स र चौथो खेल साउन २१ गते इरानविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछन् । राउण्ड रोविन लिगपछि अंकतालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच साउन २२ गते सेमिफाइनल हुनेछन् । उपाधिका भिडन्त र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *