दीपेन्द्रको आक्रामक ब्याटिङ र सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद हार्यो टिम
काठमाडौं । ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत आफ्नो तेस्रो खेलमा भ्यानकुभर नाइट्सका लागि नेपाली जोडी दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपनि टोलि पराजित भएको छ ।
टस जितेर मोन्ट्रियल टाइगर्सविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । सुरुमा ब्याटिङ गरेको मोन्ट्रियलले ७ विकेटको क्षतिमा १४४ रन बनायो ।
मोन्ट्रियलविरुद्धको बलिङमा नेपालका सन्दीप लामिछानेले एक विकेट लिए । चार ओभर बलिङ गरेका उनले २४ रन खर्चिएर एक विकेट हात पारेका हुन् । योसँगै प्रतियोगितामा उनले तीन खेल खेल्दा व्यक्तिगत चार विकेट हात पारेका छन् ।
१४५ रनको लक्ष्य पछ्याएको भ्यानकुभरका लागि नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले भने नटआउट ३० रन बनाए । १५ बलको सामना गरेका दीपेन्द्रले तीन चौका र एक छक्का प्रहार गरे । नेपाली खेलाडीले राम्रो प्रदर्शन गरे पनि भ्यानकुभरले लगातार तेस्रो हार ब्यहोरेको छ ।
यसअघिका दुवै खेलमा गुमाएको भ्यानकुभरले आइतबार रातिको खेल १० रनले गुमाएको हो । १४५ रनको लक्ष्य पछ्याएको भ्यानकुभर ६ विकेटको क्षतिमा १३४ रनमै समेटिएयो । सन्दीप ब्याटिङतर्फ दुई बलको सामना गरेका सन्दीपले नटआउट १ रन बनाए ।