भारतबाट आएको टोलीले पनि भेटेन बेपत्ता बस र यात्रु, अब के गर्ने ?

काठमाडौं । नारायणगढ-मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका बस र यात्रुको खोजी लागि भारतीय टोली आएको ६ दिन पुगेको छ । एक साताको लागि भनेर आएको उद्धार टोलीबाट पनि अहिलेसम्म केही उपलब्धि हात लागेको छैन ।

भारतबाट ल्याइएको ३ सोनार डिभाइस, ४ जना गोताखोर र अन्य प्राविधिक टोलीसहित नेपाली सुरक्षाकर्मी खोजीमा निरन्तर जुटिरहेका छन् । संभावित स्थानमा बस रहे नरहेको पत्ता लगाउन भारतीय टोलीले ‘म्याग्नेटिक डिभाइस’ (ठूलो चुम्बक) मगाएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उनकाअनुसार भारतबाट ४० किलोको चुम्बक आइपुगेको छ । आजदेखि त्यो चुम्बक लगेर नदीका संभावित स्थान खसालिनेछ । ‘बस रहेछ भने त चुम्बक टाँसिइहाल्छ,’ उनले भने, ‘चुम्बकमार्फत फलाम रहेको थाहा भएमा गोताखोरलाई पानीभित्र पठाइनेछ ।’

उनले शनिबार हराएका बस खोजीका लागि अन्तिम प्रयास हुन लागेको बताए । ‘आज दिनभरको प्रयासपछिमात्रै भोलीदेखि खोज्ने कि नखोज्ने भन्ने निर्णय गर्नेछौं,’ प्रजिअ यादवले भने, ‘अन्तिम प्रयास पनि सफल भएन भने आगामी दिनमा के गर्ने भन्ने निर्णय गर्नुपर्छ ।’

गत असार २८ गते बिहानदेखि त्रिशुलीमा बेपत्ता बस अझै भेटिएका छैनन् । बससँगै हराइरहेका ६२ यात्रुमध्ये हालसम्म २५ जनाको शव भेटिएको छ । तीमध्ये १८ जनाको सनाखत भएको छ । ३७ जना अझै बेपत्ता छन् । दुवै बसमा गरी ६५ यात्रु रहेकामा ३ जना पौडिएर बाँचेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *