नेपाल-भारत विदेश सचिव भेट : दुई देश बीचका संयन्त्रहरूको बैठक सुचारु गर्नेबारे छलफल

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले पररराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका छन् ।

विदेशसचिव मिस्रीले सोमवार काठमाडौंको नक्सालस्थित होटल हिल्टनमा परराष्ट्र मन्त्रालयकी सचिव लम्सालसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा दुई देशका बिचमा विगतमा भएका सहमतिहरू तथा भारतीय सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमहरूलाई अझ क्रियाशील बनाउने विषयमा छलफल भएको बताइएको छ । भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल–भारत सम्बन्धको सबै पक्षहरूको बीचमा समीक्षा गर्ने र आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

उनले भारतीय सहयोगमा सञ्चालित परियोजनाहरू र दुई देशका बीचमा भएका विभिन्न संयन्त्रहरूको बैठक सुचारु गर्ने विषयमा पनि कुराकानी भएको बताए ।

उनले भने ‘नेपाल भारत सम्बन्धको सबै पक्षहरूको बीचमा एक प्रकारले भन्ने हो भने रिभ्यु गर्ने र आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने कुराहरू समग्रमा छलफल भएको हो । खासगरी कुनै संरचनागत मेकानिजमको बैठक होइन । भारतीय विदेश सचिव उहाँको परिचयात्मक भ्रमणमा आउनुभएको हो । त्यो विषय भएपनि सबै विषयहरू छलफल भएको छ । भारतीय सहयोगबाट सञ्चालित विभिन्न परियोजनाहरू छ । हामी दुई देशका बिचमा विभिन्न संयन्त्रहरू छ । त्यो संयन्त्रहरूको बैठक सबै सुचारु रुपमा आगामी दिनमा गर्नुपर्छ भन्नेदेखि लिएर अगाडी कसरी जाने भन्ने विषय हो । यो भन्दा अगाडी पनि जब भारतमा नयाँ विदेश सचिवको नियुक्ति हुन्छ । उहाँले छिमेकी मुलुकहरूको भ्रमण गर्नुहुन्छ । त्यही क्रममा उहाँ नेपाल आउनु भएको हो । विगतमा भएका हाम्रा जुन सहमतिहरू छन्, भारतीय सहयोगबाट सञ्चालित विभिन्न कार्यक्रमहरू छन् । द्धिपक्षिय थुप्रै संयन्त्रहरू छ । तिनीहरूलाई कसरी आगामी दिनमा क्रियाशील बनाउने भन्ने विषय नै हो मुख्यतः।’

उनले भारतको विदेश सचिवले नियुक्त भएपछि छिमेकी मुलुकहरूको भ्रमण गर्ने प्रचलन रहेको भन्दै अहिलेको भारतीय विदेश सचिव र नेपालकी परराष्ट्र सचिवबीचको भेटवार्ता परिचयात्मक भेटवार्ता मात्रै भएको बताए । भेटका क्रममा कुनै सहमति वा समझदारीहरू नभएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *