वामदेवको प्रश्ताव– एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा जुटौँ

काठमाडौं । नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेपालका सबै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गर्नुपर्ने बताएका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई शक्तिशाली कम्युनिष्ट पार्टी चाहिएकाले त्यसका लागि सबै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गर्नुपर्ने प्रश्ताव आफूले राख्नु परेको उनको भनाई थियो ।

पुष्पकमल दाहाल, माधवकुमार नेपाललगयतका कम्युनिष्ट पार्टीका नेताहरु सहभागी रहेको सो कार्यक्रममा संयोजक गौतमले कम्युनिष्ट पार्टीहरु फुट्दै जाने कुरामा समाजवाद निर्माण गर्न नसकिने भएकाले पनि सबै कम्युनिष्ट पार्टीहरु एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको बताए ।

उनले केही कम्युनिष्ट पार्टीहरुबीच केही भिन्नता भए बसेर हल गर्न सकिने उल्लेख गर्दै समाजवाद निर्माण गर्ने लक्ष्य प्राप्तका लागि पनि सबै कम्युनिष्ट पार्टीहरुबीच एकता भएर अघि बढ्नुको विकल्प नरहेको बताए ।

उनले भने– मेरो अनुरोध के छ भने फेरि पनि कम्युनिष्ट पार्टीहरु एकतावद्ध गरौं । पुष्पलालको जन्म शताब्दी समारोह आयोजना गर्नुको एउटा मुख्य कर्तव्य प्रश्ताव पारित होस् यहाँबाट । अब हामीले पार्टी एकता गर्छौंं । एउटै पार्टी निर्माण गर्ने कोशिस गर्र्छौं । जस्तोसुकै मतभिन्नता भएको बेला पनि मिलेर हिँड्न सकिएको छ । यस्ता सभा, समारोहमा भन्नु नभन्नु भनेपनि बाहिर गएपछि सँगै बस्ने, हाँस्ने, खेल्ने, चिया खाने गरेका छौं आज भन्दा अगाडि । अव त्यसो भएर यहाँ हामीलाई एउटा शक्तिशाली कम्युनिष्ट पार्टी चाहिएको छ कि छैन ? शक्तिशाली कम्युनिष्ट पार्टी चाहिएको छ भने कुनै पार्टीबाट निर्णय गरेर त्यो अभियानको रुपमा सञ्चालन गर्नुपर्छ । एउटै पार्टी बन्नुपर्छ । भएको पार्टी फुट्दै जाने, फुट्दै जाने अनि एउटाले समाजवादी क्रान्ति गर्ने । अर्को के क्रान्ति गर्ने, अर्कोले के क्रान्ति गर्ने हो । हुन्छ त्यसरी क्रान्ति ? मत भिन्नता छ भने सँगै बसेर हल गर्न सकिन्छ । त्यसो भएर म यहाँ प्रस्ताव राख्छु–तपाईहरुलाई मञ्जुर छ भने अलिखेर तपाईहरुले उठेर नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नको निम्ति हामीले आज पुष्पलाल प्रतिष्ठानबाट आयोजना गरिएको यो जन्म शताब्दी कार्यक्रममा हामीले एउटा प्रश्ताव पारित गरौ । नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न गर्नेछौं । र एउटै कम्युनिष्ट पार्टी बनाएर समाजवाद निर्माण गर्नेछौं भनेर एउटा प्रस्ताव तपाईहरुले पारित गरिदिनुस् ।’

संयोजक गौतमले कम्युनिष्ट पार्टीका नेताहरु जस्तोसुकै मतभेद भएको बेला पनि मिलेर हिँड्ने गरेको भन्दै अब सँगै मिलेर समाजवाद निर्माणका लागि अघि बढ्नुपर्ने बताए ।

मुलुक बर्बादीको दिशामा जाने भएकाले पनि सबै कम्युनिष्ट पार्टीहरुले मिलेर मुलुकलाई जोगाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *