नगरप्रमुख नकर्मीको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कीर्तिपुरका नगरप्रमुख एवम् कांग्रेस काठमाडौँका उपसभापति नकर्मीको निधनप्रति दुःख व्यक्त गरेका हुन् । नकर्मीको बिहीबार राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

सभापति देउवाले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा स्व नकर्मीले पुर्‍याएका सक्रिय योगदानको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले मृत आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

वि.सं २०२० असार २० गते जन्मिएका नकर्मीले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी नेतृत्व गुमाएको छ ।

पार्टी सभापति देउवाले आज कीर्तिपुर नगरपालिकाको कार्यालय परिसरमा पुगेर उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसैगरी, कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एवम् उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, पार्टीका केन्द्रीय सदस्यहरू, जिल्ला सभापति, अन्य नेता एवम् कार्यकर्ताहरू तथा स्वर्गीय नकर्मीका आफन्तजन अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थित थिए ।

उनको पार्थिव शरीरलाई आजै कीर्तिपुरको दिखु खोलामा अन्तिम दाहसंस्कार गरिएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *