नतिजामूलक काम नगर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइन्छ : उद्योगमन्त्री भण्डारी

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले परिणाम दिनेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै उनले त्यसो गर्न नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनी समेत दिए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार र सरकारी निकायमाथि उठेको प्रश्नको जवाफ दिनेगरी कार्य सम्पादन गर्नुपर्नेतर्फ पनि कर्मचारीहरूलाई सचेत गराए । प्रधानमन्त्री ओलीले ३ महिनाभित्र सम्पादन गरिसक्ने कामको विवरण सबै मन्त्रालयसँग खोजेको उल्लेख गर्दै मन्त्री भण्डारीले आफूहरूले १५ वटा काम सम्पन्न गरिसक्ने बताएकाले त्यसलाई पूरा हुनेगरी काम गर्न विशेष ध्यान दिन पनि मन्त्रालयका कर्मचारीलाई भने ।

उनले परिणाम आउने गरी काम गर्ने कर्मचारीहरूको सेवा, सुविधा वृद्धि गर्न आफू तयार रहेको र त्यसो नभए ती कर्मचारीले जिम्मेवारी छोड्नुपर्ने अवस्था आउने पनि बताए । कर्मचारीको सेवा, सुविधाको जिम्मा मन्त्रालयले लिने तर उनीहरुले दैनिक परिणाम आउने गरी काम गर्नुपर्ने बताए ।

उनले भने ‘अहिलेको व्याप्त निराशा, अन्योलतालाई चिर्नुपर्नेछ । सरकारमाथि, सरकारको निकायमाथि यति धेरै प्रश्नहरू छन । त्यो प्रश्नको सामना हामीले परिणामबाट दिनुपर्नेछ । बिहान आएर हाजिर लगाएर मेरो तलब पाक्यो भन्ने तपाईँहरूले सोच्नुभयो भने त्यसमा पुनर्विचार गरिहाल्नुस् । तपाईँहरूले तीन महिना भित्र परिणाम दिने गरी काम गर्छु भन्नुहुन्छ भने तपाईँहरूले चाहेको सेवा, सुविधा दिन मन्त्रालय तयार छ ।’

मन्त्री भण्डारीले सरकारले मन्त्री, सचिवसहितका सबै उच्च पदस्थ कर्मचारीहरूको दैनिक कामको मूल्याङ्कन गर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *