थ्रेसहोल्ड बढाएर साना पार्टीलाई निस्तेज पार्न खोजिँदैछ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम मत बढाएर साना पार्टीलाई निस्तेज बनाउन खोजिएको आरोप लगाएका छन् ।

काठमाडौंमा शनिवार आयोजित कार्यक्रममा उनले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले दुई पार्टी प्रणालीमा जान खोजेको र त्यसका लागि संविधान संशोधन गर्न खोजिरहेको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पहिलो र दोस्रो दल मिल्ने ‘कथित संसदीय प्रणाली’ नेपालमै मात्र भएको भन्दै कटाक्ष गरे ।

‘दुईवटा पार्टीले गर्न खोजेको संविधान संशोधन नेपाली जनताका अधिकार खोस्नका लागि हो । उनीहरू थ्रेसहोल्ड बढाएर साना पार्टीलाई निस्तेज बनाउने र देशलाई कथाकथित दुई पार्टी सिस्टममा लान खोजिरहेका छन् । यसमा हाम्रो विरोध हो,’ उनले भने ।

प्रचण्डले नेपाली जनताले लामो समयसम्म गरेको बलिदानले प्राप्त उपलब्धिलाई खोस्न प्रसास भइरहेकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिए ।

गणतन्त्र र संविधानलाई कुल्चिन चाहने प्रवृत्ति कम्युनिस्टहरूभित्रै रहेको उनले बताए । यसले गर्दा आफूले कम्युनिस्ट एकताको प्रयास गर्दा असफल भएको प्रचण्डको भनाइ थियो ।

कम्युनिस्ट पार्टीहरूलाई मिल्न नदिन कतैबाट षड्यन्त्र भइरहेको उनले आशंका व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *