फिल्म समीक्षा

वर्गीय असमानताले निम्त्याएको द्वन्द्व ‘मोदीबेनी’

काठमाडौँ । नेपालमा थुप्रै विषयमा चलचित्रहरू बन्ने गरेका छन् । तर कुनै एउटा स्थान विशेषको कथा वा घटनालाई चलचित्रहरू बनाइएको इतिहास भने छैन । त्यसो त चलचित्र ‘मोदीबेनी’ लाई पनि पूर्णतः ‘यही स्थान विशेषको फिल्म हो’ भनेर भन्न नमिल्ला । किनभने चलचित्रले कुनै स्थान विशेषको कथा मात्र भनेको छैन । चलचित्रले प्रेमकथा, पारिवारिक कथा, सामन्ती र पुँजीवादी व्यवस्थाको चित्रणका साथै वर्गीय विभेद र राजनीतिक पदको दुरुपयोग जस्ता विषयवस्तुलाई सम्मिश्रणका साथ प्रस्तुत गरेको छ ।

यस चलचित्रले पर्वत जिल्लामा रहेको मोदीबेनी घाटसँग नाता गाँस्दै चलचित्रको नाम नै ‘मोदीबेनी’ राखेको देखिन्छ । मोदीबेनीघाट जहाँ अहिले पनि दैनिक थुप्रै मृत मानव शरीरहरू जलाइन्छ । उक्त स्थानमा भूत–प्रेत र आत्मासम्बन्धी थुप्रै कथाहरू छन् । उही कथाहरू मध्य एकलाई टपक्क टिपेर लेखकले चलचित्र ‘ मोदीबेनी’मा उतारेको देखिन्छ ।

चलचित्रमा मलामीहरू लास जलाउन भनी मोदीबेनी घाट तिर लागेका दृश्य देख्न सकिन्छ । उहिबेला आकाश गर्जिएर ठूलो पानी पर्न थाल्छ । पानीमा भिजेरै भए पनि मलामीहरू घाटमा पुग्छन् तर त्यतिखेरसम्म साँझ ढल्किसकेको हुन्छ । लास जलाउने स्थिति नभएपछि २ जना मलामीहरू मात्र लास कुरेर बस्छन् र बाँकी गाउँ फर्कन्छन् ।

‘घाटमा लगिसकेको लासलाई एक्लै छाड्नु हुन्न । नत्र हरियो बाँसको खटमा छोपेर राखिएको लास, खटै सहित लिएर हिँड्छ’ भन्ने नेपाली समाजको मान्यतालाई चलचित्रमा देख्न सकिन्छ । नभन्दै बेलुकी कुरुवा बसेका मलामीहरू भोक र डरलाई काबु गर्नका लागि रक्सी पिउन भन्दै लासलाई त्यत्तिकै छाडेर उनीहरू गाउँ पस्छन् ।

चलचित्रमा देखाइएको यस हरर दृश्यले दर्शकलाई तर्साउन सफल बनेको देखिन्छ । उही मोदीबेनी घाटको भूतको कथाले दर्शकहरूलाई हलसम्म तान्ने माध्यम बन्न सक्छ । चलचित्रलाई सफल बनाउने सबैभन्दा बलियो पक्ष नै मोदीबेनीघाटको कथा हो ।

अघि भने जस्तै ‘ मोदीबेनी’ मा घाटको कथा मात्र छैन । यसले पूर्णिमा (वर्षा शिवाकोटी) र अमर (अमर प्रताप श्रेष्ठ) को प्रेमको सहारा लिएर अन्य पारिवारिक, सामन्ती र पुँजीवादी व्यवस्थाको चित्रणका साथै वर्गीय विभेद र राजनीतिक पदको दुरुपयोग जस्ता विषयवस्तुलाई अघि बढाएको छ ।

चलचित्रकी नायिका ‘पूर्णिमा’ गाउँका कुलिन परिवारमा जन्मिएकी धनिवर्गको प्रतिनिधि पात्र हुन् । उनी सहरको सुख, सुविधा र मोजमज्जालाई त्यागेर गाउँमै पढाउन रुचाउने आदर्शमूलक पात्रका रूपमा उभिएकी छन् ।

सानोमा चिना हेराउँदा पण्डितले उनको ग्रहदशामा ठुलो खोट देखिएको बताएका हुन्छन् । नभन्दै उनी ठुली भएपछि चलचित्रको नायक ‘अमर’ सँग प्रेममा परेको देखाइएको छ । यस प्रेमकथामा वर्गीय विभेद नै मुख्य समस्या हो ।

चलचित्रमा अमर र पूर्णिमा कै माध्यमबाट नेपाली समाजमा विद्यमान वर्गीय विभेदलाई छर्लङ्ग पारिएको छ ।

उता चलचित्रका नायक ‘अमर’ जो सानैमा मुगलान पसेका थिए । उनी जवान भएर गाउँ फर्केका हुन्छन् । त्यसपछि उनले आमाको ऋण तिर्ने काम गरेको देखिन्छ । उनी गाउँमा एउटा विद्यालय बनाउन चाहन्छन् । उनले विद्यालयका लागि आवश्यक चाँजोपाँजो मिलाइसकेका हुन्छन् तर काम सुरु नहुँदै सांसदले आफ्नो व्यक्तिगत स्वार्थका कारण पद र राजनीतिक शक्तिको दुरुपयोग गरेकाले विद्यालय बनाउने उनको सपना पुरा भएको देखिँदैन ।

चलचित्रमा नेपाली राजनीतिज्ञहरूको यथार्थलाई चित्रण गरेका छन् । अफसोस हाम्रा देशका जनप्रतिनिधिहरू देश र जनताको सेवा गर्ने भावनाले ओतप्रोत नभई सोझा जनताहरूलाई कसरी आफ्नो वशमा पार्न सकिन्छ र उनीहरूको कमजोरीबाट कसरी फाइदा लिन सकिन्छ भन्ने दाउमा बसेका हुन्छन् ।

उता अभिनेता सरोज खनाल, ‘तीर्थराज’ उर्फ ‘जिम्बल बा’ पनि सामन्ती र पुँजीवादी व्यवस्थाका एक प्रतिनिधि पात्र हुन् । उनले देशमा व्यवस्था बदलिएको कुरा स्विकार्नै सकेका छैनन् । उनी अझै जनताहरूलाई दबाएर, झोक्याएर उनीहरूको सम्पत्ति हडप्नु पर्छ भन्ने सोचमा छन् । त्यसैले आफ्ना छोरालाई पनि उही बाटोमा हिँड्न भन्छन् । तर उनका छोरा ‘सानोबाबु’, जो विदेशमा अध्ययन गरेका छन् । उनी आफ्ना बुबाको कुरामा सहमत देखिँदैनन् । उनी जनताहरूको मन जितेर बरु सांसद बन्न चाहन्छन् ।

चलचित्रमा एउटी गर्भवती महिलाले गाग्रोमा पानी बोकिरहेको दृश्य देख्न सकिन्छ । जसले पुरुष प्रधान समाजको चित्रण गरेको छ । ‘घरको काम महिलाहरूको हो’ भन्ने हाम्रो समाजले गर्भवती अवस्थामा समेत उनीहरूलाई छुट दिँदैन भन्ने सन्देश उक्त दृश्यबाट पाउन सकिन्छ ।

यस बाहेक प्रवीण खतिवडा र रेजिना उप्रेतीको भूमिकाले पनि फिल्ममा महत्त्वपूर्ण स्थान पाएको छ ।

यसरी चलचित्र ‘ मोदीबेनी’ मा थुप्रै विषयवस्तुलाई उठाउन खोजिए पनि केही विषयवस्तु मात्र उठ्न सफल भएका छन् । बाँकी विषयवस्तुहरू भने उठे जस्तो मात्र देखिएको छ ।

चलचित्र हेरिरहँदाखेरि निर्देशकले मोदीबेनीको घाटको कथा देखाउनकै लागि चलचित्रका नायक अमर र पूर्णिमाको प्रेमकथालाई हेला गरेको महसुस हुन्छ । चलचित्रमा उनीहरू बिचको प्रेम हुनुको एक परिपक्व कारण नदेखाइँदा पनि दर्शकहरू उनीहरूको प्रेममा डुब्न सकेको छैन भने बिछोडमा पनि भावह्वील बनेको देखिँदैन । त्यसैगरि मध्यान्तर पछिको दृश्यमा त झन् उनीहरूको प्रेमकथाले बिट नै मारेको छ । त्यसपछि भने प्रेमभावले बदला भावको रूप लिएको छ ।

तर शृङ्गार रसको उत्पन्न हुन नपाउँदै लेखकले दर्शकहरूमा ‘रौद्र रस’ बीजारोपण गरिदिँदा उक्त बदलाले पनि दर्शकहरूलाई मुरमुराउन सक्दैन । चलचित्रको सबैभन्दा दुर्बल पक्ष पनि यही नै हो । जसले गर्दा चलचित्र अघि बढे पनि दर्शकको मन भने अघि बढ्नै मान्दैन । समग्रमा भन्नुपर्दा निर्देशकले चलचित्र बनाउँदा भावलाई ख्याल गरेको देखिँदैन । यद्यपि चलचित्रको साख बढाउन गरिएको ‘नौलो प्रयोग’ ले नै चलचित्रलाई सखाप बनाउने कारण बन्न पुगेको ठम्याउन सकिन्छ ।

त्यसैगरि चलचित्रको भाषाशैलीमा थोरै फरकपन भए पनि सरल र सुबोध्य नै छ । यसबाहेक चलचित्रमा अभिनेता सरोज खनालको दमदार अभिनय देख्न सकिन्छ । उनको अभिनयलाई जताबाट चिहाए पनि खोट लगाउने ठाउँ देखिँदैन । यसले चलचित्रलाई जीवन्त बनाउन मद्दत पुगेको छ । चलचित्र ‘ मोदीबेनी’बाट नव नायकका रूपमा भित्रिएका अमर प्रताप श्रेष्ठको अभिनय चित्त बुझ्दो नै छ भने साथै नायिका वर्षा शिवाकोटिको अभिनय पनि ठिकठाक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *