इजरायली कारबाहीमा मारिए हमासका प्रमुख नेता

काठमाडौं । हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरेली कारबाहीमा तेहरानमा मारिएको जनाएको छ । हमासले एक विज्ञप्ति जारी गर्दै उनको मृत्यु भएको पुष्टि गरेको हो ।

उनी ६२ वर्षका थिए । हमासका अनुसार तेहरानमा आफ्नै निवासमा भएको बेला इजरेलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो । समाचारसंस्था एएफपीका अनुसार इरानको रेभलूशनीर गार्ड कोरले उक्त घटना कसरी भयो भन्ने स्पष्ट नभएको तर छानबिन भइरहेको जनाएको छ ।

हमासका अनुसार हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेस्कियानको पदभार ग्रहण गर्ने समारोहमा सहभागी हुन इरान गएका थिए । उक्त समारोह मंगलबार भएको थियो ।

इस्माइल हानिया को हुन् ?
उनको अर्को नाम अबु अल-अब्द हो । उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो । उनी सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्रीको रूपमा नियुक्त भएका थिए । इजरेल-गाजा युद्धका क्रममा उनी कतारमा बस्दै आएका थिए ।

सन् १९८९ मा इजरेलले उनलाई तीन वर्ष जेलमा राखेको थियो । सन् १९९२ मा उनलाई हमासका धेरै नेताहरूसँगै इजरेल र लेबनन बीचको ‘नो-म्यान्स् ल्यान्ड’को रूपमा रहेको मार्ज अल-जुहुरमा निर्वासनमा पठाइयो । आफ्नो निर्वासन पूरा गरेपछि उनी गाजा फर्किएका थिए । सन् १९९७ मा उनी हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासिनको कार्यालयको प्रमुख नियुक्त भए । जसले उनको राजनीतिक हैसियत उच्च बनाइदियो ।

हमासले उनलाई सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्री नियुक्त गरेको थियो । तर त्यसको एक वर्षपछि प्यालेस्टिनी न्याशनल अथोरिटीका प्रमुख महमूद अब्बासले उनलाई पदबाट बर्खास्त गरेका थिए । इज्ज अल-दिन अल-कसम ब्रिगेडले गाजा क्षेत्र कब्जा गरेपछि अब्बासको फतह आन्दोलनका प्रतिनिधिहरू निष्कासन भएसँगै उनले पनि पद गुमाएका थिए । त्यस क्रममा एक सातासम्म चलेको भिडन्तमा धेरै मानिस मारिएका थिए ।

हानियाले आफ्नो बर्खास्तीलाई असंवैधानिक भन्दै अस्वीकार गरे । उनले आफ्नो सरकारले नियमित कामलाई निरन्तरता दिने र प्यालेस्टिनी जनताप्रतिको आफ्नो जिम्मेवारीलाई नछोड्ने बताएका थिए । त्यसयता हानियाले फतहसँग मेलमिलापका लागि पटकपटक अपील पनि गरेका थिए । सन् २०१७ मा हमासको राजनीतिक विभाग प्रमुखमा निर्वाचित भएका उनलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा आतङ्कवादी घोषणा गरेको थियो । –बीबीसीको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *