टिप्पणी

जनतासँग डराएका प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । बैठकमा पार्टीको अस्थित्व जोगाउनेबारे व्यापक छलफल भइरहेको छ । सत्ता गुमेपछि बरालिएको माओवादी केन्द्र जनताको साथ खोजिरहेको छ । जनताको मन जित्न र मनलाई मतमा परिणत गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दौडधुप बढिरहेको छ ।

जारी स्थायी कमिटी बैठकमा पनि प्रचण्डले जनतामा जाने योजनाका विषयमा छलफल गरिहरेका छन् । उसो त, प्रचण्ड सत्तामा पुगेपछि जनता र मतदाता बिर्सिन्छन् । जब सत्ता गुमाउँछन्, तब जनतालाई सम्झिन्छन् ।

सत्ता गुमाएपछि प्रचण्ड मात्रै होइन, माओवादीका सबै नेताहरू समावेशिता, सङ्घीयताको बचाउमा लाग्छन् । जनताको पिर मर्का बुझेको जसरी जनताकै कुरा गर्छन् । सत्ता गुमेपछि माओवादीका नेताहरू फेरी जनतामाझ जाने तयारीमा छन् ।

शनिवारको बैठकमा अध्यक्ष प्रचण्डले आन्दोलनका स्वरूप परिवर्तन गरी जनतामा जाने बताएका थिए । आन्दोलनका नयाँ स्वरूप बनाइ नयाँ ढंगबाट जनतामा जानेबारेमा अध्यक्ष प्रचण्डले निर्देशित गरेका थिए ।

प्रवक्ता अग्नि सापकोटाले प्रचण्डले गरेको ब्रिफिङ सुनाउँदै भने– ‘पछिल्लो अवस्थाको ठोस विश्लेषण गर्ने कुरामा राख्नुभयो । पार्टी सुदृढीकरण गर्ने कुरा राख्नुभयो । परिस्थिति जटिल भएको र त्यसका चुनौतीहरूको समाधान गर्न पार्टी सक्षम, सुदृढ हुनुपर्ने र त्यसका लागि सुदृढीकरण अभियान चलाउनुपर्ने बताउनुभएको छ । आन्दोलनका स्वरूप पनि नयाँ ढंगबाट सञ्चालन गर्नेकुरामा अघि बढ्ने र सदन प्रभावकारी बनाउने र सदन र सडक जोड्ने काम गर्ने । नयाँ कार्यक्रमसहित जनतामा जानेकुरामा जोड दिएर राख्नुभएको छ ।’

लामो समयसम्म सत्तामा रहेको माओवादीलाई प्रतिपक्षमा पुगेपछि पार्टी, संगठन र जनताको माया लाग्न थालेको हो । माओवादीले अब पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

माओवादी पदाधिकारी बैठकले गाउँ स्तरदेखि नै पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारबाट बाहिरिएसँगै जनतामा जाने र पार्टी सङ्गठनलाई बलियो बनाउने अवसर प्राप्त भएकाले पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको माओवादी उपाध्यक्ष सापकोटाले बताए ।

जनतासँग दुरी बढाएको माओवादी

सरकार र सत्तामा रमाइरहेको माओवादीले जनतासँगको दूरी बढाएको लामै समय भयो । सरकारमा हुँदा पनि पार्टीको नीति र कार्यक्रम कार्यान्वयन गर्न नसकेको माओवादी जति धेरै सरकारमा बस्छ, उति धेरै नागरिकसँग दूरी बढाउँछ ।

माओवादीमा जनताको विषयमा भन्दा पनि सरकार र शक्तिको चलखेल धेरै हुँदा पार्टीको आकार पनि घट्दै गएको छ । कुनै समय देशको पहिलो पार्टी बनेको माओवादी केन्द्र अहिले ३२ सिटमा खुम्चिएको छ ।

निरन्तर पार्टीको आकार घट्दै जाँदा माओवादीको जनमत पनि गुम्दै गएको छ । जनताका समस्या समाधान गर्न नसकेको माओवादी र माओवादीको नेतृत्वले आफ्नै मतदाता र कार्यकर्ताको पनि विश्वास गुमाइरहेको छ ।

सत्ताबाट हटेपछि जनताको साथ खोज्ने प्रचण्डलाई जनतामा जाने आधार भने छैन । जस कारण माओवादीले नयाँ एजेन्डा र आन्दोलनका कार्यक्रम खोजिरहेको छ ।

माओवादीको ब्रान्डले काम गर्न नसकेपछि प्रचण्ड नयाँ आन्दोलन र नयाँ कार्यक्रमको खोजीमा जुटेका हुन् । एकातिर, माओवादीमा मौलाएको गुटगत गतिविधि र घट्दै गएको जनतमले चिन्ता थपिएको छ ।

०८४ सालको आम निर्वाचनमा देशकै निर्णायक शक्ति बन्ने प्रचण्डको दाबीमा जनताले मत मार्फत अस्वीकार नगर्लान् भन्न सकिन्न । तसर्थ, माओवादीले आफ्नो नीति र सिद्धान्तमा अडिग रहेर, सत्ताभन्दा जनतालाई माथि राखेर काम गर्नुपर्छ र पार्टी विलयको बाटोलाई भत्काउनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *