सांसदहरु भन्छन्– ‘लैङ्गिक समावेशिता र समानताको लडाईं अझै बाँकी छ’

काठमाडौं । संसदीय अभ्यासमा संविधानमा उल्लेखित संविधानप्रदत्त लैङ्गिक समावेशिता र समानताको मुद्दा प्रत्याभुति हुन नसकेको नेताहरुले बताएका छन् ।

लामो समयदेखि यो मुद्दा उठाउँदै आएपनि अहिलेसम्म लैङ्गिक समावेशिता र समानताको मुद्दा स्थापित हुन नसकेको बताएका हुन् । उनीहरुले आन्दोलनबाट प्राप्त गरेका महिला सम्बन्धी उपलब्धिहरु अझै पूरा नभएकाले थप आन्दोलन गर्नुपर्ने बताए ।

नेकपा एमाले नेतृ विन्दा पाण्डेको ‘संसदीय राजनीतिमा लैङ्गिक सहभागिता’ पुस्तक सार्वजनिक तथा अन्तरसंवादमा बोल्दै सांसदहरुले ठूला राजनीतिक कुरा गरेपनि समतामुलक र समानताका बारेमा सही आवाज उठाउन नसकेको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले महिला सहभागिता/समावेशिताका आवाज आजका दिनसम्म पनि उठाउनुले सही राजनीति गर्न नसकेको पुष्टि हुने बताए ।

उनले महिला राजनीतिमा रहेपनि नेतृत्व कहिल्यै पाउन नसकेको बताए । उनले अहिले पनि संसदमा पुरुषहरु नै प्रमुख सचेतक रहेको र महिला सचेतकमा सिमित रहेको बताए ।

उनले राजनीतिक आन्दोलनका रुमपा महिला र दलित आन्दोलनलाई अघि बढाउनुपर्ने बताए । उनले पछिल्लो समय महिला आन्दोलन बरालिएको बताए ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले महिला आन्दोलन राजनीतिक आन्दोलनको प्रेरणाबाटै माथि उठेको बताए । उनले राजनीतिक आन्दोलनमा नै समताको आन्दोलन समाहित हुने बताए ।

महिला मुक्तिको आन्दोलन र महिला समानताको आन्दोलन राजनीतिक आन्दोलनभित्रकै महत्वपूर्ण र प्रभावकारी आन्दोलन भएको बताए । महिलाको आन्दोलन बिना राजनीतिक आन्दोलन पूरा नहुने भन्दै राजनीतिक आन्दोलनले नेतृत्व नगरेसम्म महिला आन्दोलनले पूरा सफलता पाउन नसक्ने जिकिर गरे ।

राजनीतिक आन्दोलनभित्र महिला आन्दोलनलाई कसरी प्रभावकारी बनाउने ? भन्नेबारेमा सोच्न जरुरी रहेको बताए । लोकतन्त्र प्राप्त भइसकेपछि सामाजिक आन्दोलनहरु कमजोर भएको टिप्पणी गरे ।

उनले अहिलेको संसद वैचारिक, राजनीतिक, सैद्धान्तिक रुपमा कमजोर रहेको बताए ।

नेकपा (माओवादी केन्द्र) की राष्ट्रिय सभा सदस्य रेणु चन्दले निजामति कर्मचारीमा महिलाको उपस्थिति सकारात्मक रहेपनि राजनीतिक रुपमा अझै कमजोर रहेको बताइन् ।

उनले शिर्षस्थ नेताहरु महिलाहरु एक भए भने आफ्ना अधिकार प्राप्त गर्न सक्छन् र आफू कमजोर हुने मानसिकताबाट ग्रसित रहेको बताइन् ।

उनले महिला अग्रस्थानमा पुग्दा आफू नरहने डरले महिलालाई एकजुट नदिइएको गुनासो गरे । महिलाले ३३ प्रतिशत भन्दा बढी अधिकार प्राप्त गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै पूर्वउपसभामुख एवं नेपाली काँग्रेस नेतृ पुष्पा भुषालले नेपालमा महिला आन्दोलनले नै महिला उर्जालाई स्थापित गरेको जिकिर गरिन् । उनले आन्दोलनबाट प्राप्त गरेका महिला सम्बन्धी उपलब्धिहरु अझै पूरा नभएकाले थप आन्दोलन गर्नुपर्ने बताइन् ।

संविधानमा समावेशी, समानुपातिक र महिलाका मुद्दा लेख्नुले राज्यका हरेक संरचनामा महिलाको उपस्थिति अनिवार्य रहेको प्रमाणित हुने बताइन् ।

निर्वाचनताका लेखिएका घोषणापत्रमा महिला, दलित, जनजाति, आदवासीका मुद्दा लेख्ने तर निर्वाचनपछि अर्थपूर्ण भुमिका नदिने कुराले समस्या आएको बताए । संविधानका अधिकारहरु पूरा गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै नेकपा एमाले नेतृ एवं पुस्तककी लेखक विन्दा पाण्डेले संसदमा महत्वपूर्ण मुद्दाहरु उठाउँदा शिर्ष नेताहरु नबोल्ने गरेकोप्रति आपत्ति जनाइन् । उनले शिर्ष नेताहरुले पछाडि बस्नेहरु, समानुपातिक र समावेशीबाट आउनेहरुले बोल्ने विषय भनेर महिला, आदिवासी जनजाति, दलितहरुका विषयमा पन्छिने गरेको आरोप लगाइन् ।

महत्वपूर्ण मुद्दाहरुमा शिर्ष नेताहरु बोल्नै नमिल्ने भन्ने मानसिकता संसद र शिर्ष नेताहरुमा हट्न जरुरी रहेको बताए ।

नेतृ पाण्डेले संसदभित्र गएपछि प्रत्येक सांसदहरु समान हिसावमा सहभागी बन्न पाउनुपर्ने बताए । उनले महत्वपूर्ण विषयहरुम मुद्दा केन्द्रित एकता गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *