दक्षिण भारतमा पहिरोमा परी मृत्यु हुनेको संख्या १५१ पुग्यो
काठमाडौं । भारतको दक्षिणी राज्य केरलामा मङ्गलवार भारी वर्षापछिको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १५१ पुगेको छ । घाइतेको संख्या ७० पुगेको छ भने २०२ जना बेपत्ता भएका छन् ।
केरलाको वायनाड जिल्लाको मेपाडी क्षेत्रमा बिहान २ बजेतिर कम्तीमा तीन वटा ठूलो पहिरो खसेको थियो । भारी वर्षाको बीचमा पनि उद्धार कार्य जारी छ । प्रभावित क्षेत्रहरूलाई नजिकैको शहर चोरलमालासँग जोड्ने वायनाड जिल्लाको एउटा पुल बगेको छ ।
भारतीय सेनाले प्रभावित क्षेत्रमा मेडिकल टोलीसहित २२५ कर्मचारी तैनाथ गरेको जनाएको छ । उद्धारका लागि भारतीय वायुसेनाका दुई हेलिकप्टर परिचालन गरिएको छ ।
प्रधानमन्त्री कार्यालयले प्रत्येक मृतकका परिवारलाई २ लाख भारतीय रुपैयाँ (लगभग २ हजार ३ सय ८९ अमेरिकी डलर) र प्रत्येक घाइतेलाई ५० हजार भारतीय रुपैयाँ (करिव ५ सय ९७ डलर) क्षतिपूर्ति दिने घोषणा गरेको छ ।