स्वास्थ्यमन्त्रीको निर्देशन– वीर अस्पतालको सेवा राम्रो छैन भन्ने सुनेको छु, छिटो सुधार होस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताएका छन् ।

शनिवार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वीर अस्पताल भित्रका सबै इकाइहरुको समन्वय हुन आवश्यक रहेको पनि बताए ।

उनले व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको जिकिर गर्दै राम्रोसँग सुधार र समन्वय गर्नसके भइरहेको जनशक्तिबाट नै राम्रो परिणाम दिन सकिने बताए । उनले खरिद प्रक्रियाका बारेमा उठेका प्रश्नहरु परादर्शी बनाउन आवश्यक रहेको बताए ।

वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गर्नुपर्ने बताए । उनले वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो आइरहेको भन्दै इमर्जेन्सी सेवा, अप्रेसनका लागि वर्ष दिन कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको बताए ।

सेवाग्राहीहरुले सेवा लिँदा सन्तुष्टि प्राप्त नगरेको जनगुनासो आएको भन्दै त्यसमा पनि विशेष ध्यान दिन निर्देशन दिए ।

उनले भने– ‘वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न सकेन भन्ने बाहिर जनगुनासो छ । इमर्जेन्सी राम्रो भएन भन्ने जनगुनासो छ । अप्रेशनका निम्ति एक वर्ष पर्खिनुपर्छ भन्ने जनगुनासो छ । सेवाग्राहीहरुले सेवा लिँदा सन्तुष्टि प्राप्त नगरेको जनगुनासो हामीले बाहिर सुनिरहेका छौँ । ति कति सत्य होलान् र कति असत्य होलान् । तर हामीले ति गुनासाहरुलाई क्रमशः सम्बोधन गर्दै जान सक्नुपर्छ । हामी ति गुनासाका कारणले आवेगमा आएर गरिरहेका छौँ के को प्रश्न ? भन्ने स्थिति छैन । हामीले अझ बढी कसरी गर्नसक्छौँ, हामी त्यसको निम्ति प्रयत्नशिल रहनुपर्छ । हामी यहाँ प्रशासनिक, चिकित्सक र प्राविधिकहरु १८ सय जनशक्ति भएको जानकारी प्राप्त गरेको छु । त्यो जनशक्ति पूर्ण हो मैले भन्न खोजेको होइन, तर त्यो जनशक्तिको संख्या सानो होइन । त्यसले मेहनत गर्ने हो भने हामीले ठूलो उपलब्धि दिनसक्छौँ । त्यसैले वीर अस्पताल भित्रका सबै इकाइहरुको समन्वय हुन जरुरी छ । एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी छ । एक अर्काको सम्बन्ध समन्वयात्मक ढंगबाट अगाडि बढाउन जरुरी छ । त्यसैले यो एकीकृत संस्था एकीकृत ढंगबाट काममा अघि जान जरुरी छ । हामीले व्यवस्थापकीय पक्षमा जेजे सुधार गर्नुपर्ने हो सबै सुधार गर्न सकिरहेका छैनौँ । व्यवस्थापकीय पक्षमा हामीले सुधार र समन्वय राम्रो गर्ने हो भने यही साधन श्रोतभित्र हामीले राम्रो परिणाम दिनसक्छौँ । कतिपय उठेका प्रश्नलाई हामीले आत्मसाथ गरौँ । खरिद प्रक्रिया पारदर्शी छैन, त्यसलाई छैन भने पारदर्शी बनाऔँ । वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गरौँ ।’

कार्यक्रममा बोल्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्र बस्नेतले वीर अस्पतालले विशिष्ट र अतिविशिष्ट सेवाहरुमा धेरे केन्द्रित गरिरहेको बताए ।

उनले वीर अस्पताल अति नै विशिष्टिकृत अस्पताल बनाउने गरी काम गरिरहेको बताए । उनले बिरामीले सहज र गुणस्तरीय सेवा प्रदान गर्नेकुरामा केन्द्रित भइ काम गरिरहेको बताए ।

उनले इमर्जेन्सी सेवालाई सय शैय्यामा बिस्तार गर्न लागेको र टेण्डर प्रक्रियामा जान लागेको पनि बताए । उनले हालैमात्र योग्यता÷क्षमताको आधारमा सय जना नर्स राखेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *