डा. पावनालाई प्रश्न– आमाहरूले पहिलो पटक बच्चालाई स्तनपान गराउँदा ‘स्ट्रेस’ किन हुन्छ ? (भिडिओ)
काठमाडौँ । आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रियालाई स्तनपान भनिन्छ । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । पहिलो बिगौते दूध बच्चाका लागि अम्रित समान हुने चिकित्सकहरू बताउँछन् । यस्तो अम्रित समान आमाको दूध बच्चाका लागि कत्तिको महत्वपूर्ण छ ?,यसले कस्तो फाइदा गर्छ ?, नेपालमा स्तनपान गराउने आमाहरूको संख्या कस्तो छ ?, पहिलोपटक आमा बनेका महिलाहरूलाई स्तनपान गराउँदा गाह्रो हुने, स्ट्रेस हुने किन हुन्छ ?, यि- यस्ता स्तनपान सम्बन्धी समस्याहरूका बारेमा मकालुखबरले काठमाडौँ मेडिकल कलेजका बालरोग विशेषज्ञ डा. पावना कायस्थसंग प्रश्न गरेको छ । प्रस्तुत छ, डा. पावना कायस्थसँग गरिएको कुराकानीको सम्पादित अंश ।
बच्चाका लागि आमाको दूध किन आवश्यक छ ?
आमाको दूधबाट बच्चालाई पूर्ण पोषण जस्तै कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र मिनिरल्सहरू प्रशस्त मात्रामा उपलब्ध हुन्छ । जसले गर्दा बच्चाहरूलाई पचाउन र पेटको समस्या कम गराउँछन् । दिमागको वृद्धिको लागि चाहिने डिएचए, ओमेगा ३, आमेगा ६ अनि ओलिगो सैकराइडहरू जसले चाहिँ दिमागको वृद्धि गराउँछ, उक्त तत्वहरू पनि आमाको दूधमा हुने भएकाले स्तनपान गराउँदा बच्चाहरूको आइक्यु लेबल हाई हुने देखिएको छ । एन्टिबडिज, इमिनो ग्लोबिनहरू आमाको दूधबाट बच्चामा पुग्ने भएकाले एलर्जी, निमोनिया, डायरियाहरू जस्ता रोगबाट बचाउन सक्ने क्षमतामा वृद्धि भएको देखिन्छ । राम्रोसँग आमाको दूध खाएका बच्चाहरूमा इमोसनल बोन्डहरू बढी मात्रामा भएको पाइएको छ । त्यसैले बच्चाका लागि आमाको दूध अम्रित समान हो । सँगै जुन आमाहरूले दूध खुवाउनु हुन्छ, उहाँहरूलाई पनि यसका प्रशस्त फाइदाहरू छन् । आमालाई ब्रेस्ट क्यान्सरबाट बचाउँछ, पाठ्यघरका क्यान्सरहरूबाट पनि बचाउँछ । त्यसैले हामीले यसलाई महत्वका साथ हेर्नुपर्छ ।
पछिल्लो समय नेपालमा एक्सक्लूसिव ब्रेस्टफीडिंग गराउने आमाहरूको संख्या कस्तो छ ?
एक्सक्लूसिव ब्रेस्टफीडिंग भन्छौँ, जुनचाहिँ हामीले बच्चा जन्मेको एक घण्टा भित्र बच्चालाई चैँ आमाको दूध चुसाउनु पर्छ र ६ महिमासम्म बच्चालाई आमाको दूध मात्रै खुवाएर हुर्काउनु पर्छ । जसले गर्दाखेरि अनावश्यक समस्या जस्तै पेटको समस्या, अपच हुने समस्या र अरु रोगहरूबाट चैँ बचाउँछ । यो भनेको एक्सक्लूसिव ब्रेस्टफीडिंग हो ।
नेपालमा एक्सक्लूसिव ब्रेस्टफीडिंगको दर तत्कालीन २०२२ को तथ्याङ्क अनुसार अलिकति घटेको देखिएको छ । पहिला ७० प्रतिशत देखिन्थ्यो भने अहिले ५६ प्रतिशतमा घटेको देखिएको छ । हामीले यसका कारणहरू पहिचान गरेर समस्या समाधान गर्न तिर लाग्नु पर्छ, जसले गर्दा आउने दिनहरूमा एक्सक्लूसिव ब्रेस्टफीडिंगले निरन्तरता पाओस् ।
बच्चालाई स्तनपान नगराउँदा के हुन्छ ?
आमाको दूधले बच्चा आमा दुवैको हेल्थलाई प्रोमोट गर्छ । यसले बच्चाको दिमाग र शरीरको विकास देखि लिएर विभिन्न रोगहरूसँग लड्न सक्ने क्षमताहरू बढाउँछ । यदि स्तनपान गराउने क्रम घट्दै गयो भने आउने दिनमाहरुमा समाजमा स्वास्थ्य बालबालिका, स्वास्थ्य आमाहरू अथवा यसले बच्चालाई रोगहरूबाट लड्न सक्ने क्षमता कमी भएर ज्यान जान पर्ने समस्याहरू देखा पर्न सक्छन् । त्यसैले यसका बाधाहरूलाई हामी सबै मिलेर समाधान गर्न तिर लाग्नुपर्छ । यो हामी हरेकको कर्तव्य हो ।
पहिलो पटक आमा बनेका महिलाहरूले बच्चालाई दूध खुवाउँदा गाह्रो र स्ट्रेस हुन्छ भनेर अनुभव सुनाउनु हुन्छ, यसलाई यहाँले कसरी लिनुहुन्छ ?
पहिलो पटक गर्भवती हुनु भएका महिलाहरूका लागि आमा बन्नु एउटा नयाँ अनुभव हो । अवस्यपनि यसमा परिश्रम त लाग्छ नै, तर यो आमा एक जनाको मात्रै जिम्मेवारी होइन, आमालाई यस गाह्रो समयमा हामीले, हाम्रो समाजले, आमा बन्नु भएको परिवारले, श्रीमानले र परिवार सबै जनाले मिलेर आमालाई सहयोग गर्नुपर्ने हुन्छ । ब्रेस्ट फिडिङलाई हामीले सहयोग र सर्पोट गर्यौ भने हामाहरुलाई धेरै सजिलो हुन्छ ।
बच्चालाई कति वर्ष सम्म दूध खुवाउनु राम्रो हुन्छ ?
बच्चालाई जन्मने बित्तिकै १ घण्टा भित्रमा आमाको दूध खुवाउनु पर्छ । त्यस पछि निरन्तर आमाको दुधमात्रै खुवाएर ६ महिना सम्म हुर्काउने हो । त्यसपछि हामीले दुई वर्षसम्म आमाको दूधलाई निरन्तर खुवाउनुपर्यो । साथै बच्चाको उमेर अनुसारको खाद्य बस्तुहरू पनि सँगसँगै खुवाउनु पर्छ । जसलाई हामीले कंम्प्लीमेंट्री फीडिंग भन्छौं त्यो पनि हामीले सँगै सुरु गर्नुपर्छ र त्यसपछि हामीले विशेषगरि ठोस खाद्यवस्तुहरूमा ध्यान दिनु पर्दछ ।
बच्चालाई चाडै स्तनपान छुटाउँदा कस्तो असर पर्छ ?
बच्चालाई टाइम भन्दा अगाडि नै दूध छुटाउनु भनेको उनलाई अरु चिज खुवाउनु हो । अरु चिजलाई खुवाउँदा जस्तै गाई भैँसीको दूध खुवाउँदा, बट्टाको दूध खुवाउँदा हुने समस्याहरू कडा रुपमा देखिन्छन् । जस्तै बच्चालाई अपच हुने, झाडावान्ता लाग्ने, बच्चाको तौल घट्न थाल्ने, न्याउरो हुने, कुपोषण हुने, बच्चाहरूमा एलर्जी आउने । आमाको दूध छिटो छुटाउनु भनेको यी कुराहरूलाई हामीले प्रोत्साहन दिएको जस्तो हुन्छ । अर्को कुरा कतिपय आमाहरूले बच्चालाई दूध खुवाउन कमी गरेर छिटै, उमेर भन्दा अगाडि नै ठोस खानाहरू खुवाई दिनुहुन्छ, जस्तै तीन महिनामा चार महिनामा जाउलो, भातहरू खुवाउने । जुन ६ महिना पछि खुवाइन्छ । अगाडि नै खुवाउँदा आन्द्रा बटारिने, आन्द्राले पचाउन नसकिने यो समस्याहरू पनि देखा पर्न सक्छन् ।
त्यसो भए बच्चालाई लामो समयसम्म दूध खुवाउँदा चाहिँ फाइदा हुन्छ कि बेफाइदा ?
समय अनुसारको खाना हुनु पर्छ । बच्चालाई चाहिने समय भनेको दुई वर्षसम्म बच्चाले आमाको दूध खान पाउनुपर्छ । ६ महिना सम्म आमाको दूध मात्रै र त्यस लगतै बिस्तारै हामीले अन्य ठोस खाध्यन्नहरु पनि खुवाउनपर्छ । आमाको दूध पनि २ वर्ष सम्म खुवाउँदा यसको फाइदा देखिन्छ । त्यो भन्दा पछाडि चाहनु हुनेले खुवाउँदा हुन्छ । तर हामीले त्यसपछि चैँ अन्न खानाहरूमा, फलफूलहरूमा हामीले जोड दिएका छौँ । यसलाई एप्रोप्रिएटेट इन्फ्यान फिडिङ प्राक्टिस भन्छौं । उमेर अनुसारको खाद्य बस्तु बच्चालाई खुवाउनु पर्छ ।
कतिपय आमाहरूको अवस्थामा सुरुमा मज्जाले दूध आउँछ, बच्चालाई खुवाई रहेको हुन्छ, त्यसपछि एक्कासि दूध आउन बन्द हुन्छ, यस्तो किन हुन्छ ?
आमाको बन्नु, आमाले दूध चुसाउनु भनेको सबै फिजियोलोजी हो । बच्चा जन्मिएपछि आमाको दूध आउने भन्ने एउटा प्रक्रिया हो । तर त्यो प्रक्रिया कसरी सुरु हुन्छ ?, दूध कसरी बन्छ ?,भन्ने हाम्रो शरिरमा भएको विभिन्न अङगहरु जुनमा चैँ हर्मोन उत्पादन हुन्छ । जस्तै दिमागबाट हाइपोथैलेमस प्युमोरी गान्डहरुबाट अक्सिटोसीन, प्रोल्याक्टिन भन्ने हर्मोनहरु उत्पादन हुन्छ । त्यसले आमाहरूको डक्टुलहरुमा गएर दूधको प्रडक्सन हुन्छ । स्तनबाट दूध आउने र दूध निस्कने तत्वहरु हर्मोनहरुले गर्छ । तर यो प्रक्रियालाई सुरुवात गर्ने भनेको बच्चाले दूध चुसे पछि हो । जबसम्म बच्चाले दूध चुस्दैन त्यतिबेला पनि दूध आउने भन्ने हुँदैन, बच्चाले दूध पटक पटक चुस्न थालेपछि मात्र आमाको मस्तिष्कमा स्टिमुलेशन जान्छ र त्यसले हर्मोन उत्पादन गरेर दूध बन्न थाल्ने हो ।
यो प्रक्रियामा ब्रेक आयो, जस्तै आमाले बीच बीचमा बट्टाको दूधहरू प्रयोग गराइदिनुभयो, गाई भैसिको दूध प्रयोग गराइदिनु भयो भने चुस्ने प्रक्रिया कम हुन जान्छ । यदि बच्चाले पटक पटक चुसेन भने आमाको दूध स्वतः कम हुन थाल्छ । त्यही भएर हामीले पटक पटक बच्चालाई दूध चुसाउँदै गएपछि आमाको दूधमा कमी आउने भन्ने हुँदैन तर त्यो सँग सँगै आमाको स्वास्थ्य पनि सही हुनु पर्यो । त्यसको लागि हामीले सप्लिमेन्टहरू, क्याल्सियमहरू खानु पर्ने, पोसिलो प्रोटिन भएको खानाहरू खानु पर्ने, झोलिलो चिजहरू प्रशस्त मात्रा खानुपर्ने, आइरनहरू खानु पर्ने, यो कुरामा आमाको स्वास्थ्य पोषणमा पनि ध्यान दियौँ र बच्चालाई पटक पटक दूध चुसायौँ भने दूधमा कमी हुँदैन ।
बच्चालाई आमाको दूध कमी भएमा के गर्ने, कस्तो सल्लाह दिनुहुन्छ यहाँले ?
त्यस्तो अवस्थामा आमाको दूध नआउनुको कारण खोजी गर्नुपर्छ । किनभने यो नर्मल फिजियोलोजिकल प्रक्रिया हो । यदि आमामा रोग छ जसले गर्दा आमाले पोसिलो खाने कुराहरू खानमा कमी गर्नुभएको छ । अथवा बच्चामा कुनै समस्या छ, रोग छ, जसले गर्दा आमाको दूध चुस्न असक्षम रहेको छ । त्यस्तो अवस्थामा हामीले अल्टरनेटिभ अरु फिडिङ तीर हामीले हेर्नु पर्ने हुन्छ । त्यो बाहेक अरु बेलामा आमा पनि स्वास्थ्य हुनुहुन्छ, बच्चापनि स्वास्थ्य हुनुहुन्छ भने हामीले दूध खुवाउने तरिका नमिलेको हो भने त्यो कुराहरूमा हामीले सर्पोट गर्ने ।
सर्पोट सिस्टम जस्तै आमालाई स्ट्रेस भएको कन्डिसन छ भने, स्ट्रेसले पनि दूध आउन कम हुन्छ । त्यो स्ट्रेसलाई हामीले म्यानेज गर्नुपर्यो, आमालाई पर्याप्त रुपमा सर्पोटहरु दिनु पर्यो । अहिले हाम्रो समाज धेरै नै अगाडि बढ्दै गइरहेको छ । समाजमा परिवर्तनहरू आएको छन् । उक्त परिवर्तनहरुसंगै हामी सहरीकरण हुँदै गइरहेका छौं । यसले गर्दा पनि हामीले सँगसँगै मदर फ्रेन्ड्ली वातावरण बनाउनमा अलि कमी भई रहेको देखिन्छ ।
यसकारणले जो कामकाजी आमाहरू हुनुहुन्छ , दूध खुवाउनु पर्छ भन्ने थाहा हुँदा हुँदै पनि काममा छिटै जानु पर्ने भएकोले यो ब्यारीअर आएको हुन सक्छ । त्यसैले कामकाजी आमाहरूलाई काम गर्ने स्थानहरूमा एउटा ब्रेस्टफीडिंग रुम भनेर (स्तनपान कक्ष भनेर) हुनु पर्छ । जहाँ आमाले दूध दुएर राख्न सकोस् अथवा बच्चालाई ल्याएर दूध चुसाउन सकोस् । यो व्यवस्थाहरू अल्लि कमी भएको देखिएको छ । हामीले सार्वजनिक स्थलहरूमा जस्तै सुपरमार्केट, एयरपोर्टहरू जहाँ पब्लिक प्लेसहरुमा ब्रेस्टफीडिंग रुम भनेर जुन हुनुपर्छ, त्यहाँ धेरै कमी देखिन्छ । जसले गर्दा आमाहरूलाई दूध चुसाउन चाहँदा चाहँदै यस्तो ब्यारियरले गर्दा दूध खुवाउन नसकिने हुन्छ ।
त्यो सँगै कामकाजी महिलाहरूलाई आफ्नो दूध दुएर, भण्डारण गरेर, घरैमा सुरक्षित ढंगले बच्चालाई दुएको दूध तताएर खुवाउन मिल्छ भन्ने जानकारी कतिपय आमाहरूलाई छैन । साथै समाजमा हाम्रो नर्मल प्रक्रिया हो, जुन आमाहरूले गएर सुरक्षित रुपमा दूध दुएर खुवाउन मिल्छ भन्ने समाजमा पनि जानकारी नभएकाले वा जानकारी हुँदा हुँदै पनि यो कसरी गर्ने भन्ने तरीका थाहा भएकाले पनि यस्ता समस्याहरू आउँछन् ।
साथसाथै हाम्रो आमाहरूलाई पर्याप्त रुपमा प्रसूति बिदाहरू नपाउँदा हाम्रो ग्यापहरू बढ्दै गएको अथवा एक्सक्लूसिव ब्रेस्टफीडिंग दर घट्दै गएको को हो कि भन्ने शंका छ । त्यही भएर सरकारको तर्फबाट र गैरसरकारी संस्थाहरूले पनि यस कुरामा ध्यान दिएर आमाहरूलाई प्रोत्साहन दिन जरुरी छ ।
आमाको दूध कसरी भण्डारण गर्ने ?
आमाको दूध भण्डारण गर्ने भनेको दूध दुहुने तरिकाहरू हो, जसका लागि गाइड लाइन्सहरु छ । यसमा सरसफाइमा ध्यान दिने र हाम्रो बे्रस पम्पहरू हुन्छ जसलाई हातले गर्न पनि मिल्छ भने इलेकट्रोनिक मेसिनहरू पनि पाइन्छ । जसलाई सफा टेबलमा राखेर हामीले दूधलाई दुहेर फ्रिजमा राख्यौ भने कम्तीमा हामीले ४ दिन सम्म ढुक्क भएर उक्त दूधलाई तताएर खुवाउन सक्छौँ । त्यो भन्दा बढी हामीले फ्रिज गरेर राखियो भने आइस ढिक्का बनाएर राखियो भने ६ महिना सम्म पनि हामीले त्यो दूधलाई पगालेर त्यसलाई पनि गाइडलाइन फलो गरेर पगालेर तताएर पनि बच्चालाई दूध खुवाउन सकिन्छ । हामीले बाहिरी तापक्रममै राखेर कम्तीमा ५ घण्टा सम्म पनि केही पनि बिगार नहुने गरी सुरक्षित तरीकाले बच्चालाई दूध खुवाउन सकिन्छ ।
विभिन्न औषधि सेवन गर्ने महिलाहरूले स्तनपान गर्नु हुन्छ कि हुँदैन ?
स्तनपान गराउने बेलामा आमाको रोग अनुसार फिजिसियनहरुसँग सल्लाह गर्नुपर्ने हुन्छ । तर दूध खुवाई राख्नु भएको आमाले कुन औषधि खुवाउनु हुन्छ वा हुँदैन भनेर चेक जाँच गरेर मात्र हामीले गाइड गर्ने गरेका छौँ ।
स्तनपान गराइरहनु भएको महिलाहरूमा ब्रेस्ट क्यान्सर हुने सम्भावना कत्तिको हुन्छ ?
ठुलो फाइदा आमाहरूलाई स्तनपान गराउनु भनेको यही हो । हाम्रो स्तनको क्यान्सर साथै पाठेघरको क्यान्सरलाई कम गराउँछ , त्यसैले पनि आमाहरूलाई आफ्नो सुरक्षाको लागि भएपनि स्तनपान गराउन प्रोत्साहन गर्नुपर्छ ।
समाजमा एकपट्टिको मात्र स्तनपान गराएमा अर्को पट्टि दूध जम्छ र यसले गर्दा स्तन क्यान्सर हुन्छ भन्ने गरिन्छ, यसमा कत्तिको सत्यता छ ?
सामान्यतया हामीले स्तनपान गराउँदा दुवै पट्टि खुवाउने भन्छौं । एक पट्टिको दूध चुसाई सके पछि मात्र अर्को पट्टिको दूध चुसाउने भन्छौं । जसले गर्दा दूध नगाबीयोस् । दुवै तिरबाट बच्चाले आदि आदि खादा के हुन्छ भन्दा, आमाको दूध पनि फरक प्रकारको आउँछ । पहिलो चोटि आउने दूधलाई फोरमिल्क भन्छौं भने पछि आउनेलाई हामी हिंडमिल्क । यिनीहरूको दुईवटै पोषण भ्यालु फरक हुन्छ । त्यही भएर एक पट्टि पुरै खालि नभएसम्म अर्को पट्टि नखुवाउने भनेर यसरी हामीले सिकाउँछौँ । जसले गर्दा बच्चालाई पनि सम्पूर्ण पोषण प्राप्त होस् र आमालाई पनि दूध गाभिएर समस्या नहोस् । दूध गाभिने गर्दा दुखाई हुने समस्या हुन सक्छ । त्यही भएर हामीले बराबर रुपमा खुवाउनु पर्छ ।
अहिले आमाहरूले स्तनपान सम्बन्धी कस्ता कस्ता समस्याहरू लिएर आउने गर्नुभएको छ ?
स्तनपान गर्नुपर्छ भन्ने जानकारी भएका पढे, लेखेका ९० प्रतिशत आमाहरूमा नै अहिले समस्या देखिएको छ । थाहा हुँदाहुँदै पनि दूध खुवाउन नसक्ने कारणहरू लिएर आउनुहुन्छ । जस्तै कामकाजी महिला, घरमा सर्पोट सिस्टम नभएको अथवा यसरी दूध दुएर खुवाउन मिल्छ भन्ने जानकारी नभएको महिलाहरू आउनु हुन्छ भने दूध खुवाउँदा दूध गाभिएको, दूध कम आउने, बच्चालाई पुग्यो कि पुगेन भनेर अड्कल लाउन नसक्ने, खुवाउने क्रममा कति बेलासम्म खुवाउने, कसरी चुसाउने , पोजीसनहरु जानकारी नभएर पनि आउने गर्नु भएको छ ।
नेपालमा विश्व स्तनपान सप्ताह मनाउने गरेको पाइन्छ, तर कतिपयलाई यसबारे जानकारी नभएको हुन सक्छ, यो कसरी मनाउने र यसको के महत्त्व छ ?
हरेक वर्ष अगस्टको पहिलो हप्ता देखि सेवेन्थ सम्म विश्वभरि नै वोल्ड ब्रेस्टफीडिंग भनेर विश्व स्तनपान दिवस भनेर मनाइन्छ । यसको हरेक वर्ष स्लोगन दिएको हुन्छ । समय सापेक्षिक त्यो समयमा हामीले कुनलाई जोड दिने भन्ने स्लोगन दिएको हुन्छ । यस वर्ष हाम्रो स्लोगनमा रहेको छ ‘क्लोजिङ द ग्याप एण्ड सर्पोटिङ ब्रेस्टफीडिंग फर अल’ । यही स्लोगन अनुसार हामीले यो ब्रेस्टफीडिंग विक सप्ताहमा विभिन्न कार्यक्रमहरू गछौं । जस्तै ब्रेस्टफीडिंग ग्यापको कुरा गर्यौँ, यसलाई हामीले समाधान गर्नको लागि प्रयासहरू गछौं । तालिम कार्यक्रमहरू गछौं । हामीले काठमाडौं महानगरपालिकाहरूसँग संलग्न रहेको ‘अर्बन प्रमोसन, हेल्थ प्रमोसन’ संगठनमा कार्यरत र हेल्थ वर्कसहरु, ३२ जना स्वास्थ्यकर्मिहरुलाई हामीले आमाको दूध कसरी दुने ?, भण्डारण कसरी गर्ने ?,भन्ने अन्तरक्रिया कार्यक्रमहरू गराएर उहाँहरूलाई सही जानकारीहरू गराएर जरुरी कुराहरू जसले गर्दा स्तनपानको ग्याप र स्तनपानको कमिलाई हामीले प्रोमोसन गर्नको लागि यो प्रोग्रामहरू आयोजना गरेका छौं । हामीले जसलाई हेल्थ वर्करहरुलाई जानकारी दिन्छौँ, उहाँहरुले काठमाडौँमा रहेका आमाहरूलाई कसरी घरैमा सही र सुरक्षित रुपमा आमाको दूध दुएर बच्चाहरूलाई सुरक्षित तरिकाले खुवाउन सकिन्छ भन्ने जानकारी दिनुहुन्छ ।
हामीले समाजमा यो प्रक्रियालाई नर्मलाइज गर्दै जाऊँ र आमाको दूध खुवाउने दरलाई बढाउँदै जाऊँ भन्ने प्रयास हो । यसै गरि अन्य सचेतनामुलम कार्यक्रमहरू, हामीले विभिन्न संस्थाहरूबाट आमाहरूलाई, हाम्रो हेल्थ वर्कसहरु बारेमा जानकारी दिऔँ । आमाहरूको दूधको फाइदाको बारेमा कुराहरू गरौं । जति यसको बारे कुराहरू गछौं समाजमा सही सूचनाहरू जान्छ र बच्चा र आमाको हेल्थको लागि हामीले काम गर्न सक्छौँ ।
अन्त्यमा कुनै सल्लाह सुझाव दिन चाहनुहुन्छ ?
जुन ब्रेस्टफीडिंग गराउने दर घटेको देखिन्छ । यसमा हामीले धेरै कामहरु गर्नुपर्ने देखिन्छ । हाम्रो समाजमा जुन ग्यापहरू खाडलहरू देखिएको जसले गर्दा हाम्रो आमाहरूले चाहँदा चाहँदै पनि दूध खुवाउन नसकेको कुराहरूलाई हामीले कसरी समाधान गर्न सक्छौँ भनेर हरेक व्यक्तिले आफ्नो तर्फबाट ब्रेस्टफीडिंग प्रोटेक्सन प्रोमोसन गर्दै जाऊँ र हाम्रो समाजको महिला र बच्चाहरूको स्वास्थ्यमा ध्यान दिऊँ ।
- मकालुखबरकर्मी तेन्जिङ डोल्मा तामाङ र विष्णुमाया श्रेष्ठ ले तयार पारेको सामग्री
हेर्नुहोस् भिडिओ :