मनाङबाट ३२ किलो यार्चागुम्बा निकासी

मनाङ । जिल्लाङको तल्लो क्षेत्रमा यार्चागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्चागुम्बा निकासी भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो परिमाणको यार्चागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिए । उक्त परिमाणको यार्चागुम्बा निकासीबाट १६ लाख ५७ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए । यार्सा निकासीका लागि प्रतिकिलो ५१ हजार रुपैयाँ दस्तुर लिने गरिएको छ । निकासी गरिएको दस्तुर ५१ हजारमध्येबाट १० हजार रुपैयाँ संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा १० हजार रुपैयाँ स्थानीय तहलाई उपलब्ध गराइन्छ ।

मनाङमा यार्चागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको थियो । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट सङ्कलन गरिन्छ । गत वैशाख १० गतेदेखि नाम्के खर्कबाट करिब दुई सय जनाले यार्चागुम्बा सङ्कलनको अनुमति लिएका थिए । अनुमतिपत्रबिना औषधीय जडीबुटी सङ्कलन गर्न पाइँदैन । जसले गर्दा अनुमति लिएपछि मात्रै खर्कतर्फ जान दिइने गरिन्छ ।

प्रमुख भुजेलका अनुसार मनाङमा नाम्के खर्क यार्चागुम्बा सङ्कलन गर्ने पहिलो गन्तव्य हो । खर्कबाट यार्चागुम्बा सङ्कलन गर्न अनुमति दिने निर्णयबमोजिम सङ्कलकलाई अनुमति दिइएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका संयोजक एवं नासों–८ का वडाध्यक्ष याद घलेले जानकारी दिए ।

मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्चागुम्बा सङ्कलन गरिन्छ । यार्सागुम्बा खोज्ने क्रममा २०६६ सालमा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको स्थानीयले हत्या गरेका थिए । त्यसपछि सुरक्षा चुनौतीका कारण मनाङको साविकको ‘नार’ र ‘फु’ गाविमा यार्चागुम्बा सङ्कलन कार्य रोकिएको थियो । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले यार्सागुम्बा सङ्कलन गर्न अन्य जिल्लाका सङ्कलकलाई अनुमति नदिइएको बताए ।

नार्पाभूमिको नार र फु संरक्षित र निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाका हिसाबले पनि विगतको जस्तो अवस्था सिर्जना नहोस् भनी निर्णय गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङले यार्चागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलन गर्न खर्क पस्न पाउँछन् । मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीय यार्चागुम्बा सङ्कलन गर्न मनाङका लेक पुग्छन् । नार घटनापछि एक्याप मनाङले यार्चागुम्बा सङ्कलनलाई व्यवस्थित बनाउँदै लगेको छ ।

जिल्ला समन्वय प्रमुख, पालिकाका अध्यक्ष, सुरक्षा निकायका प्रमुख र संरक्षण समितिका पदाधिकारीसहितको बैठकपछि मात्रै यार्चागुम्बा सङ्लकनका लागि खुलाउने प्रावधान छ । संयुक्त बैठकले निर्णय गरेबमोजिम पुर्जी काटेर सङ्कलन अनुमति दिइन्छ । पुर्जी काटिसकेपछि मात्रै स्थानीय तथा बाह्य जिल्लाबाट आउने सङ्कलकलाई खर्क जान अनुमति दिइने संरक्षण व्यवस्थापन समितिले जनाएको छ ।

चार वटा स्थानीय तह रहेको मनाङमा धारापानी र थोँचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइन्छ । मनाङमा यार्चागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जाने सङ्कलकले १० यार्चागुम्बा टिपेपछि एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान छ । मनाङको नाम्ग्य खर्क, किन्चो लेक, याक खर्क, पिसाङ लेक, फु लेकलगायतका खर्कमा यार्चागुम्बा बढी पाइने स्थान हुन् । यार्चागुम्बा सङ्कलन कार्य नाम्ग्य खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *