विदेश गइदिम् क्या हो !
काठमाडौं । युवाहरूको आशा र सपनाको सहर हो काठमाडौँ । सपनाको भारी बोकेर काठमाडौँ आउनेको संख्या धेरै छ ।
देशभरबाट धेरै युवा तथा विद्यार्थी मात्रै होइन, जुनसुकै वर्ग र समुदायका व्यक्तिहरू रोजगार, अध्ययन र सपना पुरा गर्न काठमाडौं आउँछन् । कतिले सपना पुरा गर्छन्, गरेका छन्, त कोही अझै सङ्घर्षमै छन् ।
गाउँमा हुँदा सबैले सोच्छन्, देशमै पढ्छु, देशमै इलम गर्छु । आमाबुवाको पनि सपना त्यही हुन्छ । छोराछोरी देशमै बसुन् र बुढेसकालको सहारा बनुन् । तर, पछिल्लो समय यसको ठिक विपरीत हुँदै गइरहेको छ । देशमा पढ्ने वातावरण नभएर हो वा विदेश जाने रहलले हो, अहिले गाउँमा प्राय युवा छैनन्, भएका जति काठमाडौँका कन्सल्टेन्सीमा छन्, त कोही विदेशमा ।
हुन त धेरै जनाले गाउँमा मेलापात, घाँस दाउरा गरेर सरकारी स्कुलमा अध्ययन गरेका हुन्छन् । जब युवाहरू उच्चशिक्षा अध्ययन गर्न सहर आउँछन्, तब युवाहरूमा तनाव, जिम्मेवारीको बोझ थपिन्छ । जसले युवाहरूलाई परदेश जान बाध्य बनाइहरेको छ ।
जब उमेर बढ्दै जान्छ समय बित्दै जान्छ, समय अनुसार घरको आर्थिक अवस्था र आवश्यकताहरूले धेरै कुराहरूको माग गर्न थाल्दछ । पढ्दा लागेको ऋण र घरपरिवारको जिम्मेवारीले युवाहरूको मनमा आउने सोच हो– विदेश जाम कि के हो ?
कलेज होइन, कन्सल्टेन्सी प्राथमिकता
सपना र जोस बोकेर काठमाडौँ आएका युवाहरू अहिले कलेजमा भन्दा धेरै कन्सल्टेन्सीहरूमा भेटिन्छन् । काठमाडौंमा स्कुल, कलेजभन्दा धेरै कन्सल्टेन्सीहरू स्थापना भएका छन् । जहाँबाट लाखौँ युवाहरूले आफ्नो भविष्य खोजीमा परदेशको यात्रा तय गरिरहेका छन् ।
हुन पनि जसरी समय बित्दै जान्छ, समयसँगै देखेको सपना पनि हराउँदै जान्छ । समयले, परिस्थितिले, आवश्यकताले अर्कै खोज्छ । मुटुका चालहरू जस्तै खुट्टाका पाइलाहरू अनि दिमागका सोचहरू तीव्र गतिमा अगाडि बढिरहेका हुन्छन् ।
जब विदेश जाने आफन्तलाई बिदाइ गर्न त्रिभुवन विमानस्थल पुगिन्छ तब सोच आउँछ– कुनै दिन म पनि यही लाइनमा त हुन्न नि !
रहरले होइन, बाध्यताले विदेश गइरहेका छन् युवाहरू । देशको आर्थिक, शैक्षिक र राजनीतिक अवस्थाकै कारण युवाहरू बिदेसिन बाध्य छन् ।
युवाहरूलाई देशमै रोजगारी दिन र देशमै गुणस्तरीय शिक्षा दिन नयाँ योजना र कार्यक्रम बनाउनुपर्छ । बर्षौँ पुरानो विश्वविद्यालयको कार्यक्रम र कार्य योजनाले विद्यार्थी र शिक्षित युवालाई देशमा टिकाउने अवस्था छैन । तसर्थ यसमा सरकार, सरोकार वाला निकाय र अन्य प्राज्ञिक व्यक्तिहरूले ध्यान दिन आवश्यक छ ।
अरे वाह ! मन छोयो ।